|

पर्सा : गएको साउनदेखि माघसम्म वीरगन्ज नाका भएर साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ। 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा पाँच लाख ४७ हजार ९०५ किलोलिटर इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ। 

गत आर्थिक वर्षको सोही अवधिमा यो नाकाबाट ३० अर्ब ६४ करोड ७३ लाख छ हजार मूल्यको एक लाख २३ हजार ९०३ किलोलिटर इन्धन र २४ हजार ४११ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको थियो। 

गत आर्थिक वर्षको सात महिनाको भन्दा एक अर्ब ९८ कारोड ६५ लाख रुपैयाँ बढीको इन्धन आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिए। गत आर्थिक वर्षको भन्दा चार लाख २३ हजार ९७५ किलोलिटर इन्धन र ७४ हजार ९२८ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको उनले बताए। 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकाबाट भएको इन्धन आयातबाट भन्सार कार्यालयले सात अर्ब ६७ करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ। वीरगन्ज नाका प्रयोग गरी भारतको रक्सौल, बरौनी, मथुरा, हल्दिया लगायतका स्थानबाट नेपालक लागि पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास आयात हुने गरेको छ। 

नेपालको लागि आवश्यक इन्धनको ६० प्रतिशत इन्धन वीरगन्ज नाकाबाटै आयात हुने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।  चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट एक लाख २३ हजार ८६२ किलोलिटर पेट्रोल, ८० हजार ६६२ किलोलिटर एटीएफ (हवाई इन्धन), ६ हजार ३१७ किलोलिटर मट्टितेल र तीन लाख ३६ हजार ७६४ किलोलिटर डिजल आयात भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.