नेपालले भौगोलिकपछि सांस्कृतिक अतिक्रमण गरेको जिकिर

|

काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपालमा रहेको भनेपछि भारतमा आक्रोश बढेको छ। प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीका अवसरमा भारतले नेपालमा सांस्कृतिक अतिक्रमण गरेको भन्दै भगवान रामको जन्म पनि नेपालकै पर्साको ठोरी भन्दा पश्‍चिममा भएको बताएका थिए। 

त्यसलाई लिएर भारतीय सत्तारुढ दलका नेताहरु आक्रोशित भएका छन्। मंगलबार भाजपाका सांसद तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले भगवान् राम बारेमा नेपालका प्रधानमन्त्री ओलीको अभिव्यक्ति हास्यास्पद भएको बताएका हुन्। 

'भगवान राम भारतीय होइनन्, नेपाली हुन् भनेका छन् ओलीजीले। यसले त नेपालले भारतमा अतिक्रमण बढाएको देखियो। नेपालले भौगोलिक अतिक्रमणपछि सांस्कृतिक अतिक्रमण गर्‍यो', उनले भनेका छन्, 'ओलीजी चीनको एक 'दास'कारुपमा प्रस्तुत भएका छन्। हिन्दुस्तानको विरुद्धमा उनी घृणा पैदा गर्न लागेका छन्। यस्तो भएपछि नेपाली जनता भारतविरुद्ध उभिन्छन् भन्‍ने उनको भ्रम छ।'

उनले भगवान् रामबारे ओलीको भनाइ आएपछि आफूलाई दया लागेर आएको बताए। 'मलाई ओलीविरुद्ध रिस भन्दा पनि दया लागेको छ। थाइल्याण्डमा पनि अयोध्या छ त्यो पनि नेपालकै हो भन्‍न बेर छैन। त्यहाँको अयोध्या पनि हाम्रो हो भनेर ओलीले जिकिर गर्न सक्छन्', उनले भने, 'विश्वभरकाले भारतमै रहेकोलाई अयोध्या मानेका छन्। रामायणमा पनि भारतीय भूमिलाई नै अयोध्या मानेको छ। यसमा विवाद गर्नुको कुनै अर्थ छैन।'

उनले तुलसी दासले लेखको ग्रन्थमा पनि नेपालको कुनै चर्चा नरहेकाले रामको जन्मभूमिबारे विवाद झिकेर नेपाललाई नै घाटा हुने जिकिर गरे। 'भागवत गीतमा भनिएको छ बुद्धि नास भएपछि मानिस क्रोधले पागल हुन्छ। ओलीलाई त्यस्तै भएको छ', आक्रोशित हुँदै उनले भने, 'गान्धारीको आँखामा पट्टी बाँधे जस्तै ओलीको आँखामा पनि पट्टी छ। तर ओलीले सत्ताको नसामा विवेक गुमाएका छन्। गान्धारीको आँखामा पट्टी बाँधे पनि उनले कहिल्यै उल्टोपुल्टो गरेनन्।'

नेता स्वामीले प्रधानमन्त्री ओलीलाई दुर्योधन र चीनलाई सकुनीसँग जोडेर चर्चा गरेका छन्। उनले नेपाललाई रावणलाई जस्तै देखाइदिने पनि धम्की दिएका छन्। 'नेपाललाई हिन्दुस्तान के हो भनेर रामायणमा रावणलाई जस्तै देखाइने हो', उनले भने, 'ओलीलाई पनि नचेताइ हुँदैन। उनीहरुलाई त कुनै अधिकार नै छैन रामको नाम लिन पनि। भारतलाई छाडेर चीनको साथमा लागेपछि उनीहरुलाई रामको नाम लिने अधिकार छैन।' 

उनले नेपाललाई छोटे भाइ भन्‍न नहुने बताउँदै एउटा नातेदारको संज्ञा दिए। 'नेपाल हाम्रो नातेदार हो यसमा छोटा भाइ बडे भाइको कुरा नै आउँदैन। ओली भारतसँग सम्बन्ध तोड्न नै लागेका छन्। ओली भारतलाई जति गाली गर्छन् त्यति नै चीनको साथ मिल्छ', उनले भने, 'नेपाललाई पनि हामी हिन्दुस्तान केहो भनेर देखाउँछौँ। रामायणमा रामले जसरी रावणलाई देखाइदिए। त्यति नगरी हुँदैन।'

स्वामीले चीनले नेपाललाई गुलाम बनाएको दाबी गरे। 'चीनले नेपाललाई गुलाम बनाउन चाहेको छ त्यसमा सफल भएको छ। चीनलाई के बोल्छन् के गर्छन् मतलव छैन', उनले अन्त्यमा भने, 'हामीलाई मौका मिलेमा मित्रता पनि देखाउँछौँ। उनलाई (ओली) इतिहासको टोकरीमा फालिदिन पनि सक्छौं।'

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.