सरकार मूल विषयबाट बहकिएको ठहर

|

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको पछिल्लो अभिव्यक्तिपछि सरकार मूल विषयबाट बाहिरिएको ठहर गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मूल विषयबाट ध्यान मोड्नलाई यस्ता हास्यास्पद कुरा गरेको बताउँछन्। 

‘प्रधानमन्त्रीले अहिले बोलेको विषयमा के टिप्पणी गर्नु? यतिबेला हाम्रो ध्यान कोरोना महामारी नियन्त्रण कसरी गर्ने, नेपाली सीमाबाट भारतीय सेना कसरी हटाउने र नेपाली भूमि फिर्ता कसरी गर्ने, बाढी पहिरोको जोखिमबाट जनतालाई जोगाउने भन्नेमा छ। सरकारको ध्यान पनि यसमै हुनुपर्छ भन्‍ने कांग्रेसको भनाइ हो,’ उनले थाहा खबरसँग भने। 

प्रवक्ता शर्माले कोरोना, बाढी पहिरोबाट प्रताडित जनतालाई सरकारले अभिभावकको भूमिका देखाउन नसकेको आरोप पनि लगाए।

‘कोरोनाबाट, बाढी पहिरोबाट प्रताडित मानिसलाई सरकारले अभिभावक भूमिका देखाउन सकेन। सरकार जुन काममा देखिनु पर्ने हो। बोलीमा हैन कर्ममा देखिनु पर्छ सरकार,’ उनले भने, ‘सरकारले अहिले ल्याइरहेको नयाँ नयाँ विषय बहस छलफल चिन्तन मनन वादविवाद आदि इत्यादि दोस्रो कुरा हो। अहिले सरकारले ध्यान दिनुपर्ने कुरा त बाढी पहिरो, कोरोना, ‍औषधोपचार, आइसोलेशन, क्‍वारेन्टाइन व्यवस्थापनमा पो हो।’  

सरकार नेपाल नेपालीको जीवन रक्षा गर्ने कुराबाट भागेको उनको भनाई छ। ‘सरकारको ध्यान कहाँ कहाँ अरु अरु विषयमा छ। सरकारको ध्यान नेपाल र नेपालीको जीवन रक्षा गर्ने कुरामा हुनुपर्नेमा त्यो भइरहेको छैन,’ शर्माले भने, ‘संसदमा नक्सा पास, भित्तामा टाँस कुरा सकियो? प्रधानमन्त्रीले नक्सा पास गर्ने र भित्तामा टाँस्ने बाहेक अरु के कुरा गर्नुभयो त? त्यो बारेमा कुरै छैन। उहाँ अरु अरु विषयहरु यसरी सिर्जना गर्दै हुनुहुन्छ जस्ले ध्यान अर्को तिर तानिदिन्छ।’ 

शर्माले प्रधानमन्त्री ओलीले मूल विषयलाई पन्छाउन र मानिसहरुको ध्यान मोड्न विभिन्‍न हल्ला चलाउने गरेको पनि बताए। ‘मुल विषयबाट ध्यान मोड्न उहाँ यस्तो फण्डा र कुरा गरिराख्नु हुन्छ,’ उनले भने। कांग्रेसले अहिलेको मुल विषय कालापानी र कोरोना भएको बताउँदै आएको उनको भनाई छ। 

‘अहिलेको मुल विषय भनेको कोरोना र कालापानी हो। अहिले मूल विषय भनेको कोरोनाबाट नेपाल र नेपालीको रक्षा हो र अर्काे  नेपालको भूभाग जुन हो भूभागको फिर्ता, बासीको जीवनको रक्षा हो,’ उनले भने, ‘भूभागको फिर्ता भनेको नक्सामा जे छ त्यो भूमि फिर्ता गर्नको लागि कुटनीतिक पहल गर्नु पर्छ । भूभागसहितको जीवन रक्षा भनेको कोरोनाबाट जोगाउने।’ प्रधानमन्त्रीको कार्यशैली टिप्पणी गर्दै शर्माले भने, ‘मुल काम भन्दा उहाँ बरालिनुहुन्छ जहिल्यै।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.