|

  • जंग तामाङ-

पाँचथर :  लेखक, गुरुङ रामप्रकाश समथिङले एकै वर्षमा लेखेका २२ वटा उपन्यास एकै दिन विमोचन गर्ने तयारी गरेका छन्। उनले आउँदो वैशाख ९ गते वैशाखमा काठमाडौंमा २२ जना डाक्टरहरुबाट विमोचन गराउने उनको तयारी छ। यो वर्षलाई लेखन वर्ष घोषणा गरेका उनले विमोचन गराउने भनिएका सबै कृति छपाइसकेका छन्।

प्रत्येक कृति ७२ पेजको छ। यी कृतिहरु १ सय ८० दिनमा लेखिसकेको रामप्रकाशले बताए। उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम दर्ता गराउने उद्देश्यले यो काम गरेका हुन्। रामप्रकाशले रेकर्डका लागि प्रक्रिया पनि थालेको जानकारी दिए। प्रक्रिया थालनीमा आवश्यक ५ डलर युके स्थित एभरेष्ट टाइम्सका फोटो पत्रकार मिलन तमु र लेखक गौरी तमुबाट बैंकमा जम्मा गराएको बताए। ‘ प्रक्रिया थालनी गरेँ’ उनले भने, ‘ एकैसाथ कति कृति विमोचन गरेको रेकर्ड छ र कति दिनमा लेखेको, कति पेजको? मैले निवेदन पनि दिएको छु। वैशाखको पहिलो साता जानकारी दिने भनेको छ।’  जानकारी आएपछि रेकर्डको आधार पनि तय गरिने उनी बताउँछन्।

उनले दुर्दशा, वेसहारा, यातना, जवानीको ज्वालामुखी, जड्याहाकी स्वास्नी, जनयुद्धको उपहार, साहित्यकार, मृत्यू, साउदी रियाल, सौतेनी आमा, धनबहादुर सर, खेल जवानीको, धनिरामको दशैं, टुटेको सपना, सेन्थेरेम, माया, विचरा! जङ्गे कमरेड, जित्या, महलदेखि सडकसम्म, क.चट्टानको सपना, भ्रष्टाचारको कमाल र साहसी आमा शीर्षकको उपन्यास लेखेका छन्।

यौनवादी लेखक समेत भनेर चिनिने उनको जवानीको ज्वालामूखी, साउदी रियल र खेल जवानीको नामक कृति यौन प्रधान छन्। अन्य कृतिहरु माओवादीले गरेको सशस्त्र युद्धमा संलग्नहरुको सपना तर जनयुद्धको नेतृत्व गर्ने पार्टी सत्तामा पुग्दा विपनामा परिणत नभएको कथा, विपन्नताको चित्कार, बढ्दो भ्रष्टाचार लगायतलाई केन्द्रीय विषयवस्तु बनाइएको छ।

‘लेखन आत्मिक धित मार्न होइन। समाजलाई सकारात्मक लय दिन लेखिनुपर्छ’ समथिङ थप्छन्, ‘मेरा विमोचनोन्मुख कृतिहरु त्यसैका उपज हुन्।’ समथिङको विमोचनोन्मुख कृतिसँगै यसअघि प्रकाशित २४ वटा कृति गरी हालसम्म कृतिको संख्या ४६ पुगेको छ। रोचक प्रसङ्ग त के छ भने उनी पनि आगामी वर्ष उमेरले ठ्याक्कै ४६ वर्ष पुग्दैछन्। ४६ औँ जन्मोत्सवको अवसरमा ४६ वटै कृति बजारमा ल्याउने सोचमा छन्।

जसमध्ये ३२ वटा साहित्यिक र १४ वटा खोज अनुसन्धानमूलक छन्। २०४८ सालमा दाह्री शीर्षकमा मुक्तक लेखेर लेखन प्रारम्भ गरेका उनको पहिलो कृति ६ सय १ सभासद र नेपाल हो। सो कृति २०६५ सालमा प्रकाशित भएको थियो। कृति लेखन र प्रकाशनमा उद्घाटन गरेको सोही वर्षदेखि हालसम्म गणना गर्दा ९ वर्षमा ४६ वटा कृति प्रकाशन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.