|

अर्जुन काफ्ले 

पथरी (मोरङ) : वर्षा सुरु भएसँगै स्थानीय तेली खोलामा बाढी बढ्न थाल्छ। तेली खोलामा बाढी बढेपछि उत्तरी मोरङको जाँतेबासीलाई भने खानेपानीको जोहो गर्नमै समय बित्छ।

बर्सेनि तेली खोला र स्थानीय डाँडामा आउने पहिरोले जाँतेबासीले उपभोग गर्दै आएको खानेपानीको पाइप बगाउँदा स्थायी समाधानका लागि पहल गरिदिन यहाँका बासिन्दाले माग गरेका छन्। 

तेली खोलामा आएको बाढीले पाइप बगाउँदा ३ दिनदेखि जाँतेमा खानेपानीको अभाव भएको छ। लेटाङ नगरपालिकाको ८ र ९ नम्वर वडा रहेको जाँतेमा अविरल वर्षासँगै आउने बाढीले खानेपानीको पाइप बगाउने गरेको छ। 

गत वर्ष तेली खोलाले पाइप बगाउँदा १० सम्म यहाँका बासिन्दाले खानेपानीको अभाव झेलेका थिए। जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माका अनुसार प्रत्येक वर्ष यहाँका बासिन्दाले पानीको अभाव झेल्नु पर्छ। भरपर्दो विकल्पका रुपमा नयाँ आयोजना सुरु गर्न सकिएको छैन। 

गत शनिवार राति आएको बाढीले जाँते खानेपानीको पाइप र पाइप व्यवस्थापनका लागि राखिएका सिमेन्टका  १७ वटा पिल्लरसमेत बगाएको छ। खानेपानी ल्याउन प्रयोग गरिएका विभिन्न साइजका करिब १ हजार ७ सय ५० मिटर पाइप समेत बगाएको हो ।

तेली खोला नियन्त्रणका लागी लगाइएको ५३ थान स्परजाली समेत बाढीले बगाएको छ।  खोलामा बाढी नघटेका कारण सो भत्किएको पाइप मर्मत गर्न अझै केही दिन लाग्ने छ। बाढीले पाइप बगाउँदा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

खानेपानीको पाइप बिच्छाएको ठाउँमा खोलाको मूल भङ्गालो नै बगिरहेकोले पाइप मर्मत गर्न केही दिन लाग्ने भए पनि वैकल्पिक व्यवस्था गरेर २,३ दिनमा यहाँका बासिन्दालाई खानेपानी उपलब्ध गराउने अध्यक्ष विश्वकर्मा बताउँछन्। 

बाढीले पाइप बगाउँदा स्थानीय १ हजार ४ सय ५० घरधुरीका उपभोक्ता दैनिक खाने पानी उपभोग गर्न बाट वञ्चित भएका छन्। गत वर्ष तेली खोलामै आएको बाढीले पाइप लगायतका पुर्वाधार बगाउँदा करिव १५ लाख बराबरको क्षति भएको थियो। 

 यहाँका बासिन्दाले खोलामा आउने बाढीकै कारण प्रत्येक असार र साउन महिनामा खानेपानीको अभाव झेल्दै आएका छन्। मोरङको उत्तरी क्षेत्रको पुरानो खानेपानी आयोजना पटक पटक तेली खोलाको बाढीले प्रभावित हुदै आएको छ। 

यस वर्ष पनि वर्षासँगै आएको बाढीले खानेपानीको पाइप बगाउँदा लेटाङस्थित जाँतेमा खानेपानीको अभाव भएको छ। स्थानीयवासीका अनुसार खानेपानी अभाव भएपछि नजिकैको खोलाबाट पानी ल्याएर खानुपर्ने वाध्यता आएको छ।

पानी आपुर्ति वन्द भए संगै यहाँका बासिन्दाले खोलाको पानी खादा रोगको संक्रमण फैलने कि भन्ने त्रास बढेको खानेपानी तथा सरसफाइ समितिका सचिव प्रेम मगरले जनाए।   

जाँते बजारमा रहेको खानेपानीको ५ वटा रिजर्भ ट्यांकीबाट पानी स्थानीयवासीका धारामा पठाइने गरेपनि सो रिजर्भ ट्याङ्कीमा समेत पानी सञ्चित रहेको छैन। दैनिक ६ लाख लिटर पानी जाँतेबासीले उपभोग गर्दै आएका छन्। 

खानेपानीको क्षतिबारे खानेपानी डिभिजन कार्यालय विराटनगरमा जानकारी गराइएको र केही दिनमा पानी सुचारु पहल थालिने अध्यक्ष विकले जानकारी दिए। 

‘बाढी आउन रोकिए अन्य विकल्पबाट पानी संचालन थाल्नेछौँ,’ विकले भने। प्रदेश सांसद उपेन्द्र घिमिरे भने जाँतेको खानेपानीका लागि उपयुक्त विकल्प खोज्नु पर्ने बताउँछन्। घिमिरेले भने, 'भूमिगत जलश्रोत नै जाँते क्षेत्रको खानेपानीको विकल्प हुन्छ। तर महँगो प्रविधिले समस्या भएको छ।'

२०३९ सालमा युनिसेफको सहयोगमा सुरु गरिएको यो खानेपानीलाई २०५२ सालमा एसियाली विकास बैंकले सहयोग गरेको थियो। नेपाल सरकारले लगानी गरेपछि रिजर्भ ट्यांकी बनाएर स्थानीयवासीमा खानेपानी वितरण गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.