आफ्नो रहर मार्नु हुँदैन, सफल बनिन्छ
आफ्नो रहर मार्नु हुँदैन, सफल बनिन्छ
काठमाडौं : साठीको दशकमा सुस्ताएको लोक भाका ७० को दशकमा उचाइमा पुगेको छ। कुनै बेला लोक दोहोरी भन्दा नाक खुम्च्याउने पुस्ता अहिले त्यसमै रमाउन थालेको छ। लोक दोहोरीको परिभाषा अब पाखा पखेरामा बज्ने गीतका रुपमा मात्रै सीमित छैन, यो त सहरका महल र कोठा कोठामा पुगिसकेको छ। शहर मानिसको पनि मन जित्न थालेको छ।
हिन्दी गीत मात्र बज्ने शहरका व्यस्त मलमा लोक भाका बज्नु, युवा पुस्ताले लोक भाकाको खोजी गर्नु यसको उपलब्धि हो। हरेक पुस्ताले अहिले लोक भाकालाई अभिन्न अग मान्न थालेका छन्। यसैले त लोक क्षेत्रमा युवाहरूको आकर्षण र आगमन बढ्दै गएको छ।
यो उपलब्धि हासिल गर्न कयौं लोक दोहोरी सर्जकले पसिना बगाएका थिए। बगाएका छन्। बगाउँदै आएका छन्। तिनैमध्ये एकजना हुन् अहिलेका व्यस्त गायक खेम सेन्चुरी।
सम्बत २०६५ बाट नेपाली लोक संगीत क्षेत्रमा लागेका सेन्चुरीले एकपछि अर्को राम्रो गीत बजारमा ल्याएका छन्। अहिलेसम्म ७ सय हाराहारीमा गीत सिर्जना गरिसकेका उनको पछिल्लो समय 'माया आजैलाई' भन्ने गीत चर्चामा छ।
लोकगीतमा उनको आगमन
गुल्मी स्थायी घर भएपनि परिवार बुटवल झर्यो। परिवार आर्थिक उपार्जनका लागि लागेपछि उनी पनि भारत पसे।
उनको बालापन भारतमा बित्यो। सात पढ्दै गर्दा उनी नेपाल आए। मगर समाजमा उनको घर थियो। त्यहाँ हुने सालैजो तथा रोधी साँझले उनलाई लोभ्याउन सुरु गर्यो। ताल र धुनसँग उनलाई छुट्टै मजा आउँथ्यो। मानौं कुनै ध्यानमा मन्त्र सुने जस्तो। आमा, दिदिबहिनी, बाजेहरूले गाउने मौलिकताले उनलाई तान्थ्यो।
आमाले मेलापात गरिरहँदा विरहका भाका गाउँथिन्। त्यसले पनि उनमा गायनको भोक जगायो। उनी पनि गीतहरू गुनगुनाउँथे। स्कुलमा हुने गायन प्रतियोगिता उनी आकर्षित हुन्थे। उनले त्यसबेला रेडियो खुबै सुन्थे। संचारकर्मी स्वर्गीय खेम लुइँटेलले रेडियोमा लोक दोहोरीको कार्यक्रम चलाउँथे। उनी लुइँटेलले चलाउने कार्यक्रममा फोन गरेर गीत गाउँथे।
उनको आवाज सुनेर लुइँटेलले कहिलेकाहीँ स्टुडियो बोलाउँथे। उनलाई दशैँ आए जस्तो भान हुन्थ्यो। लुइँटेल भन्थे रे, 'तिमी गायक बन्न जन्मेका हौं। गायक बन।' उनलाई पनि आफ्नो स्वर पनि राम्रै लाग्थ्यो। तर, उनले पनि गायक बन्ने सपना देखे। उनी भन्छन्, 'रहरले सपना र सपनाले लक्ष्य बनाउँदो रहेछ।'
बुवाको लाहुरे सपना
खेम घरका जेठा छोरा थिए। बुबाको सपना थियो, छोरो भारतीय सेनामा गइदिए हुन्थ्यो। बुवाको सपना र उनको सपनाले मेल खाएन। तर, आमाले भने कहिल्यै छोरामाथि आफ्ना सपना लाद्ने कोशिश गरिनन्। सपनालाई आर्थिक हैसियतले मापन गर्दैन। मान्छेले आफ्नो रहर मार्नु चाहिँ हुँदैन। सामान्य जीवन बाँच्नेले पनि सपना देख्न पाउँछ। उनले गायक बन्ने सपना देखे।
सबै जनाले गायक बन्नुपर्छ भन्ने कुराले उत्साहित बनेका उनले बुवाको सपना छोडेर २०६५ सालमा काठमाडौंको रात्रिबस समाते। उनी सम्झिन्छन्, 'त्यो साँझ म गायक कृष्ण परियारको सहारामा काठमाडौं छिरेको थिएँ।'
दोहोरीमा काम
गायक बन्न काठमाडौं आए पनि कहाँ सजिलो थियो र? उनी जस्तै सपना बोकेका हजारौं काठमाडौंमा भौतारिरहेका थिए। सजिलै गायक बन्न पाउने अवस्था थिएन। काठमाडौंमा उनले आफ्नो सपना फक्राउने उपाय खोज्दै गए। कृष्ण परियार र गायक खुमन अधिकारीसँग उनको सम्बन्ध बढ्दै गयो। अधिकारीसँग चार वर्षसँगै बिताए। उनी भन्छन्, 'त्यसबेला खुमन दाजु नेपाली लोक दोहोरीमा चर्चित भइसक्नु भएको थियो। उहाँसँग बस्न पाउनु नै मेरा लागि ठूलो उपलब्धी थियो।' काठमाडौं आएपछि उनले सुरु मै गीत रेकर्ड गर्न सक्ने अवस्था थिएन।
त्यसपछि उनले दोहोरी साँझमा काम गर्न थाले। पहिलो पटक लुम्बिनी दोहोरी साँझमा काम गरेको सम्झन्छन् उनी। भन्छन्, 'म लाइभ दोहोरी गाउन सक्ने मान्छे त होइन। तर, दैनिकी चलाउन मेरा लागि दोहोरी साँझमा गीत गाउनुको विकल्प थिएन।
पहिलो गीत
मोफसलको सानो गाउँमा बसेर भीरपाखामा गीत गाउँदै हिँड्दा साथीसंगीले गायक बन्न उनीमाथि ऊर्जा भरिदिएका थिए। जब उनी गाउँ छोडेर सहर हिँडे। त्यही बेलादेखि ती साथीहरू गाउँमै छोडिए। दोहोरी साँझहरुमा काम गर्दा पनि उनले गीत रेकर्ड गर्ने अवसर पाएका थिएनन्। कहिलेकाहीँ खुबै पीडा हुन्थ्यो उनलाई ।
'गाउँ–घरमा दुई-चार जनाले स्वर राम्रो छ भनिदिएका थिए । त्यसैको भरमा फुर्किएर लक्ष्यमा पुग्ने नसकिँदो रहेछ', उनले भने, 'लक्ष्य पूरा गर्न संघर्षको पहाड छिचोल्ने काम ज्यादै सकसपूर्ण हुने रहेछ।'
उनले दोहोरी साँझ र स्टुडियोको काम सँगसँगै अगाडि बढाए। पहिलो पटक ६६ तिर 'भन्छु आज साथी मात्र हो' भन्ने गीत आफैंले गाए। जहाँ कमल जिसीको लय र कृष्ण परियारको शब्द थियो। क्यासेटको जमानमा त्यही गीतमा पनि उनको भाग साइट 'बी' पर्यो।
गाउँलेले इख जन्माइदिए
पहिलोपटक आफ्नो गीत गाएर फुर्किएका उनी झोलामा आफूले गाएको क्यासेट बोकेर गाउँ पुगे। उनले आफ्ना टोल भरीकालाई आफ्नो गीत भन्दै बेचे। बेच्ने क्रममा एकजनाले भनिदिएछन्, 'खोइ तेरो स्वर? अरुको गीतलाई आफ्नो भन्दिने?'
उक्त क्यासेटमा उनले साइड 'बी'मा गीत गाएका थिए। अधिकांशले साइड 'ए' को मात्रै गीत सुन्थे। गाउँलेको कुराले उनलाई खिन्न बनायो। अब जसरी पनि गाउँलेको नजरमा पर्ने गरेर गीत गाउँछु भन्दै काठमाडौं फर्के।
आफ्ना गीत आफैं लेख्न सुरु
उनी काठमाडौं फर्केपछि गीतका भाका सिर्जना गर्न थाले। शब्द आफै भर्न थाले। , शब्द लेख्थे। भन्छन्, 'मनमा गाउँलेले भनेको इख थियो। अर्काको गीतलाई आफ्नो भनिदिने?'
६८ सालमा दोहोरी साँझमा काम गर्दा गर्दै उनले 'ए हावा जाऊँ ए बादल जाऊँ' भन्ने गीत बजारमा ल्याए। जसले उनलाई थप सन्तुष्टि प्रदान गर्यो।
त्यसपश्चात 'साथी मेरो प्रिय मित्र' गीतमा संगीत गरे। त्यो गीतको सर्वत्र चर्चा भयो। उनी सम्झन्छन्, 'यो गीत सुनेपछि बल्ल तेरो गीत सुनियो भन्ने जमात बढ्यो।' यो गीतले गर्दा आफूले अब संगीत क्षेत्रमा केही गर्छु भन्ने बल पुगेको उनले बताए। त्यसपश्चात उनले गायन लाई छोडेर संगीतकर्ममा आफूलाई अगाडी बढाउने निर्णय गरे।
अरुको गीतले गायक बनिँदैन
उनले दोहोरी साँझमा गीत गाए। स्टेज कार्यक्रममा उनी गुञ्जिए। तर, आफ्नो होइन अरुको गीतमा। एउटा समय पश्चात् उनलाई आफैं प्रश्न गरे। म अरुको गीत गाएर कहिलेसम्म गायक बन्छु होला? यसको जवाफ उनी आफैसँग थिएन। दुनियाँले गरेको प्रश्नको जवाफ जसोतसो दिए पनि आफूले गरेको प्रश्न आफैंलाई कठिन लाग्न थाल्यो उनलाई।
स्टेज कार्यक्रममा पनि उनले पारिश्रमिक पाउन मुस्किल पर्थ्यो। विचराले रहर गरेछ भन्ने जमात थियो। त्यो कुराले चाहिँ खुबै पीडा हुने गरेको उनी सम्झिन्छन्। आफूले नगाएसम्म सम्मान पाउँदिन भन्ने उनले बुझे। त्यसपछि आफ्नै गीत आफैंले गाउन थालेको उनले बताए। उनी भन्छन्, ' ढिला होस् तर, अरुको गीतको ट्रयाक बोकेर स्टेजमा जादिनँ। आफैँ मिहिनेत गर्छु।'
आफ्नो नाम हेर्न टिभी किने
दोहोरी साँझको पैसाले काठमाडौंमा टिक्न कठिन थियो। विस्तारै गीतहरू पनि सार्वजनिक हुँदै गए। उनले आफैले संगीत गरेको 'तिम्रो झैँ मेरो झैँ मन मायालु' गीतको आम्दानीबाट ५ हजार रुपैयाँमा टेलिभिजन किने।
'टिभी किन्नुको एउटै उद्देश्य के थियो भने एउटा गीतमा लय भरेको थिएँ। त्यो गीत सार्वजनिक हुँदा मेरो नाम आउला भन्ने थियो। अफसोस प्राविधिक गडबडीले उनको नाम त्यहाँ समेटिएन', उनी अहिले पनि त्यो पल सम्झन्छन्।
उनी संगीत क्षेत्रमा आएको १० वर्ष बितेको छ। तर, उनको चर्चाको ग्राफ भने उकालो लागेको भने मुस्किलले तीन वर्ष हुन लागेको छ। उनी भन्छन्, 'पहिले इखले गीत गाएँ। पछि गीत भन्दा पनि संगीत भर्ने र शब्दतर्फ आकर्षित बने। संगीतकार लेखकहरू जहिले पर्दा पछाडि हुने भएकोले यस्तो भएको होला।'
तर, पछिल्लो क्रममा उनी दर्शक माझ खुवै लोकप्रिय बनेका छन्। उनले गाएका गीत चर्चामा छन्। उनी भन्छन्,'थाहा छैन म अहिले कहाँ छु। सफल छु वा छैन तर म आफ्नो लक्ष्यलाई लिएर हिँडेको यसकारण सन्तुष्ट छु।'
हाम्रा गीतमा मौलिक छन् त?
नेपाली सर्जकलाई मौलिकता भुलेको आरोप लाग्दै आएको छ। हिजोका गीतहरू समय सापेक्ष मौलिकपनमा आधारित थिए। अहिलेका गीतहरू बजारू र विकाउ मात्रै भएका हुन्? भन्ने आरोपमा सत्यता रहेको उनी स्विकार्छन्। 'पहिलेका पनि सबै गीत सबै उत्कृष्ट छन् भन्ने पनि होइन। तर, पहिलेका गीतको आफ्नै महत्व छ।
तिनको आधारमा टेकेर नै आज नेपाली संगीतमा हामी छौं। अहिलेको गीतमा पनि मौलिकता छैनन् भन्नु चाहिँ न्यायसंगत हुँदैन भन्ने लाग्छ', उनी थप्छन्,'अहिले गीत निकाल्ने होडबाजी चाहिँ छ। मैले आफ्ना गीतमा भने सकेसम्म लोक गीतको मर्म नबिग्रने गरी गाएको छु भन्ने लाग्छ। अहिले झन् गीतहरू परिष्कृत भएका पनि छन्। कहिँकतै समस्या भने जरूर छ।'
गीत संगीत अझै प्रगतिउन्मुख छ। यसका नीति नियम बन्न बाँकी छन्। सरकारले नै संगीतको व्यवस्थापन गर्न जरुरी छ। विभिन्न कालखण्डमा यसको विकास होला भन्ने अपेक्षा गर्न सकिने आधार रहेको उनी बताउँछन्। 'अझै पनि राम्रा कलाकारहरु बाहिर आएका छैनन्। जति आएका छन् उनीहरूले सक्दो मिहिनेत गर्ने गरेकै छन्', उनी भन्छन्, 'मिहिनेत गर्नेहरूलाई पनि क्षणिक रमाइलो र चर्चाका लागि आउनेहरुको घानमा हाल्नु गलत छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।