|

काठमाडौं : कोभिड–१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ। एयरलाइन्सले पनि कोभिड महामारीपछि हुने व्यावसायिक उडानलाई मध्यनजर गरी आवश्यक तयारी गरेका छन्।

आन्तरिक उडानमा दैनिक करिब ६ हजार यात्रु आवतजावत गर्ने देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सुरक्षित व्यावसायिक उडानको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ।

कम्पनीका तर्फबाट कोभिड महामारीबाट सुरक्षित रहेर हवाई यात्राका लागि सम्पूर्ण तयारी पूरा गरेको बुद्ध एयरले यात्रुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाइदिए सुरक्षित यात्राको सुनिश्चितता हुने अपेक्षा गरेको छ।

बुद्ध एयरकँ एक कर्मचारीले उडान सञ्चालनमा आउँदा अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड कसरी अपनाउने र यात्रुलाई परिपालना गराउने भन्नेबारे आवश्यक तयारी गरिएको बताए।

प्राधिकरणको कार्यविधिका साथै विश्व स्वास्थ्य सङ्गठन र आयोगको मार्गनिर्देशको अलावा जहाज निर्माता कम्पनीको मापदण्डका आधारमा ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्याेर' बनाइएको उनले जानकारी दिए।

यो मापदण्ड विमानका कर्मचारी तथा यात्रुलाई लागू हुनेछ। त्यसैका आधारमा विभिन्न तालिम, पिपिइ, केमिकल, सानातिना उपकरणको जोहो गरिसकिएको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले गत जुन ११ र २५ मा अभ्यास उडान ‘डेमो’ उडान गरेको छ। अहिले पनि कम्पनीले सानो–सानो समूह बनाएर अभ्यास उडान गरिरहेको छ। 'स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हामी सञ्चालनको लागि पूर्ण तयारीको अवस्थामा छौँ, यात्रुहरुले समन्वय र सहकार्य गरिदिएको खण्डमा कोभिड महामारीबाट सुरक्षित हुन्छौँ, त्यसैले कम्पनीको गाइडलाइन्स पालना गरिदिनुहोला' उनले भने।

अबको उडान पहिलाको भन्दा विल्कुलै फरक तारिकाको हुनेछ। हिजो एक घण्टा पहिला एयरपोर्ट पुग्नुपर्ने थियो भने अब डेढ घण्टाअघि नै जानुपर्छ।

यात्रुले सामाजिक दूरीमा बसेर भीडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने हुन्छ। अबको उडानमा यात्रुले ‘एयरपोर्ट अथोरिटी’ ले बनाएको ‘हेल्थ डिक्लिरेसन’ फारम र ‘प्यासेन्जर लोकेटर कार्ड’ भर्नुपर्नेछ। कम्पनीले यात्रुको सुरक्षाका लागि मास्क र फेससिल्डको व्यवस्था गरेको छ।

कोभिड महामारीबाट कसरी जोगिएर सुरक्षित हवाईयात्रा गर्न सकिन्छ भनेर बुद्धले गत असार ११ गते एटिआर–७२ जहाजमा ‘डेमो’ उडान गरेको थियो। यात्रुले सुरुमा टर्मिनल भवन छिर्नासाथ सामाजिक दूरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइन बसी ज्वरो नाप्छन्। त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ।

भित्र टिकट काउण्टरमा पनि सामाजिक दूरीका साथ बोर्डिङ पास दिइन्छ। त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनि त्यसलाई कम्प्युटराइज्ड गर्छन्।

 कोभिड–१९ को महामारीबाट सुरक्षित रहन हवाई यात्रा अवधिभर मास्क र फेससिल्ड लगाउनुपर्नेछ। अति आवश्यक भए मात्र शौचालयको प्रयोग गर्न र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिन अनुरोध गरेको छ।

त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सुरक्षित उडानका लागि गृहकार्य गरिरहेको प्रवक्ता राजकुमार क्षत्रीले बताए। स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा मापदण्ड अपनाएर खोलाउने तयारी गरिरहेको क्षत्रीले जानकारी दिए। उनले भने,' पहिलो चरणमा उडान खुलेपनि आन्तरिक उडान खुल्ने छ। अन्तर्राष्ट्रिय उडान दोस्रो चरणमा खुल्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.