|

पर्वत : संक्रामक रोगको उपचार गर्न सङ्घीय सरकारले सातै प्रदेशमा संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन गर्ने गरी ल्याएको योजनाअनुसार गण्डकी प्रदेशमा अस्पताल सञ्चालनमा आएको छ।

कास्कीको पोखरा महानगरपालिका ३० लेखनाथको मोहोरियामा सञ्चालनमा रहेको लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन गरेको हो। 

बिहीबार स्वामित्व हस्तान्तरण कार्यक्रमको आयोजना गरेर ‘संक्रामक तथा सरुवा रोग अस्पताल’ को रूपमा विकास गरी बिहीबारबाटै सञ्चालनमा आएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन मगर, पोखरा महानगरपालिकाका जनप्रतिनिधि, प्रदेशका मुख्य सचिव, मन्त्रालयका सचिव लगायतको उपस्थितिमा भएको स्वामित्व हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले अस्पतालको स्वामित्व ग्रहण गरेका थिए। उनले जनशक्ति, पूर्वाधार विकास र प्राविधिक रूपमा अस्पताललाई सक्षम बनाएर सुविधासम्पन्न बनाउने बताए। 

नेपाल सरकारबाट १५ शैयाको स्वीकृति पाएको अस्पतालसँग ५० शय्या क्षमता छ। प्रदेश सरकारले यसअघि कोरोना डेडिकेटेड अस्पताल बनाउने भनी निर्णय नगरेको भने होइन, तर आवश्यक पूर्वाधार र उपकरण अभावमा त्यो योजना भने सफल बन्न सकेन। पछि निर्णय नै फेरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बागलुङको धवलागिरि अस्पताललाई डेडिकेटेड अस्पताल बनाइएको थियो। 

अस्पतालमा हाल चिकित्सक र कर्मचारीसहित ४२ जना कार्यरत छन्। बहिरङ्ग र अन्तरङ्ग दुवै सेवा दिँदै आएको अस्पतालमा दैनिक ७० जनासम्मले सेवा लिने गरेका छन्।  अस्पतालमा हाल १० लाख मासिक खर्च हुने गरेको छ। सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताललाई थप जग्गा आवश्यक परे वन क्षेत्रबाट लिन सकिने गरी पहिले नै सहमति भइसकेको छ। २०६० सालमा महायज्ञ लगाएर खुलेको अस्पतालमा २०६२ सालदेखि बिरामीको जाँच सुरु भएको थियो।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.