|

दमक : पूर्वी तराईका राजवंशी र ताजपुरिया समुदायको संस्कृति संरक्षण गर्ने उद्देश्यले शनिबार झापामा राजवंशी तथा ताजपुरिया संस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ।

शनिबार सुरु भएर १६ गतेसम्म गौरीगञ्जमा चल्ने महोत्सवको पूर्व समान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले उद्घाटन गरेका हुन्। मन्त्री पण्डितले आफ्नो संस्कतिको संरक्षणमा आफै लाग्नुपर्ने बताए। युवा पुस्ताले आफ्नो संस्कृति भुलेर पश्चिमा संस्कृतिलाई अंगाल्दा आफ्नो संस्कृति ओझेलमा परेको पण्डितले बताए।

महोत्सव संयोजक देवीप्रसाद राजवंशीले राज्यको उपेक्षाका कारण आफ्नो संस्कृति संकटमा परेको भन्दै महोत्वसको आयोजना गर्न लागिएको बताए। उनले भने, ‘हाम्रो वर्गको उत्थानमा सरकारले केही गर्न सकेको छैन, हामीलाई विभेद मात्र गरेको छ।’

राजवंशी र ताजपुरियाको सबै संस्कार संस्कृति मिल्ने भएकाले आफूहरुले मिलेर महोत्सवको आयोजना गरेको उनले बताए। महोत्सवमा राजवंशी र ताजपुरिया समुदायको लोप हुदै गएको जातिय संस्कृति, पहिरन, खानपान, भाषा, रहनसहन लगायतका विषयहरु महोत्सवको मुख्य आकर्षण रहेको छ।

महोत्सवमा ताजपुरिया र राजवंशीका धर्म संस्कृतिसंग सम्बन्धित १४ वटा खानाको स्टल र अन्य स्टल गरी ४४ वटा स्टल रहेको छ। महोत्सवमा राजवंशी र ताजपुरियाको जातीय नाच पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।

यस्तै उनीहरुले प्रयोग गर्दै आएको मौलिक गहनाको समेत प्रर्दशनमा राखिएको छ। महोत्सवको करिब ६० हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ। ताजपुरिया र राजवंशीको पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा करिब २ लाखको संख्यामा जनसंख्या रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.