|

झापा (भद्रपुर) : सम्बन्धित निकायले लापरबाही गर्दा झापाको भद्रपुर नाकाबाट क्वारेन्टाइन चेकजाँच र चालकको स्वास्थ्यपरीक्षण नै नगरी भारतबाट नेपालतर्फ धमाधम सामान बोकेका गाडी पठाइन थालिएको छ।

स्वास्थ्य चेकजाँचसहित भारतबाट आउने सवारीसाधनलाई स्यानिटाइज गर्ने उपकरण जडान नगर्दा यस नाकाबाट कोरोना भाइरसको संक्रमण फैलिने र भित्रिने जोखिम बढेको छ।

सीमा नाकाबाट आवतजावतमा रोक लगाएका सरकारले भन्सार आयात-निर्यात खुलाएसँगै भद्रपुर भन्सार कार्यालयमा दिनहुँ भारतीय नम्बर प्लेटको गाडीमा सरसामान धमाधम भित्रिरहेको छ। तर, भारतको संक्रमित क्षेत्रबाट आउने सवारीसाधन र सरसामानलाई स्यानिटाइज र चालकसहित गाडीमा आउने मजदुरको पनि स्वास्थ्य परीक्षण नगर्नेजस्ता लापरबाही भद्रपुर नाकामा देखिएको छ।

नेपालतर्फका प्रहरी, प्रशासन र भन्सार कर्मचारीले समेत भारतकै भर परेका छन्। भारतको पश्चिम बङ्गालस्थित सिलगुडी र विहारबाट अहिले सरसामान आइरहेको छ। ती दुवै राज्यमा कोरोना संक्रमण समुदायमा फैलिसकेको छ। त्यहीबाट सरसामान लोड भएर आउने गरेको व्यापारीहरू स्वयम् बताउँछन्। 

भारतको विहारस्थित गलगलिया नाकामा त्यहाँका स्वास्थ्यकर्मीले चेक जाँच गरेकै आधारमा सीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सवारीसाधन सरासर नेपाल प्रवेश गर्न दिइरहेका छन्। स्थानीयले महामारीका बेला सुरक्षा निकायले गरेको बेवास्ताले नेपालमा संक्रमण थप फैलनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले बजेट नै छुट्याइएको छ।  तर, सीमा नाकामा प्रहरीलाई खटाउनु बाहेक अरू कुनै स्वास्थ्य सुरक्षाको उपाय सम्बन्धित निकायले अपनाएको छैन। व्यापारी तथा कारोबारीले भारतबाट सरसामान भित्र्याएर कारोबार गर्न पाइरहेका छन् भने भन्सार कर्मचारी राजश्व उठाउने काममा मात्र व्यस्त देखिन्छन्‌।

भद्रपुर भन्सार कार्यालयका प्रमुख फणीन्द्र खतिवडाले भारतबाट सरसामान भन्सारमा आइरहेको बताए। सीमा नाकामा भन्सार कार्यालयले सरसामानसहित आउने गाडीको स्यानिटाइज नगरेको बताउँदै भन्सार प्रमुख खतिवडाले भने, ‘भारतको गलगलियामै स्यानिटाइज गरेकै भरमा सरसामानसहित गाडी आइरहेको छ।’ भन्सार गेटमा हात धुने साबुन पानी राख्नेबाहेक अन्य कुनै सजगता नअपनाएको उनले बताए।

वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीका अनुसार सीमा नाकामा पहिला भद्रपुर नगरपालिकाले स्वास्थ्यकर्मीको टोली खटिएका थिए। तर अहिले कुनै स्वास्थ्यकर्मी खटिएका छैनन्। भारतबाट आउने गाडी सोजै भन्सारमा पठाउने गरेको र सामान अन लोड गरी तुरुन्त फिर्ता पठाउने गरेको उनले बताए।

सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले भद्रपुर नाकामा खटाएका सशस्त्र प्रहरी निरीक्षक विभु दाहालले भने, ‘म भर्खरै यहाँ आएको हुँ, म आउँदादेखि नै सामानसहित गाडीहरू भन्सार आइरहेको छ। गाडी, सामान र चालकको नेपालतर्फ कुनै स्वास्थ्य चेक जाँच भएको छैन।’ 

सामाजिक दुरी कायम नगरी सामान जाँचबुझ

भद्रपुर भन्सार कार्यालयबाट सबैभन्दा धेरै लत्ताकपडा भित्रिने गर्छ। झापामा यो भन्सारबाहेक अन्य नाकाबाट लत्ताकपडा भित्रिएको रेकर्ड छैन। त्यसपछि मात्र अरू आवश्यक सरसामान आउने गरेको छ। ठुलो सङ्ख्यामा भित्रिने लत्ताकपडाको पोकाहरू भन्सार कर्मचारीले जाँचबुझ गर्दा कर्मचारी र कारोबारी कसैले सामाजिक दुरी कायम गर्ने गरेका छैनन्‌। उनीहरूले मास्क समेत लगाएका हुँदैनन्‌। एउटै ठाउँमा सामानको पोका छरपस्ट पार्ने र भीडभाड गरेर कर्मचारीहरूले सरसामान हतारमा जाँचबुझ गर्दै आइरहेका छन्‌। यसले राजश्व समेत चुहावट भइरहेको स्रोतको दाबी छ।  

काँकडभिट्टाबाट भित्रिएका सवारीसाधन भद्रपुरबाट पठाउन थाल्यो 

काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका सवारीसाधनलाई पश्चिम बङ्गाल सरकारले पुनः त्यही नाकाबाट जान नदिएपछि केही व्यापारीले सेटिङ मिलाएर भद्रपुर नाकाबाट पठाउन थालेका छन्। काँकडभिट्टा नाकाबाट भित्रिएका गाडी यसअघि विराटनगर–जोगबनी नाकाबाट भारत गइरहेका थिए। 

व्यापारीलाई ढुवानी खर्च बढी लाग्ने भएपछि सेटिङ मिलाएर सोमबारदेखि भद्रपुरबाट पठाउन थालेको व्यापारी स्रोतको दाबी छ। एक व्यापारीले भने, ‘एक त सीमा नाकामा कुनै स्वास्थ्य सुरक्षाको उपाय अपनाइएको छैन, त्यसमाथि गाडीहरू पनि भारत पठाउने थाल्यो, यसले कोरोना फैलिने जोखिम झन् बढ्यो।’ 

भद्रपुर–गलगलिया नाकाबाट भित्रिने सरसामानका गाडी भद्रपुर भन्सार कार्यालयसम्ममात्र आउने अनुमति दिने झापाका प्रहरी प्रशासनले काँकडभिट्टाबाट प्रवेश गरेका गाडी किन पठाउन थाल्यो भन्नेबारे कुनै जवाफ दिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.