|

बुटबल : तिलोत्तमा गोल्डकपको १९ औं संस्करण फागुन १२ गतेदेखि रुपन्देहीमा सुरु हुने भएको छ। बुटवल–१३ देवीनगरको खेल मैदानमा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी आयोजकले दिएको छ।

प्रतियोगितामा विभागिय टिम सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी, आयोजक अग्‍नि रुपन्देही ११,  सिएमजी संकटा क्लब, धरान फुटवल क्लब, एचएम हिमालयन शेर्पा क्लब, रमपम झापा ११, दिल्ली युनाईटेड एफसी र शेरे एफसी क्यालिङगपोङ भारतको सहभागिता रहनेछ। प्रतियोगिताको उद्घाटन खेल नेपाली आर्मी र झापा ११ का बीच हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार)ले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५\१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजारबाट पुरस्कृत गरिने उनले बताए।

बुटवल उपमहानगरपालिका संरक्षक रहेको यो प्रतियोगिता मोसफसलकै पुरानो  प्रतियोगितामध्ये एक हो । केही वर्षयता आर्थिक अभावका कारण लगातार प्रतियोगिता आयोजना हुन सकेको थिएन। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फुटबल संघका सचिव लोक पुनले बताए।

अग्‍नि सिमेन्टको साथ

तिलोत्तमा गोल्डकप फुटबलको १९ औं संस्करणलाई अग्‍नि सिमेन्टले प्रायोजन गर्ने भएको छ। रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी र अग्‍नि सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक राजकुमार पोख्रेलले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार अग्‍नि सिमेन्टले रुपन्देही फुटबल संघलाई १५ लाख रुपैयाँ दिनेछ। प्रतियोगिताको १९ औं संस्करणको नाम अग्‍नि तिलोत्तमा गोल्डकप राखिनेछ। यस सम्झौतापछि आयोजक रुपन्देहीको टिम अब अग्‍नि रुपन्देही–११ नामसहित मैदानमा उत्रनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.