|

बर्दिया : धान रोप्ने बेला डिएपी मलको अभाव खेपेका बर्दियाका किसान अहिले युरिया मल नपाएर मर्कामा परेका छन्। धानमा युरिया मल लगाउने बेला भए पनि अभाव रहेको बरबर्दिया–३ का किसान अनिलकुमार चौधरीले बताए।

झण्डै दुई बिघा क्षेत्रफलमा धान खेती गरेका चौधरीलाई मल अभाव भएपछि धान उत्पादन घट्ने हो कि भन्ने चिन्ता थपिएको छ। बीउ राख्ने र रोपाइँ गर्ने बेलामा डिएपी मलको अभाव रहेको उनले बताए। 

बुधबार बारर्दियाका झण्डै १० जनाभन्दा बढी किसान समूह बनाएर सदरमुकाम गुलरियाको भारतीय सीमावर्ती गाउँ मल लिनका लागि पुगेका थिए। ‘खेतमा मल चाहिएको छ, नभएर पनि भएन, सहकारीहरुले मल छैन भन्दै आएका छन्,’ बारबर्दिया–३ का किसान प्रदिप चौधरीले भने, ‘त्यसैले जसोतसो जोहो गर्नै प¥यो।’ 

मल लिनकै लागि भारतीय सीमावर्ती गाउँ पुग्नेको बाटोभरी लाइन लाग्ने गरेको छ। वर्षाको समयमा उनीहरुले झण्डै ५÷६ घण्टा लगाएर मल लिनका लागि भारतीय सीमावर्ती गाउँ पुग्दै आएका छन्। किसानहरुले जसोतसो जोहो गरेर भारतबाट मल आयात गरेका छन्। तर यस वर्ष भने कोरोना भाइरस संक्रमणको कारण नेपाल भारत सीमा बन्द रहेकाले मल खाद्य आयात गर्न पनि सहज नभएको किसानहरुको गुनासो छ। नेपालमा लकडाउन खुले पनि सीमा क्षेत्रमा पनि कडाइ भएकाले भारतबाट पनि मल आयात गर्न अप्ठ्यारो भएको किासनहरुले बताए। 

ठाकुरबाबा, बारबर्दिया, बासगढि, मधुवन लगायतका आठवटै स्थानीय तहमा अहिले रासायनिक मलको अभाव देखिएको छ। रोपाइँ भएको तीनदेखि चार हप्ताभित्र युरिया मल छर्किएन भने धान उत्पादनमा कमी आउने मधुवन–४ ढोढरीका किसान जान्कु थारुले बताए। 

कृषि सामग्री कम्पनी प्रशाखा गुलरियामा यरिया मल नभएको प्रशाखाका प्रमुख मोहन केसीले बताए। ‘असार मसान्तसम्म बर्दियामा ३१ सय १३ मट्रिक टन युरिया आयात भएको थियो, सबै सकियो,’ उनले भने, ‘अहिले कम्पनीमा मल स्टक छैन। मल कहिले आउने हो त्यो पनि निश्चित छैन।’

बर्दियामा हरेक वर्ष सात देखि आठ हजार मेट्रिक टनसम्म युरिया मल आवश्यक हुने गरेको छ। अनुदान रकमको आधारमा मात्रै मल खरिद गरिने भएकाले हरेक वर्ष मलको अभाव हुने गरेको कृषी सामाग्री कम्पनीले जनाएको छ। यस वर्ष धान रोप्ने सिजनमा झण्डै ३१ सय ३० मेट्रिक टन डिएपी र ९६ मेट्रिक टन पोटास मल खपत भएको थियो। बर्दियामा खेतीयोग्य जमिनको ५० हजार २ २६ हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.