|

काठमाडौं : पछिल्लो साता सन्दीप लामिछानेका विषयमा एकपछि अर्को समाचारहरु आए। धेरैले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीपको सहभागिता अन्योलमा रहेको समाचारहरु प्रसारण गरे। तर सन्दीप अन्तिम प्रयासमा निरन्तर थिए। उनलाई सहयोग गर्दै आएका रमन सिवाकोटी लगातार प्रयास गरिरहेका थिए।

जसको परिणाम सन्दीप यही विहीबार प्रतियोगिताका लागि प्रस्थान गर्ने तय भएको छ। उनी सिपिएलका लागि प्रस्थान गर्नु अघि सबै कुराहरु सोचे अनुरुप भएकाले सहयोग गर्ने सबैप्रति आभार सुनिए। 

उनले ९० हजार अमेरिकी डलरमा अनुबन्धन भएको स्पष्ट पारे। चार्टर फ्लाइटको विषयमा उनले कोरियासम्म चार्टड फ्लाइटमा जान लागेको रमनले जानकारी दिए। 

रमनले भने, ‘सन्दीप उहाँसम्मनै चार्टर फ्लाइटमा जाने भन्‍ने होइन, कोरिया सम्म हो। फेरि सन्दीप एक्लै जाने पनि होइन। कोरिया जानेहरुको चार्टर फ्लाइट समाइएको हो। त्यहाँबाट रेगुलर फ्लाइटमार्फत उनी जाने छन्।’

चार महिनापछि फर्किएँ

विश्वभर कोरोना महामारी बढेपछि एउटा राम्रो विदाका रुपमा लकडाउनलाई सदुपयोग गरेको सन्दीपले बताए। ‘यो कुनै एकजनाको समस्या थिएन। सिंगो विश्व यो समस्यासँग जुधेको थियो। एक खेलाडीका रुपमा लामो समय ब्यस्त भएपछि पाएको यो समय मेरो लागि राम्रो रह्यो',  उनले भने 'मैले यसलाई राम्रो विदाका रुपमा सदुपयोग गरेको छु। अब चार महिनापछि क्रिकेटमा फर्किँदैछु।’ 

उनले आफ्नो लय लकडाउनमा नबिग्रिएको बताए। सन्दीपले भने ‘मैले यो बिचमा पनि केहि साथीहरुसँग अभ्यास गरिरहेको छु। पर्याप्त नभएपनि आफ्नो लयलाई बिग्रन नदिनका लागि पर्याप्त भएको महसुस गरेको छु।’

उनले लकडाउनमा आफुलाई रिफ्रेस राख्नका लागि गीतहरू लेखेको बताए। सन्दीपले भने ‘मैले लकडाउनको बिचमा केहि गीतहरुको तयारी गरें। केही गीतहरू लेखेँ। साथीभाइसँग मिठो समय बिताएँ। मेरो लागि साँचिक्कै राम्रो समयका रुपमा रह्यो लकडाउन।’

खेल्नका लागि उत्साही छु

सन्दीपले आफु जतिसक्दो चाँडो मैदानमा फर्कन प्रयासरत रहेको बताए। ‘म खेल्न उत्साहित छु। अब एउटा प्रक्रिया पुरा गरेर मैदानमा उत्रनेमा विश्वस्त छु,’ उनले भने, ‘उहाँ पुगेपछि क्‍वारेन्टाइनमा बस्‍नुपर्ने छ। सायद त्यहाँ क्‍वारेन्टाइनका दौरान पनि व्यक्तिगत अभ्यास हुने विश्वास लिएको छु। क्‍वारेन्टाइन सकिएपछि केही अभ्यास खेलहरु हुने छन्। विश्वास छ, मप्रति देखाएको विश्वासलाई कायम राख्न सक्छु।’

समर्थक नै शक्ति

सन्दीपले आफ्ना बारेमा हुने चर्चाहरुलाई शक्तिको रुपमा लिने गरेको बताए। ‘मैले आफ्नो र सिंगो देशका लागि पनि जतिसक्दो राम्रो गर्ने प्रयास गरिरहेको हुन्छु। यो बीचमा धेरैले मलाई सकरात्मक प्रतिक्रिया दिएर ऊर्जा दिइरहनु भएको छ', उनले भने 'मेरा लागि सबथोक भनेकै दर्शक हुनुहुन्छ। उहाँहरुले मलाई राति उठेर पनि हेर्छु तपाईंको खेल भन्दा पाउने खुसी नै मेरो लागि सर्वाधिक अर्थपूर्ण छ।’

उनले समर्थकसँग राम्रो सम्बन्ध रहेको भन्दै कहिलेकाहीँ शब्दमा बयान गर्न नसकिने खुसी प्राप्त हुने बताए। उनले खेलहरूका दौरान हुने प्रेसरलाई सकरात्मक सोचले जित्ने गरेको बताए। 

‘खेलका दौरान कहिलेकाहीँ लगातार चौका, छक्का खाइन्छ। तर सकरात्मक सोच राखेपछि पुन ट्रयाकमा आइहालिन्छ,’ उनले भने। सन्दीपले तीन सिजनमा फरक तीन टिमबाट प्रतिष्पर्धा गर्न पाउँदा बेग्‍लै अनुभव महसुस भइरहेको बताए। उनले आफ्ना लागि सकरात्मक परिर्वतनका रुपमा प्रतियोगितालाई लिएको बताए।

एक लाख सहयोग

क्रिकेट नभएपछि ग्राउन्ड स्टाफहरु तलबविहीन रहेको अवस्थामा उनीहरुका लागि सन्दीपले एक लाख सहयोग दिने बताएका छन्। उनले भने ‘यो त्यति ठूलो रकम त होइन, तर पनि मैले सानो भएपनि सहयोग गर्न पाएको छु। अहिलेको अवस्था अनुसार यसलाई सहयोगका रुपमा बुझिदिन आग्रह गर्छु।’ पछिल्लो समय ग्राउन्ड स्टाफको समस्या आइरहे पनि विभिन्‍न माध्याममार्फत उनीहरुलाई सहयोग गरिँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.