|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। प्रभावशाली नेताहरु पशुपति सम्सेर राणा, प्रकाशचन्द्र लोहनी र लोकेन्द्रबहादुर चन्दको साथ पाएपछि थापा ९१ प्रतिशतभन्दा बढी मत ल्याएर मतले विजयी भएका छन्।

सोमबार साँझ भएको मतगणनाको अन्तिम परिणाममा थापा २ हजार ८ सय ४ मत प्राप्त गरी विजयी भएका हुन्। राप्रपामा शीर्ष नेताहरु एक भएर सहमतिमा पुगेपछि लोकतान्त्रिक अभ्यास भन्दै काठमाडौंका प्रदिपविक्रम राणाले उम्मेदवारी दिएका थिए।उनले २ सय ५१ मत ल्याएका छन्। ३१ सय ३६ मत खसेकोमा ८१ मत भने बदर भएको थियो। विद्युतीय मेसिनबाट मतदान भएकोले परिणाम छिट्टै आएको थियो।

आम कार्यकर्ता थापाको पक्षमा रहेको र सर्वसम्मत चयनको माहोलमा उभिएपछि अध्यक्षमा उम्मेदवार बनेपनि राणाले खुलेर प्रचार गर्न पाएका थिएनन्। थापाको निरंकुश चरित्र विरुद्ध उम्मेदवारी दिएको बताएपछि उनलाई उम्मेदवारी दर्ताको क्रममा अवरोध पुर्‍याउने तथा हातपातको प्रयास भएको थियो। असुरक्षाको कारण उनलाई शुभेच्छुकहरुले महाधिवेशनस्थलमा जान दिएका थिएनन्। आज दुई दर्जनजति कार्यकर्ताको घेराबन्दीबीच उनी मतदान गर्न पुगेका थिए।

विजयसँगै कमल थापाले टुटफुटको नभई सिंगो राप्रपाको नेतृत्व पाएका छन्। राजासहितको लोकतन्त्र र हिन्दू राष्ट्रको मुद्दासहित थापा विजयी भएका छन्। उनलाई यो मुद्दा कार्यान्वयनमा सहज भने छैन। अहिलेको संविधान लागु गर्नुपर्ने मान्यता र त्यही संविधानकै मुल मुद्दामा रहेको असहमतिबीचको तालमेल गराउन थापालाई कठिन हुन सक्छ। परिवर्तनका मुद्दा संस्थागत गर्न संविधान कार्यान्वयन गर्ने कि १२ बुँदे सहमतिको मार्ग गलत भएको यो बाटो बदल्ने कार्यदिशा लिने भनेर निर्णय लिन कठिन हुनेछ।

महाधिवेशनमा राप्रपा सरकारमा बस्न नहुने मान्यता धेरैले राखेका छन्। कमल थापा अध्यक्षमा निर्वाचित भएसँगै सरकारमा पुरानो राप्रपाको रुपमा भएको सहभागिता पुनर्विचार गर्न थापामाथि दबाब बढेको छ। कि त सिंगो राप्रपा सामेल हुने वा सबै फिर्ता हुनुपर्ने बाध्यतामा राप्रपा नेतृत्वलाई छ। पशुपति सम्सेर राणा नेतृत्वका राप्रपा वर्तमान सरकारलाई समर्थन गर्दै वर्तमान सरकारमा सामेल थियो भने थापा नेतृत्वको राप्रपा नेपाल सरकारको विपक्षमा मतदान गरी प्रतिपक्षमा बसेको थियो। यहीबीचमा गत मंसिर ६ गते राप्रपा एकता भएको थियो।

राप्रपा केन्द्रीय सदस्यहरुको निर्वाचन भने भोलि हुनेछ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.