|

काठमाडौं : बौद्धमा भेट्नासाथ राकेश गौतमले भने,‘पेट भर्ने मेसिन भने पनि श्रम गर्ने भने पनि यही हात हो। अचानक चल्नै छोड्यो। अब विजोग हुने भयो।’ राकेसको हात पहिला केही भएको थिएन। काम गरेर जसोतसो परिवार चलाएका थिए। खुसी राख्न सकेका थिए। तर, लकडाउनकै बीचमा परिश्रम गर्ने उनको दुई हातमध्ये एक वटा मात्रै हात चल्यो। 

बुधबार उनको डेरा जाँदै गर्दा सुनाए,‘खै के भएको हो यो हात। चल्दै चलेन। परिवार पाल्ने,धान्ने मै थिएँ। मेरो हात चलेन भने कसरी मेरो बच्चाबच्ची पाल्ने होला।? तीनचुलीमा रहेको उनको डेरामा पुग्दा देखिन्थ्यो, साँघुरा कोठा। कुनै कोठाका भित्ता उप्किएका कुनै ठाउँमा रङ्ग खुइलिसकेका। छरपस्ट लुगाफाटाहरु। भुइँमा सुतिरहेकी थिइन् उनकी एक छोरी। बिरामी भएकाले उनी छटपटाइरहेकी थिइन्। ‘उनलाई जन्डिस भएको छ रे,’राकेसले भने,‘रोगले छटपटाइरहेकी छिन्। खै हामी के गर्न सक्छौँ र? कसरी उपचार गर्ने?।’ 

उनको हात नचलिरहेका बेला उनीमाथि झनै समस्या थपिएको छ। ‘समाजसेवी अजय अधिकारी 'सुशिल' सर लगायतको आर्थिक सहयोगले नर्भिक अस्पतालमा उपचार गरे पनि अझै मेरो हात ठिक हुन सकेको छैन,’उनले थपे,‘यता फेरी मेरो छोरी पनि बिरामी छिन्। समस्यामाथि समस्यै थपियो।’अस्पतालले कमजोरीका कारण नशासम्बन्धी समस्या आएकाले हात नचलेको जानकारी दिएको उनले सुनाए। 

राकेश तीनचुलीमा रहेको गलैँचा कारखानामा पहिला काम गरेका थिए। तर, गलैँचा कारखाना बन्द भयो। त्यसपछि अरू ठाउँमा काम खोजेर गरेका थिए। तर, लकडाउनले सबै काम बन्द भयो। अहिले उनी कामविहीन छन्। जसले गर्दा ७ जना परिवारलाई पाल्न उनलाई सकस छ। उनका सबै छोराछोरी समता स्कुलमा पढ्छन। छिट्टै हात ठिक नभएमा कसरी परिवार पाल्ने भन्ने अहिले उनलाई ठूलो चिन्ता छ।

‘हात ठिक भएन भने कसरी परिवार पाल्नु पर्ने हो भनेर चिन्तामा छु,’ निन्याउरो अनुहार पार्दै उनले भने,‘कसैले आर्थिक सहयोग गरी मेरो हात र मेरी छोरी ठिक भएमा आफूलाई भाग्यमानी ठान्ने थिए। सक्नुहुनेले मलाई सहयोग गर्नुहुन अनुरोध पनि गर्दछु।’उनका साहुले कोठा नि:शुल्क उपलब्ध गराएपछि केही भए पनि उनलाई सन्तोष मिलेको उनी बताउँछन्। उनले भने,‘कोठा भाडा तिर्नुपर्छ भन्ने समस्या छैन। मात्रै परिवारलाई के ख्वाउने भन्ने चिन्ता छ। लकडाउनले काम पनि पाइँदैन। काम पाए पनि हातले गर्न मिल्दैन।’ 


३० वर्षदेखि नागरिकताविहीन

राकेस नेपालमा बस्दै आएको ३० वर्ष भइसक्यो। काठमाडौंमा बस्दाबस्दै उनी ४० वर्ष कटिसकेका छन्। तर, अहिलेसम्म नागरिकता बनाएका छैनन् उनले। ‘हामी दुई बुढाबुढीले नै अहिलेसम्म नागरिकता बनाएका छैनौँ,’उनले सुनाए,‘पहिला नागरिकताको आवश्यकता परेको थिएन। समस्या हुँदैन होला भनेर नागरिकता बनाइएन। अहिले पछुतो भयो।’ उनी भारतीय नागरिक भए पनि पहिल्यैदेखि नेपालमा बसेकोले नेपाल नै प्यारो लाग्ने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.