|

मनाङ : बन्दाबन्दी खुलेसँगै यतिबेला ङिस्याङ गाउँपालिका मनाङ गाउँमा घोडा दौडाउने पर्व यार्तुङको रौनक चलिरहेको छ। यस पटक साउन ९ गते देखि सुरु भएको यस पर्व हिजो १३ गते समापन भएको हो। यस पर्वले भाइचारामा मेलमिलाप कायम गरी अनिष्ट हुनबाट रोक्ने  भएकाले यहाँका मानिसले वर्षेनी यस पर्व मनाउँदै आएका छन्। सधै झै यसपटक पनि माथिल्लो मनाङबासीले  ४ दिनसम्म यार्तुङपर्ब मनाउँदै आएका छन्।

यस पर्वको संयोजक भने अविवाहित पुरुषलाई बनाउने प्रचलन रहेको छ। जसलाई स्थानीय भाषामा ‘नन्दी’ भनिन्छ। पर्वको खर्चपर्चको व्यवस्थापन तिनैले गर्नुपर्छ। यस पटक भने युवाले सञ्चालन गर्न नसक्ने भएपछि पर्व हाँक्ने जिम्मेवारी पाकाको काँधमा आएको छ।

५५ वर्ष उमेरका चार स्थानीय संयोजक बनेका छन्। नन्दीलाई सहयोग गर्ने ४ जना पनि पाकै उमेरका छन्। उनीहरू अर्को वर्ष नन्दी बन्नेछन्।

सोलखुम्बु घर भए पनि बिहेपछि ३ दशकभन्दा बढी समयदेखि यहीँ बस्दै आएका मनबहादुर राईले भने, ‘पोहोरसम्म केटाहरूले गरेका थिए। यस वर्ष हामीलाई सुम्पिए। गाउँलेले तोकेपछि नाइँ भन्न मिल्दैन।’

राई, मनाङ गाउँकै कान्छा (चटपटे) गुरुङ, वाङ्गेल गुरुङ र बलबहादुर भुजेल यसपटकका लागि नन्दी छन्। नन्दीका सहयोगी एवं पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार शुक्रबारदेखि पर्व चलिरहेको छ। यो रौनक आज सोमबारसम्मै रहन्छ। तर यसपालि पहिलेजस्तो पर्व हेर्ने पर्यटक छैनन्। ‘कोरोना संक्रमणले गर्दा यस वर्ष मुस्ताङी आएनन्। पर्यटक हुने कुरै भएन,’ उनले भने।

पर्वमा १६ देखि ५५ वर्ष उमेरसमूहका सबैलाई घोडा दौडाउन उर्दी गरिएको छ। अटेरी गर्नेलाई प्रत्येक दिन १ हजार रुपैयाँ जरिवाना तोकिएको छ। यो पनि पर्वलाई निरन्तरता दिनका लागि गरिएको बताउँछन् विनोद गुरुङ। जुठो परेकालाई घोडा दौडाउनुपर्ने बाध्यता छैन।

यसपटक करिब १ सय जनाले घोडा दौडाएका छन्। ‘हामी आफैंले घोडा दौडाएका छौं। काठमाडौं–पोखराबाट पनि केही युवा फर्किए। पाका पनि सहभागी भएकाले यार्तुङ पर्व निकै रोमाञ्चक बनिरहेको छ,’ उनले भने। मनाङ गाउँ र टंकी गाउँ मिलेर हरेक वर्ष यार्तुङ पर्व मनाइँदै आएको छ।

मनाङ र भ्राकाको बीचको समथर ठाउँमा घोडा दौडाइएको छ। घोडा दौडाउनेले थरीथरीका कला देखाउँछन्। परम्परागत पोसाक लगाएर मध्याह्न घरबाट निस्किएकाहरू २ बजेतिर त्यहाँ पुग्छन्। ३ बजेदेखि घोडचढीहरू यार्तुङको गीत गाउँछन्। त्यसपछि घोडा दौडाउने काम सुरु हुन्छ।

५ बजे घोडा चढेर उनीहरू आ–आफ्नो घर फर्किन्छन्। अन्तिम दिन घोडा चढेर गुम्बामा गई पूजापाठ गर्नुका साथै रोटी र सगुन खाएर नाचगान गर्ने चलन छ। स्थानीयका अनुसार गुम्बा जाँदा युवाले आफ्नो पछाडि मन परेका व्यक्तिलाई समेत राख्ने गर्छन्। पूजा गरी फर्केर लामाबाट वाङ (अभिषेक) थापेपछि पर्व समापन हुने स्थानीय बताउँछन्।

बर्खामा खेतीकिसानी गर्नुपर्दा बढी दुःख हुने भएकाले रमाइलो गर्न यार्तुङ मनाइने गरेको मनाङ गाउँका पूर्व म्हिथेवा ९गाउँ प्रमुख० कर्मा गुरुङ बताउँछन्। उनका अनुसार यो पर्वले बर्खायामलाई बिदाइ गर्छ। बाली लगाएपछि थकान मेटाउन परापूर्वकालदेखि हरेक वर्ष यार्तुङ मनाइने गरेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए।

मनाङसँगै भ्राका, पिसाङ, चामेलगायत गाउँमा यो पर्व मनाइन्छ। सुरुमा मनाङ गाउँमा मनाएपछि मात्रै अन्य गाउँमा यो पर्व मनाउने गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.