|
फोटो सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : चुनाव घोषणा गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समर्थन लिने सरकारी प्रयास असफल भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाले संविधान संशोधन विधेयक अगाडि नबढाई चुनाव घोषणा गरे आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारले चुनावको मिति घोषणा गर्न मोर्चाको सहमति नपाएको हो।

सोमबारको मन्त्रिपरिषद बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति लिन मोर्चाका शीर्ष नेतालाई आइतबार साँझ बालुवाटार बोलाएका थिए। बैठकमा प्रधानमन्त्रीले चुनावको लागि समय कम भएकाले घोषणा गर्ने र संविधान संशोधन विधेयक पनि सँगसँगै अघि बढाउने प्रस्ताव गरेका थिए।

'प्रधानमन्त्रीले चुनाव घोषणा गर्न प्रेसर छ, त्यसैले हामी घोषणा गरेर जान्छौं समर्थन गरिदिनुस् भन्नुभयो' मोर्चाका नेता महन्थ ठाकुरले भने 'हामीले संविधान संशोधन विधेयक अघि नबढाएसम्म चुनाव घोषणा गरे मान्य हुँदैन भन्यौं, अब के गर्नुहुन्छ उहाँहरुको हातमा छ।' मधेसी मोर्चाले संविधान संशोधन विधेयक अघि बढाएमा मात्र चुनावको विषयमा छललफल गर्न सकिने बताएका थिए।

प्रधानमन्त्रीले भने संशोधन विधेयक र चुनाव घोषणा सँगसँगै अघि बढाउने भन्दै १/२ दिन अघि पछि हुँदैमा अन्यथा नलिन आग्रह गरेका थिए। प्रधानमन्त्री प्रचण्डले मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने आश्वासन दिँदै चुनाव घोषणालाई समर्थन गर्न आग्रह गरेका थिए। 'पुनर्संरचना आयोगको प्रतिवेदनलाई परिमार्जन गरेर जनसंख्याको आधारमा संख्या थप्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो' बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले भने 'उहाँहरुले ठीक छ गर्दै जानुस् सकारात्मक लागेमा स्वागत गरौंला, नकारात्मक लागे विरोध गरौला।'

सरकारले आउँदो वैशाख वा जेठमा स्थानीय तहको निर्वाचन गर्ने गरी सोमबार नै मिति घोषणा गर्ने तयारी गरेपनि सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले संसदमा विचाराधीन संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रिया अघि बढेपछि मात्र चुनावको विषयमा छलफल गर्न सकिने अडान राख्दै आएको छ। मोर्चाको यही अडानका कारण सरकारले चुनाव घोषणा गर्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.