|

काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘अल्टिमेटम’ दिएका छन्। वैशाख मसान्तभित्र निर्वाचन गर्न नसके पूर्वसमझदारीअनुसार नेतृत्व छाड्नुपर्ने भन्दै देउवाले सोमबारकै मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दबाब दिएका छन्। 

प्रधानमन्त्री दाहाल निर्वाचन मिति घोषणा गर्ने या नगर्ने भन्ने अन्योलमा रहिरहेका बेला कांग्रेस सभापति देउवाले आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई डाकेर निर्वाचनको मिति र सरकारको नेतृत्वका विषयमा दुई घण्टा छलफल गरेका थिए। देउवाले मन्त्रीहरूलाई वैशाख मसान्तभित्रै निर्वाचन गर्नेगरी मिति घोषणाका लागि सामूहिक दृष्टिकोण सोमबारको मन्त्रिपरिषद् बैठकमा राख्न समेत निर्देशन दिएका छन्। 

त्यसअघि कांग्रेस र माओवादी केन्द्रबीच भएको छलफलमा पनि देउवाले वैशाख मसान्तभित्रै निर्वाचन गर्न दबाब दिएका थिए। प्रधानमन्त्री दाहाल भने बजेटमार्फत आमजनतालाई आकर्षित गर्न सकिने बताउँदै जेठ १५ पछि निर्वाचन धकेल्न चाहन्छन्। 

नयाँ संविधानअनुसार जेठ १५ मा बजेट ल्याउनैपर्ने बाध्यता छ। एमाले नेतृत्वको सरकारले ल्याएको बजेटलाई निस्प्रभावी पार्न नयाँ बजेट ल्याउनु पर्ने तर्क राख्दै दाहालले जेठ १५ पछि निर्वाचन मिति घोषणा गर्न चाहेका हुन्। तर, प्रमुख सत्ता साझेदार कांग्रेस सभापति देउवा त्यसमा तयार छैनन्। 

सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तभित्रै निर्वाचन गर्ने गरि मिति घोषणाको तयारी गरेको कांग्रेसका एक मन्त्रीले बताए। उनका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा स्थानीय तह पुनः संरचना आयोगको प्रतिवेदन बुझ्ने र लगतै अर्को मन्त्रिपरिषद् बैठक बसेर प्रतिवेदनको असन्तुष्टीलाई सम्बोधन गर्न विज्ञ सम्मिलित समिति बनाउने तयारी सरकारको छ। 

तराई–मधेसमा उठेको असन्तुष्टि सम्बोधन गर्न विज्ञ सम्मिलित समितिलाई स्थानीय तहको संख्या केही बढाउन पाउनेगरी कार्यादेश दिनेबारे पनि छलफल भएको छ। मन्त्रीहरूको छलफललगतै देउवा कांग्रेस, माओवादी केन्द्र र मोर्चाबीचको छलफलमा भाग लिन बालुवाटार पुगेका थिए। 

वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न नसके दाहालले पूर्व समझदारी अनुसार सरकारको नेतृत्व छाड्नुपर्ने धारणा समेत देउवाले मन्त्रीहरुसँगको बैठकमा राखेका थिए। निर्वाचन हुन नसकेमा बजेट ल्याएर सरकार छाड्ने संकेत दाहालले कांग्रेस नेताहरुलाई दिँदै आएका छन्। तर, देउवाले भने निर्वाचन गर्न नसके वैशाखमा नयाँ सरकार बन्ने र त्यसैले बजेट ल्याउने बताएका थिए। 

वाणिज्य मन्त्री रोमी गौचनले यस्तो ढंगबाट अघि बढा एमाले, माओवादी केन्द्र र राप्रपाबीचको गठबन्धन त बन्दैन? भन्ने प्रश्न देउवालाई राखेका थिए। ‘माओवादी र एमाले नेताहरुबीच धेरैपटक छलफल भएको मैले पनि सुनेको छु’, गौचनको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘कतै एमाले र माओवादीबीचको नयाँ समीकरण बन्न लागेको त छैन, सभापतिजीले विचार पुर्‍याउनु होला।’ 

‘निर्वाचन हुने अवस्था भएमा वैशाख मसान्तसम्म दाहालकै नेतृत्वमा स्थानीय तहको निर्वाचन गर्ने तर नहुने अवस्था निर्माण भएमा चैत मसान्तभित्रै सरकार छाड्नुपर्ने भनाई सभापतिको थियो’ बैठकमा सहभागि एक मन्त्रीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.