|

एजेन्सी : लेग स्पिनर अहमद मुस्तक घाइते भएपछि अफ्रिदीले समिर कपका लागि टोलीमा स्थान बनाए। प्रशिक्षक महोमद्ध मुस्तक र कप्तान सइद अनवरले छनोट कमिटीको सिफारिसमा १६ वर्षकै उमेर उनलाई टोलीमा मौका दिएका थिए। केन्या विरुद्धको खेलमार्फत अफ्रिदीले डेब्यु गरे। पुरै १० ओभर बलिङ गरे। ३२ रन खर्चिए। तर कुनै विकेट लिन सकेनन्।

पाकिस्तानले खेल ४ विकेटले जित्यो। न यो खेलको कुनै चर्चा भयो, न त अफ्रिदीकै। २ अक्टुबर १९९६ को घटना थियो यो। २ दिनपछि पाकिस्तानले विश्‍व च्याम्पियन श्रीलंकाको सामना गर्दै थियो। पाकिस्तानका क्रिकेट समर्थकका लागि यो खेल भने प्रतिक्षाको विषय थियो। केन्याको नैरोवीस्थित खान रंगशालामा पाकिस्तानी टोलीको अभ्यास सेशनमा अफ्रिदी चम्किए।

वासिम अक्रमले प्रहार गरेको बल उनको ब्याटमा लागेर गायब भयो। अर्का बलर वकार युनुसको बलमा उनले गरेको प्रहार मैदान नाघेर कार पार्किङसम्म पुगेको थियो। युनुस अफ्रिदीको ब्याटिङ गर्ने शैलीबाट निकै प्रभावित भए। उनले अफ्रिदीलाई नयाँ ब्याट थमाए। 'विकी भाईले मलाई ब्याट दिएका थिए र भनेका थिए,'यो ब्याट लिएर खेल। यो ब्याट सचिन तेन्दुलकरको हो,' अफ्रिदीले गल्फ न्युजसँगको कुराकानीमा पुरानो घटना संझदै भनेका छन्।

श्रीलंका विरुद्धको खेलमा कसैले नचिनेका अफ्रिदी सलिम मलिक, रामेज राजाजस्ता खेलाडीभन्दा अघि पिन्च हिटरका रुपमा तेस्रो क्रममा ब्याटिङ गर्न आउँदा तत्कालिन विश्व च्याम्पियन टोलीका मुथैया मुरलीथरन, कुमार धर्मसेना, चामिन्डाभास र सनथ जयसूर्या तीनछक खाएका थिए। तर खेल अन्त्यसम्म ३७ बलमा शतक प्रहार गर्दै अफ्रिदीले नयाँ किर्तिमान रचे। शतक प्रहार गरेको दिन अफ्रिदी १६ वर्ष २ सय १७ दिनका थिए।

विश्व क्रिकेटमै सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने अफ्रिदीले राखेको अर्को किर्तिमान क्रिकेटलाई माया गर्ने जनता भएका प्रत्येक देशका लागि हेडलाईन्स थियो। सुरुमा धेरै पाकिस्तानीले किर्तिमान सइद अनवरले बनाएको ठानेका थिए, किनकी अफ्रिदी सबैका लागि बिलकूल नौलो नाम थियो। अझ, पाकिस्तानीले अफ्रिदीलाई बलरका रुपमा बुझेका थिए, तर उनी निस्किए आक्रामक ब्याटस्म्यान।

अफ्रिदीले त्यही खेलमा ११ छक्का प्रहार गर्दै तत्कालिन समयमा सनथ जयसूर्याको नाममा रहेको सर्वाधिक छक्का प्रहार गर्ने किर्तिमान बराबरी गरेका थिए। उनले सुरुवाती १८ बलमा अर्धशतक प्रहार गरे। त्यसपछि थप १९ बल पुरा हुदाँसम्म शतक प्रहार गरे। यही खेलमा सइद अनवरले पनि १ सय १५ रन बटुलेका थिए। तर अफ्रिदीको किर्तिमानअघि उनको प्रदर्शन छायाँमा पर्‍यो।

(सुरुवातमै ३७ बलमा शतक प्रहार गरेर विश्‍वलाई आफ्नो बिस्फोटक परिचय दिएका अफ्रिदी विश्‍वका उत्कृष्ट अलराउन्डरमध्ये एक हुन्। उनको किर्तिमान तोड्दै न्युजिल्यान्डका कोरी एन्डरसनले सन् २०१४ मा ३६ बलमा छक्का प्रहार गरे। एन्डरसनको किर्तिमान १ वर्षपनि टिकेन सन् २०१५ मा वेस्ट इन्डिज विरुद्ध दक्षिण अफ्रिकाका एबी विलियर्सले ३१ बलमा शतक प्रहार गरे। जून विश्‍व क्रिकेटकै सर्वाधिक छिटो शतक हो। २ वर्षअघि नै एकदिवसीय तथा टेस्ट क्रिकेटबाट सन्यास लिएका अफ्रिदीले भर्खरै टी-२० क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.