४ हजार ५ सय ४४ जना संक्रमित, संकट बढ्दै

|

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमणले मृत्यू हुनेको संख्या १४ पुगेको छ। वीरगन्जका आज मात्रै एक ६८ वर्षीय र अर्का ७२ वर्षीय वृद्धको कोरोनाले मृत्यु भएको हो।

कोरोनाले यसअघि पर्साका ६ जनाको मृत्यु भइसकेको थियो। यस्तै बारा र रौतहटका २÷२ जनाको मृत्यु भएको छ। धनुषा, महोत्तरी र सप्तरीमा १÷१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

राजविराजमा विगत ६ दिनदेखि र वीरगन्जमा ४ दिनदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी छ। बजार सुनसान छन्। सडकमा आवतजावत छैन। सवारी नचल्दा र पसल नखुल्दा वीरगन्ज र राजविराजको जनजीवन प्रभावित बनेको छ।

प्रदेश २ मा हालसम्म ४ हजार ५४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये आजसम्म ३ हजार ३९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अन्य संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

पछिल्लो समय प्रहरी, स्वास्थ्यकर्मी, न्यायाधीश र बैंक र सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेको छ। एक कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि जनकपुरस्थित माछापुच्छ्रे बैंक बन्द भएको छ। बैंकले प्राविधिक कारण बैंक बन्द भएको सूचना जारी गरेको छ।

यस्तै सप्तरीका एक न्यायाधीशलाई समेत कोरोना लागेपछि अदालत समेत बन्द गरिएको छ। राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एक विरामीमा संक्रमण पुष्टि भएपछि सो अस्पताल समेत सिल गरिएको छ। 

जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गराएका एक कोरोना संक्रमितको मृत्यू भएपछि त्यहाँको इमर्जेन्सी वार्ड समेत सिल गरेको छ।

लकडाउनको अवस्थामा भारत र अन्य देशबाट फर्केकाहरूमा कोरोना संक्रमण पुष्टि हुने गर्दथ्यो। तर पछिल्लो समय ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा समेत कोरोना संक्रमण पुष्टि हुन थालेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का सहनिर्देशक डा. विजय झा बताउँछन्। 

उनका अनुसार कोरोना समुदायमा प्रवेश गरिसकेकाले अगामी दिनमा भयावह रुप लिने अवस्था सृजना भएको छ। अहिलेको स्थितिमा सर्वसाधारणले कम्तिमा मास्क र सेनिटाइजरको प्रयोग र सामाजिक दुरी कायम गर्न जरुरी भएको उनको भनाई छ।

हुन त गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाउनेलाई कडा कारबाही गर्न परिपत्र गरिसकेको छ। तर मास्क नलगाउनेलाई नगन्य मात्रामा प्रशासनले कारबाही गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.