|

डडेल्धुरा : सुदूरपश्चिममा एक हजार ६१० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यहाँका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट हालसम्म एक हजार ६० कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा बुधवार साँझ एक हजार ६१० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार बुधवार मात्रै कैलालीका ११ र अछामका तीन गरी १४ जनालाई विभिन्न अस्पताल र क्वारेन्टाइनबाट घर पठाइएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका ३८६, अछामका ३१७, डडेल्धुराका २६७ र बैतडीका २५२ जनालाई डिस्चार्ज गरिएको छ।

यसैगरी, डोटीका १५७, कैलालीका १२९, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन्। 

यस्तै सुदूरपश्चिम प्रदेशका ५१ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई हजार ३०९ जना संक्रमित क्वारेन्टाइन र घरमै छन्। मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १६, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, सेती अस्पताल र डोटी अस्पतालमा दुई/दुई जना गरी ६७ जनाको उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन हजार ९७८ पुगेको छ। प्रदेशमा ८ जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.