|

सल्यान : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सफल वा असफल प्रधानमन्त्री हुने कुरा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको बताएका छन्। निर्धारित समयभित्रै निवार्चन गराएर सफल प्रधानमन्त्री बन्ने कि निर्वाचन नगराएर असफल प्रधानमन्त्री बन्ने प्रचण्डको हातमा रहेको दावी गरेका हुन्।

शनिबार नेकपा एमाले सल्यानको ८ औं जिल्ला अधिवेशनको खलंगामा उद्घाटन गर्दै उपाध्यक्ष ज्ञवालीले निर्वाचन गराउनकै लागि भनेर गठन भएको सरकारले निर्वाचनको रटान लगाएपनि तयारी नगरेको आरोप लगाए। 'प्रचण्डजी तीनै तहका निर्वाचन गराउँछु भनेर सरकारमा आउनुभएको हो तर सरकार गठन भएको सात महिना बितिसक्दा समेत निर्वाचनको एक सिन्को समेत भाँच्नु भएको छैन यदि तपाईले निर्वाचन गराउन सक्नुभएन भने नेपाली जनताले तपाई असफल प्रधानमन्त्रीको रुपमा चिन्नेछन्' उनले भने।

प्रचण्डले निर्वाचन गराउन नसकेपछि शेरबहादुर देउवा प्रधानमन्त्रत्री बन्ने र देउवा पनि असफल प्रधानमन्त्री नै हुने ज्ञवालीको दावी छ। शेरबहादुर देउवा प्रधानमन्त्री भएर निर्वाचन गराउन नसके शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम प्रधानमन्त्री भनेर गलहत्याए जस्तै फेरि पनि  त्यस्तै घटना दोहोरिन सक्ने उनको भनाइ छ।

अहिले संविधान कार्यन्वयनको समय भएको बताउँदै ज्ञवालीले संविधान संशोधनको विषय उठाउनु न्यायोचित नहुने बताए। संसदमा दर्ता भएको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नसक्ने दावी गर्दै नेता ज्ञवालीले त्यसलाई थाती राखेर निर्वाचनमा जानुपर्ने जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.