|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले अतिक्रमित भूमि फिर्ताको मुद्दा विषयान्तर भएको बताएका छन्।

उनले प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीका अवसरमा भगवान राम र उनको जन्मथलोबारे दिएको अभिव्यक्तिले देशलाई गम्भीर असर पुर्‍याउने बताएका छन्।

'यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम कालापानी क्षेत्रबाट फौज हटाउनु पर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि, राम र अयोध्याबारे बहस गर्नुपर्ने? विषयान्तर किन?', उनले प्रश्‍न गरेका छन्। 

रावलले देशलाई गम्भीर असर पर्ने विषयमा पार्टीमा कुरै नभएको पनि बताएका छन्। 'देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?', उनले थप सोधेका छन्। 

प्रधानमन्त्रीले सोमबार दिएको अभिव्यक्तिलाई लिएर नेपाल-भारत दुवैतिर पक्ष विवक्षमा बहस भइरहेको छ। प्रधानमन्त्रीले भानु जयन्तीको कार्यक्रमका क्रममा बालुवाटारमा रामको जन्म नेपालमै भएको र अयोध्या पनि नेपालमै रहेको टिप्पणी गरेका थिए। उनले भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गर्दै आएको दाबी गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.