|

काठमाडौं :  सरकारले मंगलबार रातिबाट लागू हुनेगरी लकडाउन अन्त्य गरेपछि कोरोना संक्रमण व्यापक फैलिन सक्ने अनुमान गरिएको छ।

 मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले यसबारे जानकारी दिएपछि कोरोना संक्रमण बढ्न सक्ने जोखिम बढेको हो।

कोरोना संक्रमणको समुदायमा व्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपाई गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व रहेको जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताए।

उनले  व्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउने शंका व्यक्त गरेका छन्। 'देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण व्‍यापक फैलिएको तथा नेपालसँग सिमाना जोडिएका विहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ', उनले भने।

स्वास्थ्य मन्त्रालयको तथ्यांकमा बुधबार मात्र देशभरका २८ प्रयोगशालामा  ३ हजार ७ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा  १ सय जना  नयाँ बिरामी थपिएको जनाएको छ।

हाल देशभर कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७७ रहेका छन्। ठूलो मात्रामा कोरोना संक्रमित रहदाँ रहँदै पनि सरकारले लकडाउनको अन्त्य गरिदिएको छ।

लकडाउन अन्त्य भए पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिकस्थल, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, ब्युटी पार्लरस्विमिङ पुललगायत क्षेत्र अर्को निर्णय नभए सम्मलाई बन्द नै रहनेछन्।

 सरकारले सरकारले साउन १५ गतेदेखि होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालय पनि खुला गर्ने निर्णय गरेको छ। जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितले कोरोना संक्रमण कम हुँदै जानु स्वाभाविक रहे पनि कम परीक्षण गरेर संक्रमित घट्यो भन्नु अस्वाभाविक रहेको बताए।

 उनले सरकारले लकडाउन खुलाउनु एक हिसाबले सहि भएपनि तत्कालै कुनै तयारी बिना नै लकडाउन खोलेको प्रति भने आपत्ति रहेको उल्लेख गरे। उनले थाहा खबरसँग भने, 'जनतालाई मानसिक रुपले तयार नपारी लकडाउन खुलाउनु सरकारले गल्ती गरेको हो। पक्रियागत रुपमा व्यवस्थापनका सबै उपायबारे नसोची लकडाउन खोल्नु भने जोखिम निम्त्याउने संकेत हो।'

स्वास्थ्य मन्त्रालयले असार १५ पछि परीक्षण दायरा १० हजार पुर्‍याउन भने पनि मुस्किलले दैनिक ४ हजार मात्र परीक्षण गरिरहेको छ। यसरी सरसर्ती हेर्दा कोरोना संक्रमणको ग्राफ सुस्त देखिए पनि अन्त्य भइसकेको छैन। कम परीक्षण गरेर कम संक्रमित भेट्टिए भनेर जनतालाई आश्वास्त पार्न खोज्नु मूर्खता हो।

परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको व्यवस्थापन गर्नुपर्नेमा विज्ञसँग पर्याप्त छलफल नगरी लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर विद्यमान रहेको डा. पाण्डेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.