|

  • मणिलाल विश्वकर्मा-

लहान : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर चाँडै चुनावमा जाने सरकारको मुख्य दायित्व भएको बताएका छन्।

सिरहाको लहान नगरपालिका ६ मा आयोजित महायज्ञको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भोलिको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गराएर चुनावको घोषणा गर्ने निर्णय गर्ने बताए।

‘शान्ति, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाको लागि संविधान कार्यान्वयन जरुरी छ, त्यसका लागि संविधान संशोधन गरेर चुनावमा जानुको विकल्प छैन’ उनले भने।  

शान्ति, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको लडाईं आफूहरुले जित्नुपर्ने औंल्याउँदै प्रधानमन्त्रीले यो लडाईंमा आफूलाई मधेसी जनताको साथ सहयोग चाहिने बताए। उक्त लडाईं निकै पेचिलो हुने उल्लेख गर्दै उनले पेचिलै भएपनि अग्रगामी परिवर्तनका पक्षधरले लडाईं जित्नैपर्ने अन्यथा मुलुक अन्यौलताको भूमरीमा फस्ने बताए।

पछिल्ला दिनहरुमा मधेस छुट्टयाउने, मधेसीलाई विदेशी जस्तो देख्ने अनि एउटा खास वर्ग र समुदायको पक्ष लिने अन्धराष्ट्रवाद देखिएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘यो दुवै राष्ट्रवाद होइन, मधेसी जनता र पहाडी जनता दुवैलाई एक ठाउँमा राखेर मध्यमार्ग रोज्नु नै राष्ट्रवाद हो, मिलेर जाँदा नै सबैको हित हुन्छ।’

प्रधानमन्त्री प्रचण्डले मधेसले नै आफूलाई प्रधानमन्त्री बनाएको उल्लेख गर्दै भने ‘म मधेसीको अधिकारप्रति जहिलेपनि सजग छु, संविधान संशोधन विधेयक पारित गराउने, जनसंख्याको आधारमा मधेसमा स्थानीय तहको संख्या निर्धारण गरी स्थानीय तहको संख्या बृद्धि गरिने छ।’

बिपन्न महिला छात्रावास र बृद्धाश्रम निर्माणका लागि आयोजना गरिएको महायज्ञमा सरकार पनि साथमै रहने प्रधानमन्त्रीले बताए। ‘राजनीतिज्ञ वा धार्मिक पन्थका आविष्कारहरुले राखेको उद्देश्य मानव जातिकै हित र समानताको उन्नति नै मुख्य भएकाले उनीहरुले सबैलाई समानता स्थापित गर्न प्रेरित रहने छ’ उनले भने। महायज्ञको उद्घाटन समारोहमा कानुन मन्त्री अजय शंकर नायक, सांसद् पदमनारायण चौधरी, कांग्रेस नेता तथा सामाजिक चिन्तक प्रदिप गिरि लगायत पनि सहभागी थिए।

महायज्ञ मूल आयोजक समितिका संयोजक पवन मुन्दडाका अनुसार लहान १४ मा बिपन्न महिला छात्रावास र लहान १७ मा बृद्धाश्रम निर्माणका लागि आयोजना गरिएको महायज्ञ फागुन १४ गते समापन हुनेछ। महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले कथावाचन र प्रवचन दिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.