|

मुगु : अविरल वर्षाका कारण मुगुका अधिकांश सडकहरू हिलाम्ये भएपछि सवारीसाधन र यात्रुहरूलाई आवागमनमा निकै सकस भएको छ। गमगढी-नाग्मा सडक हिलाम्य हुँदा जीप, बस, मालबाहक ट्रक, मोटरसाइकल चालक निकै सास्ती खेप्दै आउजाउ गर्न बाध्य भएका छन्‌। 

गमगढी बजारदेखि ताल्चा विमानस्थलसम्मको ९ किलोमिटर सडक हिलाम्मे भएको छ। जीप हिलोमा फस्दा निकाल्न सास्ती हुने गरेको गाडी चालक प्रमिस महर्जनले बताए। सडक हिलाम्ये भएपछि सुर्खेतदेखि गमगढी पुग्न १२ दिन लाग्ने गरेको उनको भनाई छ। गमगढीदेखि ताल्चासम्मको सडकखण्ड फराकिलो बनाउन सडक डिभिजन कार्यालयले डोजर लगाएर खन्दा झन्‌ हिलाम्मे भएको छ।

जुम्लासिंजा क्षेत्रको सडक खण्डको अवस्था उस्तै छ। गमगढी-नाग्मा सडक संचालनमा आएको सात वर्ष सम्म कालोपत्रे नहुँदा वर्षाको समयमा हिलाम्मे हुने गरेको छ। सुर्खेत-नेपालगञ्जबाट खाद्यन्न र विकास निर्माणका समाग्री बोकेर आएका गाडी हिलोमा फस्ने गरेको र निकाल्नै धौ-धौ हुने गरेको चालकहरू बताउँछन्‌। चालकहरू हिलोमा गाडी फसेपछि तत्काल निकाल्न नसक्दा सडकमै खाना पकाएर खाँदै आउजाउ गर्न बाध्य छन।

सरकारले गमगढी-नाग्मा सडक खण्डको ९४ किलोमिटर लम्बाईमा कालोपत्रे नगर्दा झरीमा हिलाम्य र घाममा धुलाम्मे हुने गरेको जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले बताए। सडक संचालनमा आएको सात वर्षसम्म कालोपत्रे नहुँदा मुगुबासीलाई सास्ती खेप्नु परेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.