|

पर्सा : कोरोनाका कारण एकै दिन दुई जनासम्मको मृत्यु हुन थालेपछि पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा शनिबारबाट अनिश्चित कालका लागि निषेधाज्ञा लगाइएको छ। 

शुक्रबार जिल्ला संकट व्यवस्थापन केन्द्रको पहलमा सर्वदलीय बैठक बसी शनिबार बिहानैबाट निषेधाज्ञा लगाइएको हो। निषेधाज्ञाका कारण सर्वसाधारण आदेश पालना गरेर आर्थिक नगरी वीरगन्जको मेन रोड, नयाँ बसपार्क, घण्टाघर, माईस्थान, आदर्शनगर, मकालु चोक, पशुपति घोष चोक जस्ता चोकमा निस्केका छैनन्। 

यी चोकहरुमा सधैं सर्वसाधारण र व्यापारी व्यवसायीको भिड हुने गर्दथ्यो। साविकमा खासै प्रभावकारी नदेखिने निषेधाज्ञा यो पटक भने पहिलो दिन निकै प्रभावकारी देखिएको छ। 
निषेधाज्ञा लागु भएको समयमा कोरोना परीक्षणको दायरा सम्बन्धित पक्षले कति फराकिलो बनाउँछन् ? त्यो कति पालना गर्छन् ? अहिले नै समिक्षा गर्ने समय अलि भएको छैन। तर स्थानीय प्रशासनको आदेश सर्वसाधारण र उद्योगी, व्यापारीले भने विगतभन्दा पालना गरेका छन्। 

वीरगन्ज महानगरपालिकासँगै जोडिएको छिमेकी मुलुक भारतको रक्सौलमा पनि हरेक दिन कोरोनाका नयाँ बिरामी थपिने क्रम जारी रहेको र यता पनि कोरोनाका बिरामीको मृत्यु हुन थालेपछि यो पटक वीरगन्जवासी झस्किएका छन्। 

विगतमा निषेधाज्ञा तथा कर्फ्युमा पनि अलि अटेर गर्ने वीरगन्जवासीले कोरोनाका कारण लगाइएको दोस्रो पटकको पहिलो दिनको निषेधाज्ञा भने राम्ररी पालना गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको भाषामा यो निकै प्रभावकारी भएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.