|

नवलपरासी : नारायणी नदीले गण्डक ब्यारेजमा खतराको तह पार गरेको छ।  गण्डक ब्यारेजमा यो बर्षकै उच्च बहाव मापन गरिएको हो ।

पानीको बहाव बढ्दै गएपछि सोमबार साँझदेखि  ब्यारेज पुलका ३६ वटै ढोका खोलिएको छ। २०७४ मा करिव ५ लाख ५० हजार क्युसेक बहाव मापन भएकोमा त्यसयता बुधबार ४ लाख १२ हजार क्यूसेक प्रतिसेकेण्ड बहाव मापन भएको जलमापन केन्द्र बाल्मिकिनगरले जानकारी दिएको छ।

गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक भए पनि ब्यारेज पुरानो हुँदै गएकाले क्षमता ४ लाख क्युसेक आसपास रहेको बताएको छ। नारायणीमा तीन लाख क्युसेक पानीको बहाव खतराको तह मानिन्छ भने चार लाख क्युसेकलाई उच्च खतराको तह मानिन्छ। अहिले पनि नारायणीमा पानीको बहाव निरन्तर बढिरहेको छ।

पानीको बहावले  खतराका तह पार गरेपछि जिल्ला प्रशान कार्यालय पश्चिम नवलपरासीले सतर्क रहन आग्ह गरेको छ। प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले डुबानका कारण तत्काल उद्धार गर्नुपर्ने अवस्था आए उद्धार गर्न सकिने गरी उच्च सतर्कता अपनाएर सम्पूर्ण व्यवस्थापन चुस्त दुरुस्त बनाइएको बताएका छन्।

अविरल वर्षासँगै सुस्ता गाउँपालिका–५ मा पर्ने नारायणीपारिको सुस्ता डुवानमा परेको छ। सुस्तामा अहिले नरसहिको नदीघाटको मन्दिरमा पानी आएको ३ फिट पानी जमेको छ। 

सुस्ताका सबै २६५ घर धुरी जोखिममा परेको सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक उत्तम सिलवालले बताए। अहिले बस्ती डुबानमा परे पनि कुनै क्षति भने नभएको उनले बताए।

नारायणीको पानी नरसहिको नदीघाट मन्दिरसम्म आइपुगेको र त्यहाँ खतराको चिह्न लगाइएको ठाउँसम्म पुग्न अब धेरै समय नलाग्ने सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। सुस्ता गाउँपालिका–४ नरसहि र वडा नम्बर ५ पक्लिहवा उच्च जोखिममा रहेको पाण्डेले बताए।

सामानइ डुबानको अवस्थामा उद्धार गर्न गाउँपालिकाको विपदको टिम तयारी अवस्थामा रहेको जनाउँदै नारायणी नदीको बाढी बस्तीमा पसे त्यसले भयाभय अवस्था सिर्जना गर्ने उनले बताए।

सरावल गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ का अधिकांश क्षेत्र डुवानमा रहेका छन्। झरहिखोला र धनेवा खोलाका कारण त्यस क्षेत्रमा डुबान हुने गरेको छ। सरावल गाउँपालिकामा झण्डै १२ सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ। 

यस क्षेत्रमा बर्सेनि डुबानको समस्या रहेको र पानीको उचित निकासका लागि भारतसँग कूटनैतिक पहल गर्न आवश्यक रहेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए। पाल्हिनन्दन गाउँपालिका– १ को शंकरपुर क्षेत्रमा सयौं बिघा धान खेती डुबानमा परेको छ। त्यहाँ डुबानका कारण १० घर विस्थापित भएको बताइएको छ। प्रतापपुर गाउँपालिकामा पनि विभिन्न क्षेत्रमा डुबान भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.