पटक पटक फेल भए तर हिम्मत हारेनन्

|

काठमाडौं : भारतीय खर्बपति मुकेश अम्बानीले भनेका छन्, 'ठूलो बन्‍नका लागि ठूलै सपना देख्नु आवश्यक छ। नेपाली समाजमा पनि सपना ठूलै देख्नु भनिन्छ। सडकमा रात बिताउने हुन् या आलिशन महलमा बस्‍नेले पनि सपना त ठूलै साँचेका हुन्छन् तर कतिको पूरा हुन्छ भने कति त्यही सपना जस्तै हराएर जान्छन्। मानिसलाई स्वप्‍नजीवी प्राणी नै भनिन्छ। देखेको सपना पूरा गर्ने हुटहुटी कसलाई पो हुन्‍न र? सपना देख्नु भनेको आधा काम पूरा हुनु हो पनि भनिन्।

यस्तै एकजना स्वप्‍नजीवीको नाम हो रामकुमार महतो। उनको जीवनको कथा कुनै 'सस्पेन्स' फिल्मको भन्दा कम छैन। मानिस हत्तपत्त नहार्ने प्राणी हो, आफ्नो अठोटलाई पूरा गर्ने यात्रामा हिम्मत हार्ने मान्छे गुमनाम हुन्छ। तर ठूलै सपना देखेर जिन्दगीको यात्रामा निस्किएका केही हिम्मतिला मानिसहरुको पंक्तिमा दरिन्छन् केही दिनअघि लोकसेवा आयोगबाट सहसचिवमा नाम निकालेका रामकुमार महतो। 

बेरोजगारीले गाँजेको नेपालका निम्‍न र मध्यमवर्गीय शिक्षित वर्गका धेरैको साझा सपना सरकारी जागिरे बन्‍नु हुन्छ। फरक के मात्रै हुन्छ भने कोहीले कार्यालय सहयोगीबाट यात्रा थाल्छन् त कोहीले कार्यालय प्रमुख अर्थात् हाकिमबाटै। पढेलेखेका युवाहरुका लागि लोकसेवा आयोग पास गर्नु एउटा ठूलो सपना हो।

यिनै स्वप्‍जीवीमध्ये एक रामकुमारले कुनै बेला सरकारी सेवामा प्रवेशका लागि पियनमा आवेदन दिएका थिए। तर पियनमा पनि उत्तीर्ण हुन नसकेका रामकुमार अहिले निजामती क्षेत्रको 'फर्स्ट क्लास अफिसर' भएका छन्। सुन्दा कथा जस्तो लाग्‍ने यो कुरा हाम्रा लागि साधारण हुन सक्छ। तर पियनको जागिरका लागि आवेदन दिँदा फेल भएका उनै रामकुमारले सहसचिवसम्म आइपुग्दा गरेको संघर्ष यात्रा कहाँ सजिलो थियो र? कुनै फिल्मको कथाभन्दा गहिरो जीवन कथा बोकेर हिँडेका स्वप्‍नजीवी हुन् रामकुमार।

उनी यही जेठ ३० गते नेपाल सरकारको सहसचिव बनेका छन्। सरकारले उनको पदस्थापन गर्न बाँकी नै छ। यद्यपि नयाँ पद र नयाँ जिम्मेवारी बहनका लागि उनी निकै उत्साहित छन्।

शुक्रबार नयाँ बानेश्‍वरस्थित सहकारी विभागमा पुग्दा उनी हतारमा थिए। उनलाई कतै जानु थियो। बधाईका फोन र म्यासेज स्वीकार्दै उनले निजामती सेवामा आफ्नो यात्राको कथा सुनाए। उनको यो  जीवन कथा हरेक संघर्षशील युवाका लागि प्रेरक मार्गचित्र बन्‍न सक्छ।

कथा सुरु हुन्छ २०५४ सालबाट। धनुषाको मिथिला नगरपालिकास्थित किसान बाबुका छोरा उनी भर्खर एसएलसी दिँदै थिए। उनले एसएलसी दिइरहँदा दाजु रामेश्‍वर जीवन महतोले  हुलाकको मुखियामा नाम निकाले।  

दाजुले मुखियामा नाम निकालेको क्षण उनको परिवारको लागि दशैँको उत्सवभन्दा कुनै हिसाबले कम थिएन। एउटा किसानको घरमा हुर्किएको केटोले सरकारको सिन्दुर लगाएको क्षण कम्ता गर्व लाग्दो थिएन। सधैँ माटोसँग मितेरी गाँस्दा गाँस्दै मधेसको चर्को घामले पोलेर कालो अनुहार भएको बुबाको अनुहारमा देखिएको खुशी रामकुमारले त्यो बेला महसुस गरे। 

रामकुमारका लागि त्यसअघि बुवाको अनुहारमा चम्किएको त्यो खुसी दुर्लभ थियो। आफूले अनेक हन्डर खाए पनि आफ्नो सन्तानले पाएको सफलतामा सबैभन्दा धेरै खुशी हुने भनेकै बुबाआमा हुन्। बुबामा त्यो खुशी देखेपछि रामकुमारलाई लाग्यो, 'म पनि अब सरकारी जागिर खान्छु, दाजुकै पदचापलाई पछ्याउँछु।'

तर खान्छु भन्‍नेबित्तिकै खान पाइने आफ्नै बारीको आँप जस्तो थिएन सरकारी जागिर। त्यसका लागि कडा मिहिनेत र अध्ययन आवश्यक थियो। उनले एसएलसी दिनेबितिक्कै लोक सेवाको लागि स्वअध्ययन सुरू गरे।

उनलाई लागेको थियो, लोकसेवा आयोग त्यस्तो क्षेत्र हो, जहाँ नातावाद, कृपावाद र भनसुन आवश्यक पर्दैन। त्यहाँबाट सरकारी सेवामा पुग्‍न त कठोर मिहिनेत आवश्यक पर्छ। यदि भनसुन आवश्यक थियो भने मुखियामा दाजुको नाम निस्किने कुनै सम्भावना थिएन।

तीन पल्टमा सफल

'लोकसेवा आयोग भनेको निष्पक्ष आयोग हो, जहाँ योग्यता र क्षमतालाई मात्रै मूल्यांकन गरिन्छ। लोकसेवा न्यायको संरक्षक हो',  उनी सम्झन्छन्, 'प्रतिस्पर्धाले मात्र उत्कृष्ट व्यक्तिको छनोट हुन्छ भन्‍ने मलाई लागेको थियो। लोक सेवाप्रति श्रद्धा, आस्था र सम्मान अहिले पनि मेरो मनमा उत्तिकै छ।'

तीन वर्षको कडा मिहिनेतपछि सरकारले बल्ल २०५७ सालमा पियन पदको विज्ञापन खुलायो। उनले पियनमा जागिर खान आवेदन दिए। परीक्षा भयो। नतिजा कुरे। तर, अफसोस त्यो नतिजा कहिल्यै आएन। सरकारी जागिर खाने उनको पहिलो खुड्किलोमा ठेस लाग्यो। त्यसपछि सरकारले मुखिया पदको विज्ञापन दियो। उनले  मुखियामा पनि आवेदन दिए।  मिहिनेत गरे पनि नतिजा उनको पक्षमा आएन।

सरकारी जागिर खाने दुई पटकको प्रयासले उनलाई निराश बनायो। चार वर्षको मिहिनेतले रंग ल्याउन सकेन। उनले २०५८ सालमा खरिदारको परीक्षा दिए। त्यसबेला सह-लेखापाल र डिट्ठामा उनको नाम निस्कियो।

भिडियो

दुईवटामा नाम निस्किएपछि पहिलो अन्तर्वार्ता लेखाको दिए। मौखिकमा पास भएपछि महतो परिवारबाट सरकारकी जागिर थाल्ने उनी दोस्रो व्यक्ति भए। २०५९ असोज १६ गते सह-लेखापालबाट सरकारी सेवा थाले।  उनी अहिले पनि त्यो पल सम्झन्छन्, 'मेरो सफलता मेरो बुवाका लागि अमूल्य थियो। मेरा लागि त नहुने कुरै थिएन।'

तेस्रो प्रयासमा उनी सफल भए, उनको मिहिनेत खेर गएन, पियनबाट जागिर खान खोजेका उनले खरिदार पदमा सरकारको सिन्दुर लाउन पाए। धनुषाको मिथिला नगरका उनी निजामती सेवामा जोडिएर पहिलोपटक सल्यान जिल्ला पुगे। त्यसबेलासम्म उनले आइए पनि सकिसकेका थिए।

अनि घर फर्किए

सरकारी सेवा गर्दा गर्दै उनले बीए पनि सके। सरकारी जागिरसँगै पढाइलाई निरन्तरता दिए। खरिदारबाट सेवा थालेका उनलाई अझै माथि जाने हुटहुटी थियो अर्थात उनले सपनाको ठूलो पहाड साँचेर राखेका थिए। त्यही सपनाको ठूलो पहाड चढ्ने क्रममा उनले २०६५ सालमा नायव सुब्बामा नाम निकाले। अब उनको भूमिका फेरियो, सह-लेखापालबाट लेखापालमा नियुक्त भए। सह-लेखापाल भएर सल्यान पुगेका उनी लेखापाल भएर आफ्नै गृहजिल्ला धनुषा फर्किए।

किसानका छोराको जीवनमा मिहिनेतले रंग ल्याउँदै गयो। दाजु सरकारी जागिरे हुँदा बुवाको अनुहारमा देखेको त्यो खुसी उनले भुलेका थिएनन्। जति पद बढ्दै गयो उनका सपना  र इच्छाले पनि सपनाको पहाड झन् झन् चढ्दै गए। नायव सुब्बामा नाम निकालेर लेखापालको जिम्मेवारी सम्हाल्दै गर्दा शाखा अधिकृतको विज्ञापन निस्कियो। शाखा अधिकृतमा पनि जाँच दिए। 

तीन पटक फेल भए

मान्छेको जीवन हो, सधैं राम्रै राम्रो हुन्छ भन्‍ने ग्यारेन्टी हुँदैन। कहिलेकाहीँ मान्छेलाई ठेस लाग्छ, लड्छ। तर लडेर पनि उठ्न सक्नेले मात्रै सफलता पाउँछ। सबैले त्यसरी उठ्ने हिम्मत गर्दैनन्। नायव सुब्बाबाट शाखा अधिकृत बन्‍ने उनको सपना सजिलै पूरा हुने छाँट देखिएन। उनले परीक्षा त दिए तर तीन तीन पटकसम्म लड्न पुगे अर्थात् सपनाको पहाडको एक खुड्किलो चढ्ने उनको प्रयासमा ठेस लाग्यो धेरै पटक।

तर उनले हिम्मत हार्दै हारेनन्। यो दुनियाँ नै जित्‍नेहरुको हो, हार्नेहरू त कहाँ छुट्छन्, कसैले मतलब गर्दैन, कसैले हिसाब राख्दैन। जसले हिम्मत गर्दैन, उसले सफलता पनि पाउँदैन।तीन पटक असफल भएर के भो त, उनले न त हिम्मत हारे न त निराश भएर बसे। तीन पटकको असफलताले लड्दा पनि उनले आफूलाई अब्बल सावित गर्न शाखा अधिकृतमा चौथो परीक्षा दिए। तीन पटकसम्म चोट भोगेका उनले चौथो पटकमा खुसीले आफ्नो झोली भरे। नायव सुब्बा हुँदा लेखातिर बसेका उनी शाखा अधिकृत भएपछि प्रशासनतर्फ लागे।

शाखा अधिकृत भएपछि उनको सपनाको पंख झन् फैलियो। अब उनलाई सपनाको एक खुड्किलो उक्लिनु थियो अर्थात् उपसचिव हुने हुटहुटी पसिसकेको थियो। तर उनी जसरी नायव सुब्बाबाट शाखा अधिकृत भए त्यसैगरी शाखा अधिकृतबाट उपसचिव हुन उनलाई सजिलो थिएन। 

उपसचिवको जाँच दिन पनि उनले निजामती सेवामा ५ वर्ष काम गरेको हुनुपर्ने थियो। त्यहाँ भन्दा माथि सहसचिवमा जान त उनले सात वर्ष पर्खिनुपर्ने भयो। 

यसबीचमा उनले आरक्षण कोटाबाट परीक्षा दिन पनि  ४ वर्ष सेवा अवधि पूरा गरे हुने भएपछि केही सजिलो भयो। अनि उपसचिवका लागि परिक्षा दिए। नायव सुब्बाबाट शाखा अधिकृतको झैँ त्यहाँ पनि उही कथा दोहरियो। तीन पटक फेल भए। उपसचिवमा जान पटक पटक असफल भएपनि सेवा-अवधि  ७ वर्ष पूरा भएकाले सहसचिवमा भिड्न पनि अब ढोका खुलिसकेको थियो। उपसचिवमा तीन पटक फेल भएका उनले सहसचिवमा पनि दरखास्त दिए। उपसचिवमा पटक पटक निराश बनेका उनलाई सहसचिवको जाँचले निराश बनाएन। मिहिनेतको फल पक्कै मीठो हुन्छ, उनले त्यस्तै मीठो फल खान पाए, अर्थात यही जेठ ३० गते सहसचिवमा नाम निकाले।

यसकारण सरकारी जागिरे

उनको समुदायको संरचनाले गर्दा पनि सरकारी जागिरे बन्‍नेतर्फ डोर्‍याएको थियो। महतोका थर विविध छन्। तीमध्ये उनको समुदाय कुहिरी वा कुसवाह समुदायको हो। यो समुदायलाई तराईमा तरकारी खेती गर्ने समुदाय भन्‍ने बुझिन्छ। अहिले पनि तराईमा कुहिरी बारीको अवधारणा छँदैछ।

उनको परिवारको परम्परागत पेशा खेती नै हो। कृषकका बाबुका छोरा उनका काका भने शिक्षक थिए। किसानी जीवन भने जस्तो सजिलो छैन, कठिन मिहिनेतले परिणाम दिने हो।

किसानले आफू भोको रहेर अरुको पेट भरिदिन खेतबारीमा पसिना बगाउँछ। उनका बुवा आफ्ना सन्तान आफैं जस्तै किसान भएको हेर्न चाहँदैन थिए। बुवाको सपना थियो, छोराहरूले सरकारी जागिर खाइदिए आफूले माटोसँग गरिरहेको संघर्षको कथा सकिन्थ्यो। कृषक बुवाले सरकारी जागिर खानुपर्छ भन्‍ने सपना देखाएकै कारण आफूले यो सफलता चुमेको उनी सुनाउँछन्। 

चार विषयमा डिग्री

निजामती कर्मचारी भएपछि उनको जीवनमा अनेक उतारचढाव आइरहे। यो यात्रामा देशका विभिन्‍न क्षेत्रमा पुगेर उनी सक्रिय रहे। उनी देशका विभिन्‍न क्षेत्रको सामाजिक, राजनीतिक, आर्थिक र राजनीतिसँग जोडिए।

हरेक क्षेत्र उनका लागि महत्वपूर्ण लागे। सामान्य अध्ययनले मात्र यसबारे थप जानकारी पाउन सम्भव थिएन। त्यसैले उनले यी विषयलाई  व्यापक अध्ययन गर्ने सोच बनाए। एकातिर निजामती सेवामा माथिल्लो पदमा पुग्ने सपना अर्कोतर्फ अध्ययन ब्यापक बनाउने रहर। यी दुवै कुरामा लय मिलाउँदै  उनले अर्थशास्त्र, समाजशास्त्र राजनीति शास्त्र र जन प्रशासनमा डिग्री सके। 

उनको अध्ययन यतिमै रोकिएन, कर्मचारीले देशको कानुनबारे पनि ज्ञान राख्‍न जरुरी ठाने। अनि एलएलबी  पनि अध्ययन गरे। उनी भन्छन्, 'जिन्दगी सिकाइ हो। म सिकाइको क्रममा छु। यो क्रम जारी रहन्छ।'

शहरभन्दा गाउँ प्यारो 

उनी विभिन्‍न पदमा पटक पटक फेल भएका छन्। किन? स्पष्टीकरण दिँदै भन्छन्, 'मैले शहरी क्षेत्रमा सेवा गर्ने अवसर पाइनँ। ग्रामिण क्षेत्रमा सेवा गर्ने हुँदा अध्ययनको वातावरण भएन। कामको चाप बढी हुने गर्थ्यो, त्यसैले मलाई निराशा पनि हात लागेको थियो।' 

उनी सरकारी सेवाका लागि सल्यान धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही हुँदै दोलखासम्म पुगेका छन्। सहसचिव बनेसँगै अबको यात्रा कहाँ होला? त्यो समयले बताउँछ। कतिपय सरकारी कर्मचारी काजमा बसेर लोकसेवाको तयारी गरिरहेको हामीले देख्दै आएका छौं। तर, उनले त्यो अवसर पनि आजसम्म प्रयोग नगरेको बताउँछन्।

कर्मचारी काम छोडेर आफ्ना लागि पढ्छन् भन्‍ने मान्यतालाई उनले चिरे। सेवा क्षेत्र नछाडी उनले स्व-अध्ययनबाट पियनको परीक्षादेखि सहसचिवसम्मको यात्रा गरेका छन्। 'मैले जति सफलता हात पारेँ, ती सबै फुर्सदको समयमा पढेर सम्भव भएको हो।'

कर्मचारीलाई राजनीतिले दिशानिर्देश गरोस्

कर्मचारी हरेक कामका लागि घुस माग्छन् भन्‍ने चित्र नेपालीको दिमागमै बसेको छ। यो आरोपमा सत्यता भएको स्विकार्छन् उनी। यो रोगलाई  निमिट्यान्‍न गर्नु जरूरी रहेको उनी ठान्छन्। 

कर्मचारीलाई राजनीतिले मार्गनिर्देश गरेर अघि बढाउनुपर्ने मत उनी राख्छन्। यसमा सेवाग्राही चनाखो हुनु जरुरी रहेको उनले बताए। 'अरु मात्रै सुध्रिनुपर्छ भन्‍ने प्रवृत्ति हाम्रोमा छ। यो विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्छ', उनी सुनाउँछन्, 'यसलाई हामीले चिर्नै पर्छ। समाज सुधार्ने हो भने सुरु आफैंबाट गर्न जरुरी भइसकेको छ।'

उनले अहिलेसम्मको संघर्षबाट बुझेको कुरा भनेको पहिले आफैं सुध्रिनुपर्छ। 'आफू सुध्रिएपछि मात्रै अर्को सुध्रिन्छ, अपेक्षा पनि त्यही गर्नुपर्छ। अरुलाई औँला देखाउनुअघि म के हुँ? मैले के गरिरहेको छु भन्‍ने ज्ञान जरुरी छ', उनले भने, 'आफूले आफ्नो धरातल भुल्नु हुँदैन। यो बेला मेरो जिम्मेवारी बढेको छ। मैले सरकारी सेवामार्फत जनताको मन जित्न जरुरी छ।' 

सफलता, सन्तुष्टि र जिन्दगी

उनले ठानेका छन्, सफलता आफ्नो कार्यसम्पादनले निर्धारण गर्छ। आफूले देखेको सपनालाई साकार पार्न धैर्यपूर्वक मिहिनेत चाहिने उनी बताउँछन्। त्यसो हुन सके मात्रै  सफलता मिल्ने उनले बताए।

'सधैंभरी आफूले सोचे जस्तो सफलता नआउला। तर मिहिनेतबाट सिकेको पाठ पनि सफलता नै हो। जे हात पर्छ त्यो नै सन्तुष्टिको आधार हो। यति मात्र होइन  समाज र आफ्ना अभिभावकले दिएका जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नु पनि सफलताको सूचक हो', उनी भन्छन्, 'आज म सहसचिव पदमा नहुदाँ पनि मलाई कुनै पीडा हुँदैन थियो। मैले त खरिदारमै नाम निकालेर मेरो बुवाको इच्छा पूरा गरिदिएको छु।'

उनको बुझाइमा जिन्दगी कर्म हो। 'समयले दिएको चुनौती सामना गर्नु नै मेरा लागि जिन्दगी हो', उनले मुस्कुराउँदै भने। हरेक व्यक्तिका लागि जिन्दगीका परिभाषा फरक हुन्छन्। उनका लागि जिन्दगी भनेको केवल कर्म हो। आफूले अपनाएको बाटो नै जिन्दगी हो। कोही मरेपछि उसको कर्म सकिन्छ। कोही मरेर बाँच्छ। कोही बाँचेर पनि मर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.