|

  • जंग तामाङ-

पाँचथर :  जिल्लाको भारपा–८ मादिबुङका कृष्ण शंकर आँखा टिल्पिलाउँदै हिडेको दुई वर्ष भयो। दुई छोरी १५ वर्षीया एलिसा र १२ वर्षीया एलिजा मुर्छा पर्दै बेहोस हुने अनि १४ वर्षीय छोरा सुनिलको एउटा खुट्टा लुलो भएपछि उपचारका लागि हल गोरु बेचिसके।

गत मंसिरमा पत्नी विष्णु शंकरको दुवै मिर्गौला खराब भएपछि उनलाई झन् ठूलो बज्रपात पर्‍यो। गाउँमा दुई रोपनी पाखोबारी भएका र दैनिकी चलाउन बनिबुतो गर्नुपर्ने उनलाई पत्नीको उपचारमा ६ लाख रुपैयाँ चाहिएको छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मिर्गौला रोग विषेषज्ञले प्रत्यारोपण गर्नुपर्ने भनेका छन्।

मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेपछि कृष्ण सहयोगको याचना गर्दै हिँडिरहेका छन्। ‘मृगौला ससुराले दिने भए’ उनले भने, ‘प्रत्यारोपण गर्न सहयोग चाहिएको छ, आफूसँग भएको जायजेथा पनि सकियो।’

छोराछोरी र ८६ वर्षीया आमासहितको परिवार मजदुरीबाट पाल्दै आएका उनले काम गरो ठाउँबाट पैसा आएपछि तिरौँला भन्दै गाउँका पसलबाट दाल चामल ल्याउने गरेका छन्। एकातिर घरमा खानेकुराको समस्या, अर्कातिर पत्नीको मिर्गौलामा समस्या आएपछि उनी पिरोलिएका छन्।

मिर्गौला रोग पीडित विष्णुले छोराछोरी सानै भएकाले आफूलाई अझै बाँच्ने रहर भएको बताइन्। ‘छोराछोरी हुर्केका छैनन्, हुर्केको भएपनि हुन्थ्यो’ सुँकसुकाउँदै उनले थपिन्, ‘ मरेँ भने छोराछोरीको विजोग हुन्छ।’

अस्पतालले एक हप्तासम्मको औषधी दिएपछि शुक्रबार घर भारपा आएकी उनको तेश्रो पटक वायस्पी गरिएको छ। रिपोर्ट बुझ्न आगामी आइतबार आउन भनेको उनी बताउँछिन्। ‘ ममी! निको भएर आउनु भन्दै फोन गर्छन्। छोराछोरी रुन्छन्’ उनले भनिन्, ‘सहयोगी हातहरु लम्किए बाँच्छु। नभए....।’

अहिलेसम्म विष्णुको उपचारमा करिव ३ लाख रुपैयाँ खर्च भएको श्रीमान् कृष्णले बताए। विदेशमा रहेका आफन्तबाट २ लाख ऋण काढेको र फिदिमस्थित सहयोगी आँखा नामक संस्थाका अध्यक्ष कमल थपलियाले ८ हजार, सुनचाँदी व्यवसायी निरवहादुर धमला विमल तथा भवानी शंकरले ७ हजार रुपैयाँ सहयोग गरेका छन्। यसअघि छोराछोरीको उपचारका लागि जिल्ला बाल कल्याण समितिले ५० हजार रुपैयाँ सहयोग गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.