निकट छिमेकी बिच्किँदै गएपछि अफ्ठेरो

|

एजेन्सी : छिमेकीसँगको सम्बन्ध बिग्रिँदा अफ्ठेरोमा परेको भारतका लागि अर्को निराशाजनक खबर आएको छ। नेपाल र चीनसँग तनावमा अल्झिरहेका बेला बंगलादेश र पाकिस्तानले निकटता बढाएपछि भारतको चिन्ता झन् बढेको हो। 

बितेको केही हप्तामै बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमिन र पाकिस्तानी उच्च आयुक्त इमरान अहमद सिद्दीकीको भेट भएको थियो। यी दुई नेताको भेटको अर्थ खोज्‍न भारत जुटिरहेका बेला बुधबार अर्को खबर आयो। बुधवार दिउँसो पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई फोन गरेर लामो कुराकानी गरेका छन्। 

शेख हसिनाका प्रेस सचिव एहसानुल करीमका अनुसार दुई नेताबीच करिब १५ मिनेट लामो टेलिफोन संवाद भएको छ। दुई देशका नेताबीच  फोनमा भएको वार्तालापको विस्तृत विवरण आइसकेको छैन। 

इमरान खान र शेख हसिनाबीच पहिले पनि फोनमा कुरा हुने गरेको थियो। तर पाकिस्तानी सञ्चारमाध्यममा आएका समाचार अनुसार करिब ५० वर्ष पहिले तत्कालीन पूर्वी पाकिस्तानबाट अलग भएर एक स्वतन्त्र देश बनेको बंगलादेश र पाकिस्तान आफ्नो सम्बन्धनलाई मजबुत बनाउने अभियानमा लागेका हुन्। 

पाकिस्तानी प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस विज्ञप्ति अनुसार वार्तामा इमरान खानले कोभिड-१९ र बाढीबाट बंगलादेशमा निम्तिएको संकटका साथै भारत नियन्त्रित काश्मीरमा जारी जटिल अवस्थाबारे आफ्नो भनाइ राखेका थिए। उनले शेख हसिनालाई पाकिस्तान आउने निम्ता पनि दिएका छन्। 

राजधानी ढाकामा हालै भएको भेट र फोन वार्तालाई भारतको सामरिक र कुटनीतिक क्षेत्रमा धक्का मानिएको छ। केही मानिसले सीमा पारि पनि सम्भावित परिवर्तनको संकेतका रुपमा यसलाई लिएका छन्। 

धार्मिक रंग

पाकिस्तानले बंगलादेशलाई धार्मिक रंग दिएर आफूतिर तान्‍न खोजेको अनुमान भारतको छ। 'दुवै देशको धर्म र संस्कृति एक छ,' बंगलादेशसँग निकटता बनाउन पाकिस्तानले धर्मलाई पनि प्रमुख अस्त्रकारुपमा प्रयोग गर्न सक्ने भारतको आशंका छ।

पाकिस्तानको यस कोशिशलाई बंगलादेशका राजनीतिका जानकार खतरनाक मान्छन्। यसले बंगलादेशमा रहेका कट्टरपन्थी इस्लामी समूहलाई बल मिल्नेछ, जो सदैव भारत विरोधी कित्तामा रहँदै आएका छन्। 

पाकिस्तानी उच्चायुक्तले हालै एक विज्ञप्ति निकाल्दै भनेको छ, 'हामी हाम्रो भाइ बंगलादेशसँग सबै क्षेत्रमा नजिकको सम्बन्ध चाहन्छौं। हाम्रो इतिहास, धर्म र संस्कृति एकै छ।'

सन् १९७१ मा पूर्वी पाकिस्तान (अहिलेको बंगलादेश) तत्कालीन पश्चिमी पाकिस्तानबाट अलग्गिएको थियो। त्यो बेला सांस्कृतिक विभिन्‍नता एक ठूलो कारण थियो। त्यसयता करिब ५० वर्षसम्म दुई देशबीचको सम्बन्ध सुध्रिएन। अब भने सम्बन्ध सुधार अभियान थालिएको छ।

ढाकामा पाकिस्तानका उच्चायुक्त इमरान अहमद सिद्दीकीले पाकिस्तान-बंगलादेश सम्बन्धबारे विज्ञप्ति सार्वजनिक गरेका थिए। उनले बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमिनसँग भएको भेटवार्तामा दुई देशको सम्बन्धबारेमा बोलेका थिए।

इमरान अहमद सिद्दीकी र बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमिनबीच यो भेट यस्तो समयमा जुन समयमा भारत आफ्नो उत्तरी र पूर्वी मोर्चामा चीन र नेपालसँग विवाद गर्न व्यस्त थियो।

१ जुलाईमा भएको यस भेटवार्ताबारेमा बंगलादेशी विदेश मन्त्रालयको तर्फबाट कुनै भनाइ सार्वजनिक गरिएको थिएन। मन्त्रालयसँग बीबीसीले सोध्दा केबल अनौपचारिक भेटवार्ता भनिएको थियो। तर पाकिस्तानी उच्चायुक्तले तुर्की समाचार एजेन्सी अनादोलुलाई भनेका थिए, 'अबको आवश्यकतालाई ध्यानमा राख्दै दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई विस्तार गर्न सहमति जनाएका छौं।'

भारतको तर्फबाट यसबारेमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। यसबारेमा सञ्‍चारमाध्यमले गरेको प्रश्‍नको उत्तर भारतीय विदेश मन्त्रालयले दिएको छैन। यसैबीच भारतले ढाकास्थित आफ्नो दूतावासको उच्च पदमा केही परिवर्तन गर्ने तयारीमा रहेको समाचार बाहिरिएको छ।

भारतीय विदेश मन्त्रालयका पूर्व सचिव तथा ढाकामा भारतका पूर्व उच्चायुक्त पिनाक रञ्‍जन चक्रवर्ती भन्छन्, 'बंगलादेशमा सदैव समस्या देखियो। बंगलादेश पाकिस्तानसँग सहकार्य गर्न तयार थियो तर पाकिस्तान अझै पनि विभाजनको पक्षमा उभिन तयार भएको छैन।

रोहिङ्ग्याबारे सहयोग

ढाकामा पनि केही व्यवसायिक सहकार्यमार्फत पाकिस्तानसँग सम्बन्ध राम्रो बनाउने कोशिश जारी राख्‍ने चर्चा भइरहेको छ। तर पनि यसबारेमा कसैले खुलेर कुरा गर्न चाहँदैनन्। 

पाकिस्तानले म्यानमारबाट आएर बसेका रोहिङ्‍ग्या मुसलमानको फिर्ताका लागि सहयोग गर्न सक्ने विश्‍वास बंगलादेशले लिएको छ। बंगलादेशमा पछिल्ला केही वर्षमा लगभग १० रोहिङ‍्‍ग्या शरणार्थी आएर बसेका छन्। जो यस सानो क्षेत्रफलको देशको जनसंख्याको घनत्वलाई दबाब बढाउने अलावा अन्य कयौँ मुस्किल निम्त्याउन सक्छन्। 

असम, एनआरसीमा तरंग

यसका साथै पाकिस्तान-बंगलादेश निकटताले पूर्वोत्तर भारतमा उग्रवादीहरु बढ्न सक्ने चिन्ता पनि छाएको छ। बंगलादेशमा बसिरहेका रोहिङ्‍ग्या यदि उग्रवादी गतिविधिमा सामेल भए भने त्यसको परिणाम बंगलादेशका लागि के होला? यसतर्फ पनि चिन्ता गर्न थालिएको छ।

बंगलादेशले म्यानमारबाट आएर बसेका रोहिङ्ग्यालाई घर पठाउन नखोजेको होइन, तर पटक पटकको उसको प्रयास विफल हुँदै आएको छ। बंगलादेश राजनीतिलाई नजिकबाट हेरेका बिबिसीका पत्रकार सुबीर भौमिकले अराकान रोहिङ्ग्या सालवेशन आर्मीका केही मुस्लिम मुलुकसँगको निकटता र पाकिस्तानसँग ती देशको राम्रो सम्बन्ध पनि बंगलादेशको नजरमा परेको हुन सक्ने बताए।

ढाका विश्‍वविद्यालयमा अन्तरराष्ट्रिय मामिलाका प्राध्यापक इम्तियाज अहमद भन्छन्, 'बंगलादेश पाकिस्तानको म्यानमारसँगको सम्बन्धलाई लिएर कुनै किसिमको अलमलमा छैन। तर भारतले भारत पूरै रोहिङ्‍ग्या मामिलामा बंगलादेशलाई साथ नदिइ उनीहरुको नरसंहार गर्ने म्यानमारको पक्षमा देखिएकाले यहाँ निराशा छ।'

भारतसँग आक्रोश

हालैका दिनमा बंगलादेशका अर्बौं डलरका परियोजना चीनको पोल्टामा गइरहेका छन्। चीनले बंगलादेशका सामानमा कयौँ किसिमका कर छुट दिएर दुवै देशसँग साझा व्यापार पनि बढाइरहेको छ। बंगलादेश पाकिस्तान र नेपाल जस्तै चीनको बेल्ट एन्ड रोड परियोजनाको सदस्य पनि हो।

बंगलादेशमा पूर्वोत्तर भारतका कयौँ उग्रवादी समूहलाई शरण नदिइ उनीहरुलाई भारतको हवाला गर्न जुन किसिमको छिमेकीको भूमिका खेल्यो तर भारतले भने असहयोग गर्दै साझा नदीको पानी बाँड्ने कुरामा समेत सम्झौता गर्न अस्वीकार गरेकोमा आक्रोश छ।

यता भारतीय पत्रकार सुवीर भौमिक छिमेकी देशहरु भारतको पकडबाट बाहिरिँदै जानु चिन्ताजनक भएको बताउँछन्। 'अब भारतले सोच्‍ने बेला भएको छ। आखिर एकपछि अर्को निकट छिमेकी देश बंगलादेश, नेपाल, श्रीलंका सबै किन अन्य शक्ति नजिक भइरहेका छन्? ती देशसँगको सम्बन्ध सुधार्न के गर्नुपर्छ? अब भारतले सोच्‍ने बेला भइसकेको छ।'

बिबिसीबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.