|

पोखरा : राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र हाम्रो आवश्यकता अनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताएकी छन्। 

पोखरा विश्वविद्यालयको चौधौँ दीक्षान्त समारोहलाई सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा सम्बोधन गर्दै उनले भनिन् “उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवा जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेशमा पलायन हुन बाध्य बन्नु आजको तीतो, दुखद तर यथार्थ परिदृश्य हो।” 

राष्ट्रपति भण्डारीले हाम्रा विश्वविद्यालयबाट उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय जगतमा नगण्यमात्र योगदान गर्न सक्नु दुखद विषय भएको बताइन्। 'मुलुकमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले हाम्रो वास्तविक आवश्यकतालाई पूरा गर्ने र अन्तर्राष्ट्रिय बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न सचेत रहनु आजको भूमण्डलीकरणको युगमा समयसापेक्ष हुन आउँछ' उनले भनिन्।  

मुलुकका समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने संवैधानिक मूल्यमान्यता र आदर्शलाई मूर्तरुप दिन हाम्रो शिक्षा प्रणाली त्यहीअनुरुप तर्जुमा गरी कार्यान्यन गर्नु आजको सर्वोपरी आवश्यकता भएकोमा जोड दिदैं राष्ट्रपति भण्डारीले नेपालमा पर्याप्त स्रोत साधन रहेको र तिनीहरूको समुचित परिचालनबाट देशले चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सक्ने बताइन्।

राष्ट्रपति भण्डारीले ज्ञान तथा सीप हासिल गरेका युवा जनशक्ति र प्राकृतिक स्रोत साधनको यथोचित र समन्वयात्मक परिचालनले देशको सर्वाङ्गीण विकासको गति बढाउन सकिने बताइन्।  दीक्षित विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै उनले आफ्नो देश, समाज र जनताप्रति समर्पित बन्दै यहाँको मौलिकता, संस्कृति र वैभवप्रति गर्व गरी राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध रहन आग्रह गरिन्।

विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा मन्त्री धनीराम पौडेलले दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान तथा सीपलाई समाज र राष्ट्रको हितमा उपयोग गर्ने विश्वास व्यक्त गरे। संविधानले समुन्नत राष्ट्र निर्माणको परिकल्पना गरिएको र शिक्षा स्वास्थ्यजस्ता विषयलाई मौलिक अधिकारका रुपमा स्थापित गरेको उल्लेख गर्दै उनले समयानुकूल शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्दै जानुपर्ने धारणा व्यक्त गरे।

मन्त्री पौडेलले योग्य एवम् सक्षम जनशक्ति समग्र राष्ट्र विकासका लागि आवश्यक रहेकोमा पनि जोड दिए।  विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले चौधौँ दीक्षान्त समारोहमा २०७३ साल माघ महिनासम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रम तह पार गरेका करिब पाँच हजारजना विद्यार्थी दीक्षित भएको जानकारी दिए।

“प्रतिस्पर्धाका आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक एवम् प्राज्ञिक वातावरणलाई बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक तुल्याउनु विश्वविद्यालयको प्रमुख लक्ष्य रहेको छ” उनले भने। विश्वविद्यालयको परीक्षा प्रणालीलाई त्रुटिरहित,चुस्त र मर्यादित तुल्याउन, प्रशासनिक कार्यहरूलाई छिटो छरितो तुल्याउन तथा पठनपाठनलाई व्यवस्थित, परिणाममुखी र अनुसन्धानमूलक तुल्याउन विश्वविद्यालयले विभिन्न योजना अघि सारेको उपकुलपति शर्माले जानकारी दिए।  

दीक्षान्त समारोहमा विभिन्न विषयमा उत्कृष्टता हासिल गरी डिन लिस्टमा समावेश भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई लक्ष्मी विद्या स्वर्ण पदकका साथै कुलपति तथा उपकुलपति पदकबाट सम्मान गरिएको थियो। राष्ट्रपति भण्डारीले विश्वविद्यालयको नवनिर्मित प्रशासकीय भवनको सोमबार एक समारोहबीच उद्घाटन गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.