|

बैतडी : भारत तथा तेश्रो मुलुकबाट बैतडीमा १२ हजार ५९५ जना फर्केका छन्। कोरोना भाईरसको महामारी फैलिएसँगै गएको फागुन १० देखि हालसम्म सो संख्यामा नेपालीहरू बैतडी भित्रिएका हुन्।

भारतबाट फर्किएका सबैको परीक्षण गर्ने भनिएको भएपनि हालसम्म जिल्लामा १ हजार ८८१ जनाको मात्रै पिसीआर परीक्षण गरिएको छ। पछिल्लो समयमा भारतबाट फर्केका नागरिकमध्ये आरडीटी पोजेटिभ आएकाहरूको मात्रै स्वाब संकलन गरेर पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

'भिटिएम र आरडिटी किटको अभाव बेलाबेलामा भइरहेको थियो,' उनले भने, 'क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी परीक्षण गरेर पोजेटिभ आएकाहरूको मात्रै स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेका हौं।' 

नेपालका अन्य जिल्लाहरूबाट बैतडीमा १२ हजारको हाराहारीमा भित्रिएका भएपनि उनीहरूको कुनै प्रकारको परीक्षण भएको छैन्। देशका विभिन्न भागबाट फर्केकाहरू सीधै घर पुगेका छन्। भारतबाट फर्केकाहरूमा समेत कुनै लक्षण नदेखिएकाले सबैको परीक्षण नगरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टको भनाई छ।

भारतबाट फर्केका सबै नागरिकको कोरोना परीक्षण नहुँदा गाउँघरमा कोरोना जोखिम बढ्दै गएको भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन्। नेपालमा संक्रमितहरू समेत लक्षण बिनाका भएकाले भारतबाट फर्केका नागरिकहरूको पीसीआर परीक्षण नहुँदा कोरोनाको जोखिम बढ्दै गएको दोगडाकेदार ३ श्रीकोटका करवीर नाथले बताए। उनले भने, 'प्रभावित बढी रहेको भारतबाट फर्केका नागरिकको अनिवार्य रुपमा परीक्षण गर्नुपर्छ।'

११ हजारको आरडिटी गरियो 

भारत तथा तेस्रो मुलकबाट जिल्लामा भित्रिएका ११ हजार बढीको भने आरडिटी गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार ११ हजार ६२३ जनाको भने आरडीटी परीक्षण गरिएको हो।

उनीहरू मध्ये १ हजार ९२ जनाको मात्रै पोजेटिभ रिपोर्ट आएको छ। जिल्लामा अहिले सम्म २९७ जनामा कोरोना पुष्टी भएको छ। कोरोना पुष्टि भएका धेरैजसो घर फर्किसकेका छन्।

संक्रमितहरुमा कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार १४ दिनपछि संक्रमितहरूलाई घर पठाइएको हो।

२ सय ६९ जना संक्रमित डिस्चार्ज 

बैतडीमा २९७ जना कोरोना संक्रमित मध्ये २६९ जना घर फर्किसकेका छन्। पछिल्लो समयमा रिपोट पोजेटिभ आएका अधिकांश नागरिक घरमै रहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। १४ दिन क्वारेन्टाइनमा बसेर कुनै पनि लक्षण नभएकाहरू घर फर्केका हुन्। जिल्लाका संक्रमितहरुमा कोरोना लक्षण भने नदेखिएको जोशीको भनाई छ। 

अहिले २९७ जना मध्ये २८ जनामात्रै विभिन्न स्थानीय तहका क्वारेन्टाइन र आइसोलेसनमा बसिरहेका छन्। नेपाल सरकारले जारी गरेको निर्देशिकाअनुसार नै लक्षण नभएका संक्रमितहरूलाई घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन्। यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७, सुर्नया गाउँपालिकाका १४, पाटन नगरपालिकाका १४, पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ। 

क्वारेन्टाइनमा बसिरहेका सबैको पीसीआर गरिने

भारत तथा तेस्रो मुलुकबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सुदूरपश्चिमका सबै नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गरिने भएको छ। प्रदेशका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरूको पीसीआर परीक्षण गरिने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार भारत तथा तेस्रो मुलकबाट आई यहाँका क्वारेन्टाइनमा बसेका सम्पूर्णको पीसीआर परीक्षणका लागि स्वाब नमूना पठाउन प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ। क्वारेन्टाइनमा बसिरहेका तथा अवधी पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन भनिएको निर्देशक डाक्टर अवस्थीले जानकारी दिए।

प्रदेशका क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरूको संख्या दिन-प्रतिदिन घट्दै गइरहेको भन्दै नेपाल सरकारको कोरोना परीक्षण गाइडलाइन अनुसार नमुना पठाउन अनुरोध गरिएको हो।
स्वास्थ्य निर्देशनालयले संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएको ५ देखि १० दिनभित्र पीसीआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमूना पठाउन भनेको हो।

हाल सुदूरपश्चिमका ९ वटै जिल्लाका क्वारेन्टाइनमा गरि पाँच हजार ५८९ जना बसिरहेका छन्। यसअघि यहाँ क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडिटी गर्ने र पोजेटिभ आएपछि मात्रै पीसीआर गर्ने गरिएको थियो। 

सुदूरपश्चिममा अहिले सम्म ३ हजार ९ सय जनामा कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.