|

उदयपुर : उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले कर्मचारीबाट व्यापक भ्रष्टाचार भएको भन्दै राजीनामा दिने घोषणा गरेकी छन्।

नगर प्रमुख र कर्मचारीसँगको मतभेदका कारण उपप्रमुख चौधरीले राजीनामा दिने तयारी गरेको बताएकी छन्। नगरपालिकाभित्र भ्रष्टाचार, बेथिति, मनलाग्दी बढेको भन्दै उनले राजीनामा दिने बताएकी हुन्।

'कम्युटर सहायक अपरेटर सन्तोष पौडेलले भ्रष्टाचार गरेका छन्, उनलाई कारबाही गरौं, भन्दा मेयर थापाले सहायक अपरेटर पौडेल नभए नगरपालिका चल्दैन भने' उपप्रमुख चौधरीले बताइन्।

उपमेयर चौधरीले कम्प्युटर सहायक अपरेटर पौडेलले पंखादेखि स्काभेटर खरिदमा भ्रष्टाचार गरेको आरोप लगाइन्। आफूले कार्यपालिकाको बैठकमा भ्रष्टाचारको विषयमा डेढ वर्षदेखि पटकपटक कुरा उठाउँदासमेत मेयरसाप एक शब्द पनि नबोलेको बताइन्।

यस्तो गन्जागोल, हिलोमा बसेर आफू काम गर्न नसक्ने भएकाले जनतासँग माफी मागेको तर राजीनामा दिइनसकेको उनले बताइन्। 'नगरपालिकाभित्र भएको भ्रष्टाचार बन्द हुनुपर्‍यो, सफा हुनुपर्‍यो अनि मात्र आफू यो पदमा बस्न सुहाउँछ' उपमेयर चौधरीले भनिन्।’

भ्रष्टाचारका कुरा आफूले पार्टीमा पनि राखेको उनले सुनाइन्। नगरपालिकाभित्र भएका भ्रष्टचारका प्रमाण आफूसँग भएको उनले दाबी गरेकी छिन्। ‘नगरपालिकामा के–के भयो र भइरहेको छ, प्रमाण मसँग छ।'

यस विषयमा नगरप्रमुख थापालाई सम्पर्क गर्न खोज्दा उनको फोन अफ गरिएको छ। नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.