|

काठमाडौं : पत्रकार गजेन्द्र बुढाथोकीले लेखेको ‘समकालीन नेपाली अर्थतन्त्र’ नामक पुस्तक सार्वजनिक भएको छ। अर्थतन्त्रबारे सरल भाषामा लेखिएको पुस्तक पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, अर्थविद् विश्वम्वर प्याकुरेल, आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीले सार्वजनिक गरेका हुन्।

बुढाथोकीले सामान्य मान्छेहरुलाई देशको अर्थतन्त्रबारे बुझाउने पुस्तकको अभाव पूर्ति गर्न ‘समकालीन नेपाली अर्थतन्त्र’ पुस्तक लेखेको बताए। उनले भने, 'अर्थशास्त्र नबुझ्ने मान्छेले नेपाली अर्थतन्त्रबारे सरल रुपमा बुझोस् भनेर यो किताब तयार पारेको हुँ।'

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा नेपाली अर्थतन्त्रका ३ दशक विषयमा अन्तर्क्रिया कार्यक्रम राखिएको थियो। अन्तर्क्रियामा बोल्दै एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले युवाहरुलाई उत्पादनमा लगाउनुपर्ने बताए। उनले भने, 'अधिकतम मानिसलाई उत्पादनमा लगाउनुपर्छ। यसले अर्थतन्त्रको विकासमा सहयोग पुग्छ।' अधिकारीले देशको अर्थतन्त्र बलियो भए सरकारले नागरिकलाई थप सुविधा दिन सक्ने बताए।

त्यस्तै कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले उदारीकरणले नेपालको अर्थतन्त्र बलियो भएको दावी गरेका थिए। महतले नेपाल टेलिकम, नागरिक उड्ययन लगायतबाट राम्रो राजश्व संकलन भएको र सेवा तथा निजी क्षेत्रबाट कर असुली कार्य सन्तोषजनक रहेको बताए।

त्यस्तै महतले संघीयताको कार्यन्वयनसँगै आर्थिक चुनौती आउन लागेको बताए। उनले भने, 'आर्थिक रुपमा संघीयता देशले कसरी धान्ने हो भन्ने प्रश्न आउँदै छन्। अब हाम्रा आर्थिक रुपमा चुनौतीका दिनहरु आउँदैछन्।'

आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीले अहिलेको अर्थतन्त्रले संघीयता धान्छ कि धान्दैन भन्ने विषयमा बहस हुन जरुरी रहेको बताए। त्यस्तै अर्थविद् विश्वम्वर प्याकुरेलले नेपालका अधिकांश जिल्लाको आर्थिक उत्पादन न्यून रहेकोबारे ध्यान दिनुपर्ने बताए। सांग्रिला बुक्सले प्रकाशित गरेको ‘समकालीन नेपाली अर्थतन्त्र’ बुढाथोकीको दोस्रो पुस्तक हो। यसको मूल्य ३५० रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.