|

पाल्पा : स्याङ्जामा पहिरोले पुरिएर बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित खहरेका ६० वर्षीय गिमानसिंह राना र ४६ वर्षीय टीका थापाको शव फेला परेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले बताए। उनीहरूको शव बेलुकी साढे ५ बजे फेला परेको हो।

यससँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ। एक जना अझै बेपत्ता छन्। बेपत्ता प्रेमचन्द्र पाण्डेको खोजी कार्य जारी रहेको उनले बताए। यसअघि सोही ठाउँका करिब ७० वर्षीय इमानसिंह रानाको मृत्यु भएको थियो। पहिरोमा पुरिएका उनको उद्धार गरेलगत्तै मृत्यु भएको थियो।

सोही ठाउँका होमनाथ पाण्डे र बुद्ध रानाको घाइते अवस्थामा उद्वार गरिएको थियो। गम्भीर घाइते उनीहरूलाई बिर्घा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएको उनले बताए।  

होमनाथ वडा नम्बर ४ का वडासदस्य हुन् भने मृतक इमानसिंह पूर्वगाविस अध्यक्ष हुन्। अविरल वर्षासँगै झरेको पहिरोले खानेपानीको धारा घरमा नआएपछि उनीहरू मंगलबार बिहान सिवल्दीमा रहेको पानीको मुल हेर्न गएका थिए। 

सोही क्रममा पहिरोले बिहान करिब ८ बजे उनीहरूलाई पुरेको थियो। पानी परिहेकोले उद्धार कार्यमा कठिनाइ भएको थियो। मौसम सामान्य बनेपछि उद्धार कार्यमा केही सहज भएको छ। जेसिबीको सहायताले बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक कँडेलले बताए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी  र स्थानीय उद्धारमा जुटेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.