४० उद्योगले बन्द गरे चल्ला उत्पादन

|
फाइल फोटो

कपिलवस्तु : लामो समयको लकडाउनले ह्याचरी उद्योग करिब १५ अर्ब रुपैयाँ नोक्सानी भएको छ। लकडाउनका बेला उत्पादन बिक्री नहुँदा नेपालका ३२४ ह्याचरी उद्योगमा दैनिक २१ करोड ९५ लाख रुपैयाँ नोक्सानी भएको नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टिकाराम पोख्रेलले बताए। उनका अनुसार ७० दिनसम्म उत्पादन बन्द गर्नु पर्दा करिब १५ अर्ब रुपैयाँ नोक्सानी भएको छ। 

मुलुकभर सञ्चालन भएका साना तथा ठूला ह्याचरी उद्योगको उत्पादन बन्द भएको थियो। लकडाउन अवधिमा चल्लाको माग नभएपछि उत्पादन भएको चल्ला नष्ट गर्दा, माउ कुखुरालाई दाना खुवाउँदा, सञ्चालन खर्चका कारण उद्योगमा नोक्सानी भएका हो।

लकडाउनका बेला उत्पादन भएको चल्ला बिक्री नहुदा नष्ट गर्नु परेको थियो। करिब चार करोड २० लाख चल्ला नष्ट गर्नु परेको अध्यक्ष पोख्रेलले बताए। उत्पादन भएको चल्ला ७२ घण्टाभित्र कृषकको खोरमा पुर्‍याउनु पर्छ। कृषकको खोरमा नपुगे चल्ला मर्न सुरु गर्छ। लकडाउनमा नियमित घाटाका कारण ४० उद्योगले चल्ला उत्पादन बन्दनै गरेका छन।

रुपन्देहीको देवदह ह्याचरीका सञ्चालक गोविन्द खड्काले लकडाउनमा तीन करोड रुपैयाँ नोक्सानी भएको बताए। कोरोनामा कुखरा बिक्री कम हुँदा चल्ला समेत बिक्री नभएको उनको भनाइ छ। लकडाउनमा ६० रुपैयाँ लागत मूल्य पर्ने चल्ला १५ रुपैयााँ बिक्री गर्नु परेको उनले बताए। 
७० प्रतिशतभन्दा उच्च मात्रामा उत्पादन भयो भने लागत मूल्य ६० रुपैयाँसम्म पर्न जान्छ। ह्याच गर्ने मेसिनले २१ रुपैयाँमा चल्ला उत्पादन गर्छ। प्रत्येक सातामा दुई दिन चल्ला उत्पादन गरी बिक्री गरिन्छ। 

घट्यो ब्रोइलर कुखुराको चल्ला उत्पादन

नेपालभरिका उद्योगबाट एक सातामा ४२ लाख चल्ला ( ब्रोइलर, कोइलर, लोकल समेत) उत्पादन क्षमता रहेको छ। लकडाउनपछि व्यापार खुम्चिँदा सातामा ३६ लाख चल्ला उत्पादन भएको छ। ब्रोइलरका चल्लाको मात्र अहिले एक सातामा ३० लाख माग छ।
 
अहिले ब्रोइलर चल्ला उत्पादन ३० प्रतिशतले गिरावट आएको उद्योगीहरु बताउँछन्। करिव एक वर्षसम्म उत्पादनमा गिरावट आउने संकेत देखिएको छ। ६ लाख ब्रोइलरमा प्यारेन्ट (अण्डा पार्ने माउ) मासिएका छन्। त्यसैले उत्पादन घटाएको छ। नयाँ प्यारेन्टको आधा हिस्सा नेपालमा उत्पादन हुन्छ। आधा विदेशबाट आयात गर्नु पर्ने हुन्छ। तर, अहिले विदेशबाट आयात ठप्प भएको छ। प्यारेन्ट चल्लाबाट अण्डा उत्पादन गर्न ६ महिनाभन्दा बढी समय लाग्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.