|

गुल्मी : कोरोना महामारी सुरू भएसँगै क्वारेन्टाइन बनाइएका गुल्मीका २११ वटा विद्यालय खाली भएका छन्‌। सम्भावित संक्रमितको निगरानी र संक्रमण निदानका लागि बनाइएका क्वारेन्टाइनबाट मानिसहरूलाई डिस्जार्ज गरिएपछि विद्यालयहरू खाली हुन थालेका हुन्‌। 

गुल्मीमा ३३० वटा विद्यालयहरूमा क्वारेन्टाइनस्थल बनाइएको छ। अहिले ११९ वटा विद्यालयका क्वारेन्टाइनमा ५०२ जना बसिरहेका छन्‌। स्वास्थ्य कार्यालय गुल्मीका अनुसार अहिले मानिस नबसेपछि २११ वटा क्वारेन्टाइन खाली भएका हुन्‌।

​क्वारेन्टाइन बनाइएका, तर अहिले खाली भएका विद्यालयहरूलाई स्यानिटाइज, मर्मत र सरसफाई गर्न निर्देशन दिइएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समिति बैठकले सम्बन्धित स्थानीय तहहरूलाई यस्तो निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए। 

मनोवैज्ञानिक असर पर्न सक्ने

विद्यालयहरूलाई क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग गरिएका कारण यसपछि अध्ययन गर्ने विद्यार्थीहरूमा मनोवैज्ञानिक असर पर्नसक्ने गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले बताएका छन्‌। सम्भावित स्थिति आउन नदिन गाउँमा सकारात्मक सन्देश लैजानुपर्ने र मिडियाहरूमार्फत आवश्यक जानकारी प्रवाह गर्न आवश्यक रहेको पच्याले बताए।

आइसोलेसन र क्वारेन्टाइनका रुपमा प्रयोग भएका विद्यालयहरूलाई  डिसइन्फेक्सन गरी ७२ घण्टापश्चात सहजै रुपमा प्रयोग गर्न सकिने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले दाबी गरे। 

खाली भएको १० दिनपछि मात्र विद्यालय संचालन गरिने

यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विद्यालय खाली भएको १० दिनपछि मात्र विद्यालय संचालन बताएका छन्‌।

एक हप्तादेखि  १० दिनसम्म अभिभावक र विद्यार्थीहरूलाई कोरोनाबारे प्रशिक्षण दिने र त्यसपछि मात्रै विद्यालयहरूमा नियमित रुपमा पठन पाठन सुचारु गर्ने उनले बताए।

गुल्मीमा ५५३ जना कोरोना संक्रमितमध्ये उपचारपछि ३३७ जना निको भएर घर फर्किएका छन्। १३ जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ। 

जिल्लामा तीन जना संक्रमितले ज्यान गुमाएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.