|

नेकपामा देखापरेको संकटलाई टार्ने भन्दै स्थायी समिति, सचिवालय र पहिलो र दोस्रो अध्यक्षका बीचका ‘वन टू वन्’बैठकहरूको लुकामारी श्रृङ्खला चलिरहेको छ, अविरल रुपमा। नेकपा र यसले नेतृत्व गरिरहेको सरकारलाई कोरोनाको मतलब छैन। बाढी, पहिरो र डुबानका घटनाले पनि छोएको छैन।

जनताले अत्यास भोगिरहँदा प्रधानमन्त्रीदेखि मन्त्रीहरु सबै-सबै व्यस्त र मस्त छन्। कलहमा सक्रियतापूर्वक भाग लिइरहेका छन्। यसैमा उनीहरुलाई भ्याइनभ्याइ छ, सरकारको काम कसरी भ्याउन्‌!

साइनबोर्ड नेकपाको छ, तर छर्लङ्गै देखिएका दुई गुट प्रतिस्पर्धामा छन्। प्रधानमन्त्रीको सरकारी निवास नेकपाको बैठक भवन र ओलीगुटको मुख्यालयमा रुपान्तरित भएको छ दोस्रा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्को गुटको अफिस आफ्नै’ निवास खुमलटारमा संचालन गरेका छन्।

प्रधानमन्त्री र सत्ताधारी पार्टीका अध्यक्ष पदमा आसिन केपी शर्मा ओली उच्चस्तरका पार्टी कमिटीमा सबैतिर अल्पमतमा छन्। पार्टीको केन्द्रीय समिति, स्थायी समिति, सचिवालय लगभग सबैतिर। तर, बहुमतलाई उनले काबुमा लिएका छन्। अरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट उनको राजीनामा मागेका माग्यै छन्।

ओली खुला रुपमा भनिरहेछन्, ‘म एउटा पदबाट पनि राजीनामा दिन्न। तपाईंहरु जे गर्न सक्नु हुन्छ गर्नुस्।’ अहिलेसम्म उनका पिँडुलोका रौँसम्म पनि कसैले झार्न सकेको छैन। दुईवटै पदलाई ओलीले प्रयोग गरिरहेका छन, त्यो पनि निर्विघ्न रुपमा। पहिले ओलीजीका आलोचक रहँदै आएका नेपालका नागरिक समाजका एकजना नेताले त सामाजिक संजालमा भनि पनि हालेछन्-ओलीजी जत्तिकै क्षमता भएको प्रधानमन्त्री नेपालमा अहिलेसम्म कोही भएकै थिएन। 

कुल संख्याको आधाभन्दा बढी सदस्यले बैठक बोलाउनका लागि हस्ताक्षर गरेर दिएको निवेदनका आधारमा बसेको भनिएको स्थायी समितिको बैठक एक दर्जन पटक सरिसक्यो। सचिवालय बैठक बसेको-बस्यै छ। त्यो भन्दा बढी पहिलो र दोस्रो पार्टी अध्यक्षहरुको ‘वन् टु वन्’ बैठक चलेको चल्यै छ। सालाखाला दिनमा एक पटक। एजेण्डा एउटै छ : केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन लगाउने।

पछि दोस्रो अध्यक्षले त्यसमा संशोधन गरे भन्ने पनि सुनियो। रोजेर एउटा पदबाट राजीनामा दिए पनि पुग्ने कुरा बाहिर आयो। ओलीले अड्डी लिइरहेका छन् 'म एउटा पदबाट पनि राजीनामा दिन्न।' ओली टसको मस भएका छैनन्। राजनीतिको केन्द्रमा रहेको यो घटनामा सबैको ध्यान केन्द्रित भएको छ।

प्रचण्डले गुट बदलेको सनसनी       

यही क्रम चलिरहेकै बेला, घटनाले अनपेक्षित रुप लियो। संचार माध्यममा व्यापकरुपमा आयो : ‘प्रचण्डले गुट बदले, प्रचण्ड ओली तिर लागे।’ 

श्रावण ३ गते पनि दुई अध्यक्षको ‘वन टु वन्’ बैठक बस्यो। त्यसभन्दा अगाडि नै खुमलटारको गुट बैठकले यो विषय अब केन्द्रीय समितिमा लैजाने निर्णय गरेको खवर सार्वजनिक भैसकेको थियो।

वन टु वन बैठक सकिएपछि बसेको सचिवालयको बैठकमा यो समस्या समाधानका लागि ओलीजीले प्रस्तुत गरेको 'अर्लि महाधिवेशन'को प्रस्तावलाई प्रचण्डले खुलेर समर्थन गरे। यो भएपछि ओलीजीले कतैबाट राजीनामा दिनुपरेन। त्यसमा प्रचण्ड गुटका दोस्रो सारथी मानिएका माधव नेपालदेखि झलनाथ खनाल र वामदेव, नारायणकाजी समेतले गम्भीर असहमति जनाए। बैठक कुनै निर्णयमा पुग्न सकेन।

त्यसको केही समय पछि अर्को सनसनीपूर्ण खबर आयो : ओलीकै पछि लागेर प्रचण्ड राष्ट्रपतिलाई भेट्न गए। त्यसपछि प्रचण्ड ओलीको कित्तामा गएको खबर 'भाइरल' भयो। राष्ट्रपतिलाई साक्षी राखेर दुई जना अध्यक्षले लिखित सहमतिमा हस्ताक्षर गर्दैछन् भन्ने समाचार पनि सँगसँगै फैलियो। नेकपाका एकथरीलाई 'राती निद्रा न दिन भोकको' अवस्थामा पुर्‍याएको यो घटनाक्रममा अर्को पक्ष खुसीले गद्‌गद् भएको पनि चर्चा चल्यो। प्रचण्डले आफ्नै पक्षका मानिसहरुलाई नराम्रोसँग झस्काए। उनीहरुले प्रचण्डको विगतको समेत चर्चा गर्न थाले।

यी घटनाक्रमका सन्दर्भमा साउन तीन गते सचिवालयको बैठकमा सहभागी नेताहरुको सञ्चारमाध्यममा अनेक भनाई र धारणा बाहिर आए। नेकपा विवादको पछिल्लो अवस्था बुझ्न विभिन्न नेताका अभिव्यक्तिलाई यहाँ जोड्न आवश्यक हुन्छ।

ओलीको महाधिवेशन प्रस्ताव

'एकता गरेर जाँदा पनि बेला–बेला पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परे। एकता प्रक्रियामा पनि समस्या पैदा भए। त्यो समस्या पैदा हुनुमा मेरा आफ्ना सीमाहरु पनि रहे होलान्। कमजोरी भए होलान्। अब त्यसरी हुदैन। कमजोरीमा आत्मालोचना गरौं। पार्टी र सरकार दुवैलाई प्रभावकारी बनाएर जाऔँ।

स्थायी समिति एजेण्डामा प्रवेश नगरी भड्किएको थियो। अब भड्काउन दिनु हुँदैन। पार्टीभित्र देखा परेको समस्यालाई अब छिटोभन्दा छिटो समाधानका लागि महाधिवेशन गरेर जानु नै उपयुक्त हुन्छ। म प्रस्ताव गर्छु : पार्टीको महाधिवेशन गरेर जाऔँ। केन्द्रीय समिति बैठकबाट चैतमा महाधिवेशन गर्ने कुरा हामीले गरेकै थियौं। अब किन ढिलो गरिरहने ? बरु छिटो गरेर जाऔँ। मंसिरमै महाधिवेशन गरौं। त्यहीँबाट सबै समस्याको समाधान खोजौँ।'

अध्यक्ष प्रचण्डको समर्थन

'पार्टीभित्र समस्या देखिए। यसले कता–कता पार्टी एकताको सुदृढ रक्षा पनि नहुने हो की भन्ने खालका समस्या देखिए। हामीले एकता प्रक्रियालाई पनि जोगाउनु पर्ने कार्यभार छ। पार्टीलाई ट्रयाकमा पनि लैजानु छ। आजको छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अब महाधिवेशन छिटो गरेर जाऔँ। ठीक छ, अब महाधिवेशनबाटै जाऔँ।

यस बीचमा मैले मंसिर ४ को सहमति कार्यान्वयनमा नआएपछि पार्टी एकताका बेलाको जेठ २ को सहमतिको कुरा गरेको थिएँ। आलोपालो प्रधानमन्त्रीकै विषय उठाएको थिएँ। जुन सम्झौताले समस्या ल्यायो, त्यही शुरुको सहमति कार्यान्वयन गरौं भन्ने मेरो कुरा थियो। अब धेर भयो, हामी अल्झेर, विवाद गरेर बस्नु ठीक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवेशन गरौं भन्नुभयो। छिटो महाधिवेशन गरेरै जाऔं।“

झलनाथ खनालले झिके विचारको बिर्को

'पार्टीको स्थायी समिति बैठक बसिरहेको छ। छलफल गरौं। छलफललाई निरन्तरतामा लगेर एउटा निष्कर्ष हामीले दिनै पर्छ। महाधिवेशन गर्नु राम्रो कुरा हो। तर, महाधिवेशन त्यत्तिकै हुने विषय होइन। त्यसका लागि केही निश्चित कार्यभार पूरा गर्नुपर्छ। वैचारिक छलफल आवश्यक छ। वैचारिक राजनीतिक विषयमा छलफल गरेर हामी अब कता जाँदैछौं भन्ने कार्यभार पूरा नगरी महाधिवेशन कसरी गर्नुहुन्छ ? सम्भव कसरी हुन्छ मंसिरमै महाधिवेशन गरेर जान ?

दुई अध्यक्षको पदको लेनदेनलाई मात्र महाधिवेशनको अर्थ दिन र त्यसैका लागि महाधिवेशनमा लैजान खोजेको हो भने पार्टीका अन्य निकाय पनि छन्। केन्द्रीय समितिको बैठक बसेर त्यहीँबाट पनि कतिपय लेनदेन मिलाउन सकिन्छ। तर दुई, तीन महिनाभित्र कसरी महाधिवेशन हुन्छ ? ठीक छ : अब तपाईंहरू (दुई अध्यक्ष) नै त्यसरी आउनु भएको हो भने कार्यतालिकासहित ठोस प्रस्ताव लिखित रूपमा लिएर आउनुहोस्। मौखिक रूपमा भनेर मात्र हुँदैन।'

माधव नेपालले खोले विधिको पोको

'पार्टीभित्र हाम्रो अहिलेको मूल समस्या के हो छलफल गरौं। दुई जना नेताले मात्र चोचोमोचो मिलाउँदैमा पार्टीभित्रका सबै समस्याको समाधान हुँदैन। पार्टीभित्र यो व्यक्तिको समस्या होइन। मूलतः प्रवृत्तिगत समस्या हो। पार्टीभित्र व्यक्तिवाद मुख्य समस्या हो। पार्टी विधि र पद्धतिमा चल्नुपर्छ। मेरो कुरा पहिलेदेखि नै यही हो। मेरो अर्को कुरा केही छैन। मैले मेरो व्यक्तिगत कुरा कहिले उठाएको छैन। मलाई कुनै पदको लोभलालच पनि छैन। विधिबाट पार्टी चलाऔँ मात्र मैले भनेको हो। त्यसमा सबैलाई मान्य हुने गरी लिखित रूपमा तपाईंहरूले प्रस्ताव ल्याउनुहोस्।

यो तपाईंहरूले ल्याएको समयावधिमा कसरी महाधिवेशन सम्भव हुन्छ ? महाधिवेशन वैचारिक राजनीतिक विषय पनि हो। वैचारिक राजनीतिक विषयमा हामी छलफलमै प्रवेश गरेका छैनौं। अब छलफल खुल्ला गरौं। तर दुई नेता मिल्दैमा सबै कुरा मिल्ने, सबै पार्टीभित्रको समस्या समाधान भयो भन्ने कुनै नेतालाई परेको छ भने त्यस्तो हुँदैन। तपाईंहरूले कसरी मिलाउने सोच्नु भएको छ, ठोस रूपमा लिखित लिएर आउनुहोस्। त्यसमा बसेर छलफल वा बहस गरौंला।'

पछि हटेका प्रचण्ड

भोलीपल्ट बिहानैदेखि खुमलटारमा प्रचण्ड गुटका सचिवालय र स्थायी समिति सदस्यहरुको जमघट सुरु भयो। सबैले प्रचण्डलाई र्‍याखर्‍याख्ती पारे होलान् पक्कै! केपी ओली विरुद्धको मोर्चाका मुख्य कमाण्डर नै ढलेको उनीहरुलाई अनुभूति हुनु स्वभाविक थियो। दुई जना अध्यक्षका बीचमा मात्र लामो वार्ता हुनु, ओलीजीले ‘अर्लि महाधिवेशनको’ प्रस्ताव ल्याउने बित्तिकै प्रचण्डले त्यसको पुरै समर्थन गर्नु, बैठक सकिएपछि प्रधानमन्त्रीको पछिपछि राष्ट्रपति कहाँ पुग्नु, यी सबैले ‘प्रचण्ड– नेपाल गुट’का नेताहरुलाई उनी ओली खेमामा फाल हाले छन् भन्ने लाग्नु त स्वभाविक थियो। कित्ता बदलेछन् भन्ने सोच बन्नु त स्वाभाविक थियो। प्रचण्डले आफ्नो गुटका नेताहरुलाई सम्झाउने प्रयास गरे। सकेसम्म आफु अर्को कित्तामा गएको होइन भन्ने प्रष्ट पार्न खोजे।

यहीबीचमा प्रचण्डको भनाईलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'केही सहमति भएको छैन। मलाई कमजोर बनाउने कुरा हो। मैले असहमति जाहेर गरेकै हो। गलत ढंगले बाहिर ल्याइएको हो, एकीकरण प्रक्रिया सकिएको छैन। सदस्यताको टुंगो लाग्न पर्‍यो। विचारको बहस हुनुपर्‍यो। यतिकै भनिदिएको आधारमा महाधिवेशन हुन सक्दैन।' 

यी सबै प्रसंग केलाउँदा यतिखेर सत्तारूढ (नेकपा) मा जुन मित्रताको कुरा चलिरहेको छ : त्यो ‘घिउ बेच्ने र तरबार बेच्ने बीचको मितेरी’ भन्दा के फरक भयो र? त्यहाँभित्र भएका गुटहरु बीचको सम्बन्ध पनि शंकैशंकाको पोखरीमा डुबेको छ। यस्तै हुन्छ कम्युनिष्ट पार्टी ? सरकारी सुविधा, साधन, सत्ताको हैकम इत्यादिका लागि यो नौटंकी कहिलेसम्म चलिरहने होला?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.