|

महेन्द्रसिंह धोनी आईपीएल टिम पुणे सुपर जाइन्ट्सको क्याप्टेनबाट बर्खास्त भएका छन्। उनको ठाउँमा अब स्टिभन स्मिथले टोली सम्हाल्ने छन्। स्मिथ अष्ट्रेलियन टोलीका बहालवाला क्याप्टेन हुन्। उनले तीनवटै फर्म्याटमा कंगारु टोलीको नेतृत्व गर्दै आएका छन्।

टिम व्यवस्थापनले धोनीको नेतृत्वप्रति असन्तुष्टि जनाएपछि उनलाई हटाएर स्मिथलाई जिम्मेवारी दिइएको इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ। 'हामीले आगामी सिजनका लागि क्याप्टेनका रुपमा स्टिभ स्मिथलाई चयन गरेका छौँ,' टिमका मालिक सञ्जिभ गोएन्काले भनेका छन्, 'राम्रो टिम हुँदाहुँदै पनि गत सिजन अपेक्षित नतिजा निकाल्न सकिएन। हामी असफल रह्यौँ। हामीले त्यो भन्दा धेरै राम्रो गर्नुपर्ने थियो।'

पुणेको डेब्यू सिजनमा धोनी नेतृत्वको टोलीले १४ मध्ये ५ खेलमात्र जितेको थियो। ९ खेल हारेको पुणे प्रतियोगिताको समाप्तिमा अन्तिमबाट दोस्रो स्थानमा रह्यो। चेन्नाइ सुपरकिंग्स र राजस्थान रोयल्स दुई वर्षका लागि निल्बित भएपछि पुणेसहित गुजरात लायन्सलाई नयाँ टोलीको रुपमा प्रतियोगितामा समावेश गरिएको थियो।

आईपीएलको इतिहासमा धोनीले नेतृत्व गरेको टिम प्ले अफ (शीर्ष चार) मा स्थान बनाउन नसकेको यो पहिलो अवसर थियो। इण्डियन क्रिकेट टिमका सफल कप्तानमध्ये एक धोनीले राष्ट्रिय टोलीका लागि सबै फर्म्याटको कप्तानी छाडिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.