|

काठमाडौं : पाँच बर्ष पहिले नेपाली फिल्म बजारमा मन्दी छाइरहेका बेला फिल्म क्षेत्रमा नै सनसनी मच्चाउने गरी एउटा नयाँ फिल्म आयो। मौलिक नेपाली शैलीको भनिएको उक्त फिल्म थियो - लुट।

निश्चल बस्नेतले निर्देशन गरेको 'लुट'ले नेपाली फिल्म बजारलाई राम्रैसँग तताउन सफल भयो। फिल्म रातारात सुपरहिट भयो। फिल्म 'लुट'ले नेपाली फिल्मको परम्परागत ढाँचा नै परिवर्तन गरी नयाँ शैलीमा प्रस्तुत भयो जुन दर्शकले पनि मन पराइदिए। नेपाली फिल्मको स्तर माथि उठाउन त्यस फिल्मले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ। फिल्ममा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, कर्मा लगायतका कलकारले अभिनय गरेका थिए। 

फिल्म 'लुट' मा हाकु कालेले चार जना केटाहरुलाई फसाएर बैङ्कबाट पैसा लुटेर भाग्छ। ती चार जना भने पक्राउ पर्छन्। त्यस पछि के होला त? भन्ने खुल्दुली उक्त फिल्मले छाडेर गएको थियो। हो त्यही 'लुट'को दोस्रो भाग लिएर फेरि उही निर्देशक निश्चल बस्नेत आउँदैछन्। फागुन १३ गते प्रर्दशनमा आउन लागेको फिल्म 'लुट २' 'लुट'कै अर्को श्रृङ्खला हो। जुन फिल्मले पहिलेको कथालाई नै निरन्तरता दिनेछ।

'लुट २' लाई लिएर निर्देशक निश्चल बस्नेत एकदमै उत्साहित देखिन्छन्। बाटोमा हिँड्दा वा कुनै सार्वजानिक कार्यक्रममा जाँदा होस् त्यहाँका दर्शक 'लुट २' हेर्नलाई आतुर रहेको प्रतिक्रिया आएको निश्चलले बताए। उनी भन्छन् 'कुनै कार्यक्रममा गएँ भने त्यहाँका दर्शकहरुले 'लुट २' को राम्रो प्रतिक्रिया दिनुहुन्छ। मेरा दर्शकहरु फिल्म हेर्नलाई एकदमै उत्साहित हुनुहुन्छ।'

'लुट' एक सफल फिल्म भएकाले पनि यसको सिक्वेल 'लुट २' कस्तो फिल्म बनेको छ भन्ने सबैमा प्रश्न उठ्न सक्छ त्यो स्वभाविक नै हो। निर्देशक बस्नेतका अनुसार फिल्म 'लुट २' ले 'लुट'मा जेल परेका ४ जना जेलबाट छुटेपछि हाकु कालेसँग बदला लिन के के गर्छन् भन्ने देखाउन खोजिएको छ। 

केही समय अगाडि सर्वजानिक गरिएको 'लुट २' मा समावेश आइटम गीत 'ठमेल बजार'लाई दर्शक, श्रोताको राम्रो साथ मिलेको छ। उक्त गीतलाई अहिलेसम्म युट्युबमा १ करोड भन्दा बढी पटक हेरिएको छ। त्यस्तै लुट २ को ट्रेलरलाई पनि दर्शकहरुले मन पराएका छन्।

फिल्मका निर्माण युनिटले फिल्मको प्रचार प्रसारलाई निकै नै तिब्र बनाइरहेको छ। फिल्म प्रचारका क्रममा निर्माता माधव वाग्लेले 'लुट २' उत्कृष्ट फिल्म बनेको भन्दै यस फिल्मले नेपाली फिल्म इतिहासमा रहेका सबै रेकर्डहरु ब्रेक गर्ने समेत दाबी गरेका छन्।

हेर्नुहोस् ट्रेलर : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.