|

नेपालगन्ज : सरकारी कागज कीर्ते गरी कम मूल्यको जग्गाको बढी मूल्याङ्कन गरी ठगी गरेको अभियोगमा नापी कार्यालयका दुई जना कर्मचारी सहित तीन जना कारागार चलान भएका छन्। जिल्ला अदालत बाँकेले सरकारी कागज कीर्ते, ठगी तथा संगठित अपराध मुद्दामा नापी कार्यालय नेपालगन्जका नायब सुब्बा वंशराम मौर्य, कार्यालय सहायक मन्साराम कुर्मी र नेपालगन्ज उपमहानगरपालिका–२३, इन्द्रपुरका नौसाद अली मनिहारलाई पुर्पक्षको लागि थुनामा पठाएको हो।

जग्गा कारोबारी नौसाद अलीले सडकभित्र पर्ने मनिकापुर गाविस–९ को ९९४ नम्बर कित्ताको एक कठ्ठा जग्गा नापी कार्यालयको सक्कल नक्सामा नै सच्च्याई कोहलपुर–नेपालगन्ज सडकसँग जोडिएको भनी गनापुर गाविस–६ का श्रवणकुमार वर्णवाललाई बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ। राजमार्ग भन्दा टाढा गाउँको ५ लाख मूल्य पर्ने जग्गालाई राजमार्गमा पर्छ भनेर २९ लाख ५० हजारमा बिक्री गरिएको थियो ।

सो जग्गा नौसादले २०७२ भदौ २३ गते हिरा ऐरबाट ५ लाखमा किनेको नापी कार्यालयको अभिलेखमा उल्लेख गरिएको छ। नापी कर्मचारी, गाविस सचिव समेतको मिलोमतोमा काम भएको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन्।

तत्कालिन गाविस सचिव तथा नापीका ४ जना कर्मचारीको मिलोमतोमा नक्सा समेत सच्याई गाउँ विकास समितिबाट बाटो नभएको जग्गालाई बाटोसँग जोडिएको गलत सिफारिस गराइएको अनुसन्धानबाट पाइएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।

नापीका कर्मचारी तथा गाविस सचिव समेतको मिलोमतोमा सरकारी कागज किर्ते, ठगी तथा संगठित अपराध गरेको अनुसन्धानको क्रममा खुल्न आएको उनले बताए। सरकारी कागज कीर्ते, ठगी तथा संगठित अपराधमा संलग्न नापी कार्यालयका तत्कालीन सर्वेक्षक रामकृष्ण जैसी, मनिकापुर गाविसका तत्कालीन सचिव धमेन्द्र श्रीवास्तव तथा नेपालगन्ज–२६ का कौशल अली दर्जी, जावेर अली वेहना, सोनपुर गाविस–९ का सुशीलकुमार प्रजापति र जयसपुर–४ का अस्लम वागवान फरार रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। उनले नेपालगन्जमा भूमाफिया गिरोह नै सक्रिय रहेको पाइएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.