|

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको माग संबोधन नगरी निर्वाचन घोषणा गरेमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने निर्णय गरेको छ। आइतबार साँझ बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी घोषणा गर्ने निर्वाचनमा भाग नलिने बरु आन्दोलनमा जाने निश्कर्ष निकालेको हो।

'संविधान संशोधन नगरी अगाडि बढे हामी निर्वाचनमा भाग लिँदैनौं। आन्दोलनमै जाने निर्णय भएको छ' फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विना गरिने कुनै पनि निर्वाचनलाई मोर्चाले समर्थन नगर्ने बताए। 'हिजो हाम्रो एजेण्डा जे छ त्यही छ। संविधान संशोधन विना गरिने कुनै पनि निर्वाचनलाई हामी समर्थन गर्न सक्दैनौं' उनले भने।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन नै संघीयताको भावना विपरित रहेको भन्दै उनले स्थानीय तहको चुनाव प्रदेशले गराउनुपर्ने बताए।

मोर्चाले संविधान संशोधन विधेयक अघि बढेपनि स्थानीय चुनावमा भाग ने वा नलिने पक्का छैन। उसले संविधान संशोधन विधेयक अघि बढाएमा चुनावमा जाने कुरामा छलफल गर्न सकिने बताएको छ। 'स्थानीय तह वा निकाय के को निर्वाचन घोषणा गर्ने, कुन संरचनामा निर्वाचन घोषणा गर्ने प्रष्ट छैन' फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने।

बैठकले मोर्चाको तर्फबाट सरकारसँग वार्ता गर्न महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवलाई पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चाका नेताहरुलाई आइतबार नै साँझ छलफलमा बोलाएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.