|

नेपालमा शाह राजतन्त्रको बाह्रौं पुस्ताले शासन गर्‍यो। तर पृथ्वीनारायण शाह बाहेक अरु राजाको नाम प्रायले लिँदैनन्। लिन सुहाउने खालका पनि छैनन्। पृथ्वीनारायणलाई अज्ञानी वुद्धिजिवीले विस्तारवादी भन्ने आरोप लगाउँछन्। यद्यपी यस्तो अवगाल लाउनेलाई विस्तारवाद के हो र राष्ट्रको एकीकरण के हो भन्ने थाहा भएको बुझिँदैन। लामो कुरा नगरौं, पृथ्वीनारायण शाह विस्तारवादी हुन्थे भने काठमाडौंले न अहिलेसम्म ईन्द्रजात्रा मनाउन पाउँथ्यो, न गाइजात्रा। अथवा उपत्यकाबासीले न कुमारी पुज्न पाउँथे, न मच्छिन्द्रनाथको भोटो हेर्न। ‘यो  सबै जातको फूलबारी हो’ भन्ने उनको चेतना नभूतो नभविष्यति’ भयो नेपालमा। किन यस्तो भयो? किनभने अरु कुनै राजा पृथ्वीनारायण शाहजस्तो द्रष्टाचेतना भएका हुन सकेनन्। त्यसैले समयले राजतन्त्रलाई विदा दियो।

नेपालमा चार दर्जन जति प्रधानमन्त्री भए होलान्। तर इतिहासमा राम्रा काम गरेर नाम टाँस्ने आधा दर्जन पनि नपुग्ने भए। भीमसेन थापा, जङ्गबहादुर राणा, विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी र केपी शर्मा ओली। आजको लोकतान्त्रिक चस्माले माथि भनिएका सबैको कामको लेखाजोखा गर्न मिल्दैन। तत्कालीन समयको उनीहरुको योगदानकै आधारमा सबैलाई सम्मान गर्ने हो। भीमसेन थापा दक्षिणको वादशाहका कट्टर विरोधी थिए। दक्षिणको उपनिवेशवादी क्रुर पन्जाबाट राष्ट्रलाई बचाउन उनले बेलायतको सबैभन्दा ठूलो शत्रु राष्ट्र, फ्रान्ससँग राजनीतिक सम्पर्क बढाउन खोजेका थिए।

जङ्गबहादुरले सुगौलीपछि गुमेको राप्ती पारीको तराई प्रदेश फिर्ता लिए। मुलुकभित्र थिति बसाउने, सामाजिक सुधारका कार्य आरम्भ गरे। हो तिनले मारकाट धेरै गरे। तर मारकाट त वर्तमान प्रधानमन्त्रीको पार्टीले पनि गरेकै हो। डेढ सय वर्ष पहिलेको नरसंहारमा केही दर्जन भारदारहरु मारिए। माओवादी जनयुद्धमा सत्र हजार मारिए। मारकाटपछि जङ्गबहादुर राणा जङ्गी शासक भए। तर प्रचण्डजीको नाम लल्याकलुलुक लम्पसारवादसँग जोडियो। प्रधानमन्त्रीको रुपमा विश्वेश्वरप्रसाद कोइरालाले सामन्तवाद विरोधी र समाजवाद उन्मुख कार्यक्रम अगाडि सारेका थिए।

अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनका कुनै महासचिवले ‘विपी र गणेशमानको निधनपछि नेपाली काङ्ग्रेस समाजवादी रहेन’ भनी वीपी कोइरालाको सम्मान गरेको टिप्पणी मैले पनि सुनेको थिएँ। मनमोहन अधिकारीका बारेमा धेरै चर्चा नगर्दा पनि हुन्छ। दिल्लीमै पुगेर ‘नेपाल कसैको सुरक्षा छातामा नबस्ने’ घोषणा गर्ने प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले ल्याएका विकासका कार्यक्रमहरु अहिले पनि उहाँको परिचयको स्तम्भ बनेर उभिइरहेका छन्। केपी शर्मा ओलीको बारेमा यत्ति भनौं– अरुजस्तै निकम्मा प्रधानमन्त्री भएको भए उहाँ अहिले पनि बालुवाटारको खाटमा निदाइरहन पाउनु हुन्थ्यो।

नेपालमा चार दर्जन जति प्रधानमन्त्री भए होलान्। तर इतिहासमा राम्रा काम गरेर नाम टाँस्ने आधा दर्जन पनि नपुग्ने भए। भीमसेन थापा, जङ्गबहादुर राणा, विश्वेश्वर प्रसाद कोइराला, मनमोहन अधिकारी र केपी शर्मा ओली। आजको लोकतान्त्रिक चस्माले माथि भनिएका सबैको कामको लेखाजोखा गर्न मिल्दैन। तत्कालीन समयको उनीहरुको योगदानकै आधारमा सबैलाई सम्मान गर्ने हो।

नेपालमा अहिले सायद सवा सय पार्टी होलान्। पार्टीका कारण पदाधिकारीको नाम आउनु एउटा कुरा हो। क्षमताको हिसाबले भन्नुपर्दा आफ्नो पार्टीलाई नेतृत्व दिन सकेका नेता पन्ध्र जना पनि छैनन्। सत्ताधारी कित्तामा, सिद्धान्तको आधारमा समाजवादलाई उहिल्यै घाटे वैद्यकोमा पुर्‍याउने काङ्ग्रेसको कुरा माथि नै भैसकेको छ।

त्यतिमात्र होइन, अहिलेको सत्ता संयोजक शेरबहादुर देउवा असफल मात्र होइन, प्रजातन्त्रलाई राजाको पाउमा बुझाएर आनन्दले निदाउन सक्ने अब्बल दर्जाको बहादुर प्रमाणित भैसक्नु भएको छ। भविष्यमा पनि उहाँले राम्रा काम गर्न सक्ने संभावनाको आधार कतै देखिँदैन।

प्रधानमन्त्री पुष्पकमल दाहालजीका बारेमा थप केही लेखिरहनु परोइन। सबैसँग मिल्न सत्ताको कुर्ची बाहेक इमान, जनता, राष्ट्र सबैलाई दाउमा राख्ने क्षमता उहाँमा छ। तर मुलुकको प्रधानमन्त्रीसँग हुनुपर्ने कुनै पनि क्षमता उहाँमा छैन भन्ने सार्वजनिक जानकारीको कुरो भैसकेको छ। उहाँ आफ्ना उटपट्याङ टिप्पणी अनि माओवादी पार्टीका कारण जनतामा परिचित हुनुहुन्छ। रह्यो एमालेका नेताहरुको कुरो। उहाँहरु पनि एमाले नेताकै कारण परिचित हुनुहुन्छ। पछिल्ला प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अहिले जिवित रहनुभएका नेताले योग्य प्रधान या उपप्रधान मन्त्रीको परिचय बनाउन सक्नुभएन। 

हो, यस बीचमा कमल थापाले आफ्ना प्रतिगामी विचारका वावजुद आफू र आफ्नो पार्टीलाई समाजमा स्थापित गरेर आफ्नो योग्यता देखाउनु भयो। राप्रपाबाट फुटदा उहाँको हैसियत त्यसका स्थापित नेता बराबरको पनि थिएन। तर दोश्रो संविधानसभाको निर्वाचनमा उहाँले आफ्नो कित्ताका, अघिल्लो समयमा स्वयम् उहाँका नेता रहनुभएका सहकर्मीलाई पछाडि पार्दै राप्रपा (नेपाल) आफ्नो कित्ताको पहिलो पार्टी बनाउनुभयो ।

व्यक्ति नै सर्वोच्च हो भन्ने यस्ता दर्जनौं उदाहरण दिन सकिन्छ। प्रधानमन्त्रीको कुरो भैहाल्यो। नेपालले संविधान विरोधी प्रधानन्यायाधीश पनि बेहोरेको छ भने, संविधानको पालनामा दृढ प्रधानन्यायाधीश भेटिसकेको छ। नाम चलेकै तर अयोग्य सभामुखलाई सम्माननीय पनि भनिएकै छ, योग्य सभामुखलाई मानका साथ सभामुखज्यू पनि भनिएकै छ।

प्रणाली फेरिएर मान्छे फेरिँदैन। मान्छेले प्रणाली फेर्न सक्छ, तर प्रणालीले मान्छे फेर्न सक्दैन। मान्छेको चेतनाले प्रणालीको चेतना निर्धारण गर्छ। कच्चा पदार्थ समाजमै पाइन्छन्। पछिल्लो उदाहरण लिउँ– मनमोहन अधिकारीभन्दा अगाडि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पनि प्रधानमन्त्री बन्नुभएकै थियो। चाहेको भए मनमोहन अधिकारीले थाल्नुभएको कार्यक्रम उहाँहरुले नै थाल्न सक्नु हुन्थ्यो।

गाउँ गाउँमा बजेट पुर्‍याउन सक्नु हुन्थ्यो। उमेरमा मनमोहन अधिकारी सरोबर नै भएका उहाँहरुले ज्येष्ठ नागरिक सुरक्षाका कार्यक्रमहरु ल्याउन सक्नु हुन्थ्यो। किनभने प्रतिवद्धताको हिसाबले बहुदलीय पद्दतिप्रति उहाँहरु दुबैको दाबी चर्को थियो। दाबी जति चर्को भए पनि उहाँहरुले आफ्नो शासनकालको चार वर्ष सोच्न पनि नसकेका कामहरु मनमोहन अधिकारीले नौ महिनामा गरेर मुलुकलाई नयाँ दिशा दिनु भयो। मदन भण्डारीले अघि सारेको, तर धेरैले अविश्वास गरेको जनताको बहुदलीय जनवादलाई व्यवहारमा रुपान्तरित गरेर आफ्नो विशेषता देखाउनु भयो।

केपी शर्मा ओलीलाई सम्झिनु पर्ने काम भनेको नेपाल चीन बीचको सम्बन्ध सुधार नै हो। भारतले नाकाबन्दी लगाउँदा, इन्धनको महामारी खेप्नु नपर्ने स्थिति उहाँले नै बनाउनु भयो। राष्ट्रियताको पक्षधरता नेपालमा ठूलै प्रतिवद्धता मानिन्छ। हामी स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्र हौं भन्ने सत्यबोध भारतलाई गराउने काम गर्नुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.