|

उदयपुर :  भनिन्छ ‘मिहिनेत गर्ने हो भने असम्भव केही छैन, परिश्रम गर्ने हो भने ढुंगामा पनि सुन फलाउन सकिन्छ।’

युवाहरू भन्नेबितिकै हाम्रा समाजले बुझेको केही काम नगर्ने साथीभाइहरूसँग घुमफिर, रमाइलो गरेर दिन बिताउने पैतृक सम्पत्तिका रमाउने जस्तो देखिन्छ। या त अन्त्यमा केही सीप नलागेपछि विस्तारै देशलाई गाली गर्दै विदेश पलायन हुने जस्तो देखिन्छ।

तर, त्रियुगा नगरपालिका -३ असारीका दुई जना युवाहरूको दैनिकी भने फरक छ। रमेश बुढाथोकी र बिमल कार्कीको दैनिकी बिहान उज्यालो भएदेखि साँझसम्म आफ्नो तरकारी खेतीमा बित्ने गरेको छ। उनीहरूले आफूलाई आत्मनिर्भर बनाउँदै केही अन्य साथीहरूलाई समेत कृषि फर्म रोजगारी दिने उद्देश्य साथ नमुना कृषि फर्म दर्ता गरी व्यावसायिक तरकारी खेतीमा लागेको बताउँछन्।

तरकारी खेती सञ्चालक विमल कार्की भन्छन्, '७ विगाहा खेत भाडामा लिएर तरकारी खेती शुरु गरेलगतै सरकारले लकडाउन गर्‍यो, शुरुमा त हामी निकै आत्तिएका थियौं। कतैबाट पनि हौसला मिलेन। वर्षको १ लाख भाडामा लिएको खेतकै पैसा तिर्न नसकिने पो हो कि जस्तो पनि ल्याग्यो तर रातदिन नभनी काम गर्दा सफल भयौं।'

अहिले हामीले पहिलो चरणको तरकारी बेचिसक्न लाग्दा लगभग ३ (तीन) लाखको हाराहारीमा बेचेको अर्का कृषक रमेश बुढाथोकीले बताए। लकडाउनले गर्दा घरबाहिर  निस्कन कठिन भएका मान्छेहरुले ५ केजीभन्दा माथि अर्डर गरेर हामी दुई जना मिलेर घरघरमा समेत पुर्‍याउने गरेको कृषक बुढाथोकीले बताए।

अहिले उनीहरूको तरकारी खेतीमा सिजनअनुसार मौसमी तथा बेमौसमी टमाटर, काउली, बन्दा, भिन्डी, भान्टा, खुर्सानी, बोडी, काक्रा,विभिन्न प्रकारका सागहरु लगायतकाको तरकारीहरु पाइन्छ।

उनीहरूले अहिले कोही पनि कामदार नराखेको रातदिन आफैँ खटेको र अब चाहि कामदार राख्ने तयारीका रहेको बताउँछन्। ‘घर परिवारलाई चाहिने अर्गानिक तरकारी यहीँ नै उत्पादन गरेर खान पाएको छौं', कार्की भन्छन्, 'आफ्नो पौरखले उब्जाएको तरकारी घर परिवारले मिलेर खाँदा अर्कै आनन्द आउने गरेको छ।’

विदेशमा रगत र पसिना बगाएर २०-३० हजार कमाउन भन्दा स्वदेशमै व्यावसायिक कृषि कर्ममा लागेर आत्मनिर्भर हुन युवाहरूलाई सुझाव दिन्छन्। आफूसँगैका सहयात्री साथीहरू कतिपय पैसा कमाउने बाटो नभेटी वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहँदा उनीहरु भने आफू कृषि व्यवसाय बाट नै प्रशस्त आम्दानी गरेर आफ्नो जीविकापार्जन गर्न सक्छु भन्ने आत्मविश्वास साथ तरकारी खेतीमा लागेको बताउँछन्।

सुरुमा ३ जना मिलेर तरकारी खेती गरेको र पछि एकजना साथीलाई उसको घरपरिवारले कृषि पेसामा काम गर्न नदिएपछि अहिले २ जनाले मात्र गरेको कार्कीले बताए। सुरुमा कृषि पेसा गर्छुभन्दा साथीभाइहरूले जिस्क्याउने गरेको र घरमा पनि बुबा–आमालाई फकाउन निकै गाह्रो परेको उनले सुनाए। स्वदेशमै केही गर्छु, भन्ने इच्छा शक्ति भए पैसा कमाउन विदेश जानु नपर्ने उनीहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.