'फेर्‍यौं राजनीतिक व्यवस्था, बदल्नु छ मुलुकको शैक्षिक अवस्था'

|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले फागुन १८ गते हुन लागेको स्ववियु चुनावको लागि ३२ बुँदे घोषणापत्र जारी गरेको छ। नेविसंघले घोषणापत्रमा पटक पटकको आन्दोलनबाट राजनीतिक व्यवस्था फेर्न सफल भएको भन्दै अब शैक्षिक अवस्थामा परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गरेको छ।

घोषणापत्रमा नेविसंघले 'विद्यार्थी बैंक' को स्थापना गर्ने, जेहेन्दार गरिब तथा सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षाको सुनिश्चितता गर्नका लागि 'छात्रवृति बैंक' को स्थापना गर्न पहल गर्ने र त्रिभुवन विश्वविद्यालयलाई समयअनुसार सुधार गर्न पहल गर्ने पनि उल्लेख गरेको छ।

नेविसंघले वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रमलाई सेमेष्टर प्रणालीङ्गा रुपान्तरणको पहल गर्ने पनि घोषणापत्रमा उल्लेख गरेको छ। 'वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रमलाई रुपान्तरण गरी सेमेष्टर प्रणाली प्रभावकारी रुपमा विस्तार गरी सबै क्याम्पसमा लागू गर्न पहल गर्ने' नेविसंघको घोषणापत्रमा भनिएको छ।

प्रत्येक जिल्लामा एउटा आंगिक क्याम्पस र प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक क्याम्पस स्थापनाको पहल गर्ने नेविसंघको योजना छ। उसले सबै क्याम्पसमा छात्रछात्राका लागि छुट्टाछु्ट्टै छात्राबासको व्यवस्था र शैक्षिक वातावरणको वैज्ञानिक मापदण्डको निर्धारण गर्ने पनि घोषणापत्रमा उल्लेख गरेको छ।

 दिवंगत नेताको लामो फेहरिस्त

नेविसंघको स्ववियु घोषणापत्रमा पार्टी राजनीति र कुनै न कुनै बेला विद्यार्थी राजनीतिलाई निर्देशित गरेका नेताहरुको लामो लिस्ट उल्लेख गरेको छ। यस लिस्टमा विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, लगायत शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल, धर्मभक्त माथेमा देखि बलबहादुर राई र भीमबहादुर तामाङसम्म अटाएका छन्। उनीहरुलाई नेपाली जनतालाई अधिकारसम्पन्न बनाउन योगदान दिएको भनी स्मरण गरिएको छ।

विपक्षीको आलोचना

नेविसंघको स्ववियु घोषणापत्रमा स्ववियु चुनाव गराउनका लागि सँगसँगै सहयात्रा गरिरहेका नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को आलोचना गरिएको छ।

'हाम्रो पद्धति हाम्रै नेतृत्व' शीर्षकमा नेविसंघको घोषणापत्रमा अन्य विद्यार्थी संगठनबारे लेखिएको छ, 'सहकर्मी संगठनहरु राजतन्त्र विरुद्धको संघर्ष बीचैमा छोडेर दरबार छिर्दै गर्दा होस् वा कलिला विद्यार्थीका हातमा जबरजस्ती बन्दुक बोकाउदै विद्यालयलाई बंकर बनाउँदा समेत नेविसंघ सडक संघर्षमा दृढतापूर्वक उभिइरह्यो र लोकतान्त्रीक गणतन्त्र प्राप्तिको आन्दोलनको नेतृत्व गरि इतिहास निर्माण गर्‍यो।' 

नेविसंघका शैक्षिक अवस्था फेर्ने योजना

प्रत्येक २- २ वर्षमा हुनुपर्ने स्ववियु चुनाव ८ वर्षपछि हुँदैछ। यसका लागि प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनहरु त्रिभुवन विश्वविद्यालयका साथै देशकै शैक्षिक अवस्था फेर्ने कुरा गरिरहेका छन्।

नेविसंघले घोषणापत्रमा आफू 'शिक्षाको माध्यमबाट प्रत्येक विद्यार्थीको समाजमा नाम, बजारमा काम र खल्तीमा दाम दिने शिक्षाको पक्षमा', रहेको उल्लेख गरेको छ। नेपालको शिक्षा प्रणालीका बहुआयामिक पक्षमा रुपान्तरणको आवश्यकता रहेको नेविसंघको निश्कर्ष छ। उसले अब विद्यालयले विद्यार्थीमा भएको विशिष्ट क्षमतालाई पहिचान गरी त्यसलाई प्रस्फुटन गर्न सहजीकरण केन्द्र बन्नुपर्ने अवधारणा सार्वजनिक गरेको छ।

यस्ता छन् प्रमुख बुँदाः

  • संघीयता अनुरुपको शिक्षाको पुनः संरचनाको निम्ति अधिकार सम्पन्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गर्न पहल गर्ने।
  • घट्दो क्रममा रहेको राज्यको शिक्षा क्षेत्रको लगानी बृद्धि गराई कुल बजेटको न्यूनतम २५ प्रतिशत विनियोजन गराउन पहल गर्ने।
  • खुल्ला प्रतिस्पर्धा योग्यता र प्राज्ञिक श्रेष्ठताका आधारमा विश्वविद्यालयका पदाधिकारीहरु नियुक्त गर्ने परिपाटीका निम्ति पहल गर्ने।
  • शैक्षिक प्रमाणपत्र धितो राखी आयमुलक व्यवसाय संचालन गर्न ऋण तथा अनुदान उपलब्ध गराउन विद्यार्थी बैंक स्थापनाको लागि विशेष पहल गर्ने।
  • जेहेन्दार, गरिब तथा सिमान्तकृत विद्यार्थीलाई उच्च शिक्षाको सुनिश्चितताको लागि छात्रवृति बैंक स्थापना गर्न पहल गर्ने।
  • वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रमलाई रुपान्तरण गरी सेमेष्टर प्रणाली प्रभावकारी रुपमा विस्तार गरी सबै क्याम्पसमा लागू गर्न पहल गर्ने।
  • शिक्षामा सूचना तथा संचार प्रविधिको पहुँच अभिवृद्धि गर्न डिजिटल एजुकेशन सिस्टम, क्याम्पसमा ई-लाइब्रेरी व्यवस्था तथा प्रविधि मैत्री बनाउने वाइफाइ को व्यवस्था गर्न लगाउने।
  • विद्यार्थीको उच्च आकर्षणमा रहेका शैक्षिक कार्यक्रम काठमाडौं मात्र होइन मोफसलमा पनि विस्तार गर्न पहल गर्ने।
  • त्रिवि सभामा सामुदायिक क्याम्पसका विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित गर्न जोड दिने।
  • विद्यार्थीले प्राप्त गर्ने यातायात, स्वास्थ्य उपचार लगायतका सुविधा र सहुलियत प्राप्त गर्न एकीकृत सहुलियत परिचय पत्र व्यवस्था पहल गर्ने।

स्ववियु निर्वाचनमा विजय हासिल गरे नेविसंघले यी काम गर्ने वाचा गरेको छ। यसका अलवा विश्वविद्यालयहरुलाई सेन्टर फर एक्सलेन्स बनाउने, प्रत्येक प्रदेशमा एक विश्वविद्यालय र मेडिकल कलेज स्थापना गर्न जोड दिने घोषणा गरेको छ। उसले स्ववियुमा हुने रकम हिनामिनालाई निरुत्साहित पार्न स्ववियु र क्याम्पसको वार्षिक बजेटलाई सामाजिक परिक्षण गराएर पारदर्शी बनाउने उल्लेख गरेको छ। त्यस्तै क्याम्पसहरुका भौतिक संरचना जीर्ण भएकोले तिनलाई आधुनिक र भूकम्प प्रतिरोधि एवं अपांगमैत्री बनाउन पहल गर्ने घोषणा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.