|

धादिङ : बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना सवारी साधन गुडाउन थालिएको छ। 

साउन ५ गते सोमबार अविरल वर्षापछि आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको धादिङतर्फको भाग बगाएपछि त्यहाँबाट चल्ने सवारी आवागमन ठप्प हुन पुगेको थियो । 

देशका ६७ जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने मुख्य सडक खण्डमा पुल बगाएपछि अवरुद्ध बनेको नौबिसे–मुग्लिन सडकखण्डमा शुक्रबार दिउँसोदेखि साना गाडी चल्न थालेका हुन् । 

बाढीले भत्काएको पुलको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सञ्चालनमा ल्याइएको हो। बाढीले बगाएको पुलको मर्मतपछि मोटरसाइकल, साना चारपांग्रे सवारी र एम्बुलेन्स लगायतका सवारी चल्न थालेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

प्रजिअ तामाङका अनुसार मर्मत गरेर पुलकोे केही भाग मोटर गुड्न सक्ने बनाइएकाले साना गाडी चल्न थालेका हुन । मर्मतकोे काममा कुनै अवरोध नआए राति देखि ठूला गाडी पनि चल्ने गरी काम भइरहेको पनि प्रजिअ तामाङले जानकारी दिए । 
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले शुक्रबार बाढीले बगाएपछि मर्मत सुरु गरिएको पुलको अवलोकन गरेका छन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.