|

काठमाडौं : गायिका कोमल वली राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार छिन्। आइतबार मनोनयन पत्र दर्ता गराएपछि उनी भृकुटीमण्डप वरपर प्रतिनिधिसँग भोट माग्न व्यस्त छिन्।

उनले प्रतिनिधिहरुलाई आफ्नो उम्मेदवारी दर्ता नम्बर सम्झाउँदै भोट हाल्न अनुरोध गरिरहेकी छन्। उनले खुला तर्फको केन्द्रीय सदस्यमा २२ नम्बरमा उम्मेदवारी दर्ता गराएकी छन्। राप्रपा महाधिवेशनस्थलमा थाहाखबरसँग उनले भनिन् 'भ्यालेन्टाइन डे को दिन पारिवारिक प्रेम राप्रपासँग भयो। त्यसपछि नयाँ जिम्मेवारी बोकेर राजनीतिमा प्रवेश गरेकी हुँ।'

उनले पहिला गीत संगीत मार्फत आफ्ना शुभचिन्तकसँग नजिक भएपनि अब राजनीति मार्फत नयाँ जिम्मेवारी  पूरा गर्ने बताइन्। 'पहिला पनि गीत संगीत मार्फत फ्यानहरुसँग सामिपव्यता बढिरहेको हुन्थ्यो राजनीति मार्फत नयाँ जिम्मेवारी पूरा गर्न समर्पित भएर लागिरहेको छु' उनले भनिन्।

प्रतिनिधिसँग भोट माग्दा सबैले भोट दिन्छु भनेको भन्दै उनले अब युवाहरुले देश चलाउनुपर्ने बताइन्। 'सबै अग्रजलाई सम्मान गरेर उहाँहरुको अभिभावकत्वमा युवाले देशको नेतृत्व लिनुपर्छ' वलीले भनिन्।

खुलातर्फ उनी राप्रपाका पुराना र वरिष्ठ नेतासँगै चुनाव लडेकी छन्। आफू आरक्षणतर्फ चुनाव नलड्ने भन्दै उनले चुनौती सामना गर्न खुलामै उम्मेदवारी दिएको बताइन्। 'राजनीति भनेकै चुनौती हो। चुनौती सामना गर्न खुलातर्फ उम्मेदवारी दिएको हुँ' उनले भनिन् 'विकसित देशमा आरक्षण हुँदैन विकासोन्मुक भएकाले आरक्षण कोटा बनाइएको छ।'

राजनीतिका लागि रेडियो नेपालको जागिरसमेत छाडेकी वलीले रेडियो नेपाल छाडेको दिन सबैभन्दा बढी रोएको बताइन्। 'रेडियो नेपाल छाडेको दिन धेरै नै रोएँ' उनले भनिन् 'राप्रपामा सक्रिय हुन थालेपछि विस्तारै ती दिनहरु भुलन थालेको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.