|

काठमाडौं : स्ववियु चुनावमा भाग लिने अखिल क्रान्तिकारी नामको तीनवटा संगठन भएपछि त्रिविले विद्यार्थी संगठन पहिचानको लागि नयाँ तरिका अपनाएको छ। नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादी निकटका विद्यार्थी संगठनको नाम अखिल क्रान्तिकारी नै भएकाले समानुपातिक निर्वाचन प्रणालीको मतपत्रमा संगठन पहिचानका लागि पार्टी प्रमुखका नाम जोडिने भएको हो।

फागुन १८ गते हुने स्ववियु चुनावको समानुपातिक मतपत्रमा माओवादी केन्द्र निकट विद्यार्थी संगठनको नाम 'अखिल (क्रान्तिकारी) प्रचण्ड', मोहन वैद्य निकट माओवादीको 'अखिल (क्रान्तिकारी) मोहन वैद्य' र नेत्रविक्रम चन्द विक्रम विप्लव नेतृत्वको नेकपा माओवादीको नेतृत्वको विद्यार्थी संगठनको नाम पछाडि 'अखिल (क्रान्तिकारी) नेत्रविक्रम चन्द विप्लव' राख्ने सहमति भएको छ।

३ वटा संगठनको नाम जुध्दा पहिचान गर्न समस्या हुने भएकोले सम्बन्धित विद्यार्थी संगठनका प्रतिनिधि बसेर समाधान निकालिएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ। छलफलमा त्रिवि शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति संयोजक सुधा त्रिपाठी, समितिका सदस्य सचिव गंगाबहादुर मगर प्रचण्ड निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारी, विप्लव निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने र मोहन वैद्य निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विष्णु नेम्वाङ थिए।

समानुपातिक मतपत्रमा तीनवटा अखिल क्रान्तिकारी हुँदा मतदातालाई को कुन संगठनको नाम हो भन्ने पहिचान गर्न समस्या पर्ने भएकोले पार्टी प्रमखका नाम राख्नुपरेको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए। उनले भने, 'तीन संगठनको नाम जुध्दा मतपत्र बनाउने बेला व्यवहारिक कठिनाइ आएको थियो त्यसको समाधान पार्टी प्रमुखका नाम जोडेर खोजेका हौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.