|

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी पङ्क्तिलाई सरकारविरुद्ध प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही थाल्न निर्देशन दिएका छन्।

सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती-महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची-कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेपछि आक्रोशित भएका विप्लवले यस्तो निर्देशन दिएका हुन्। 

सरकारले विभिन्‍न सम्पर्क स्रोतमार्फत पटकपटक भेटघाट र छलफल गर्दै वार्तामा बस्‍न खोजेका बेला धरपकड थालेपछि विप्लवले आक्रोशित हुँदै आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाही चलाउन कार्यकर्तालाई निर्देशन दिएका हुन्।

महासचिव विप्लवले पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै सरकारी चालबाजीको भ्रममा नपर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन्। विप्लव नेतृत्वको नेकपाले कोरोना महामारीबाट जनता आक्रान्त भएकाले सङ्क्रमण अन्त्य नभएसम्म प्रतिरोधात्मक कारबाही स्थगन गरेको थियो।

‘सामाजिक फासिवादी सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न सबै पार्टीपङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ,’ उनले भनेका छन्।

नेकपाका नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले बुधबार कैलालीबाट गिरफ्तार गरेको थियो। बिरामी भेट्न आफन्तकहाँ पुगेको बेला प्रहरीले उनीहरूलाई लखेटीलखेटी गिरफ्तार गरेपछि नेकपा आक्रोशित भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.